• ३१ वैशाख २०८२, बुधबार

पर्यटन बोर्डले बजेट सुधार नगरेसम्म बजेट पास हुन सक्दैन : मन्त्री किराँती

blog

काठमाडौंमा टुरिस्ट बस एशोसिएशन अफ नेपालले आयोजना गरेको ‘टुरिस्ट बस नेपाल’ एप्स शुभारम्भ कार्यक्रममा बोल्नुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती । तस्बिर : गोरखापत्र

काठमाडौं, भदौ १३ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल पर्यटन बोर्डले बजेट सुधार नगरेसम्म बजेट पास हुन नसक्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा टुरिस्ट बस एशोसिएशन अफ नेपालले आयोजना गरेको ‘टुरिस्ट बस नेपाल’ एप्स शुभारम्भ कार्यक्रममा बोल्नुहुँदै यस्तो बताउनुभएको हो ।

मन्त्री किराँतीले पर्यटन बोर्डको बजेट नसच्चिएसम्म हतारमा पास गर्न नसकिने बताउनुभयो । उहाँले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मीप्रति लक्षित गर्नुहुँदै  बोर्डको बजेट कमिसनको दुनो सोझ्याउनका लागि तत्काल आउन नसक्ने औंल्याउनुभयो ।

मन्त्री किराँतीले भौतिक संरचना बनाउने काम पर्यटन बोर्डको नभएको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रको विकासका लागि भौतिक संरचना निर्माण गर्ने पर्यटन विभाग रहेको भन्दै बोर्डले पर्यटनको प्रवर्द्धन गर्ने रहेको जानकारी दिनुभयो ।

मन्त्री किराँतीले बोर्डको बजेटमार्फत भौतिक संरचनामा बजेट छुट्याएर पाँचदेखि १० प्रतिशत कमिसनमा बस्ने जमानाको अन्त्य भएको बताउनुभयो । उहाँले आफू मन्त्रालयमा रहेसम्म भौतिक संरचना हुने कमिसनको खेल शून्य बनाएर छाड्ने भनाइ राख्नुभयो ।

मन्त्री किराँतीले पर्यटनक बोर्डले पर्यटक ल्याउने नाममा ८० देखि ९० करोड रकम युरोप भ्रमणमा खर्च गर्न नपाउने जिकिर गर्नुभयो । उहाँले दुई छिमेकी राष्ट्रको जनसङ्ख्या १३ अर्ब र अर्कोको डेढ अर्ब रहेको भन्दै पर्यटन प्रवर्द्धनका लागि चीन र भारतमा आधा बजेट खर्च गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

उहाँले भूटान, बङ्गलादेश र नेपालीहरुको धेरै श्रमको गन्तव्य भएको खाडी मुलुकहरुमा पनि जोड्ने प्रयास गर्नुपर्ने बताउनुभयो । उहाँले पर्यटन बोर्डले बजेटमा भौतिक संरचना निर्माण हटाएर प्रर्यटन प्रवर्द्धन गर्ने योजना नसच्याएसम्म बोर्डको बजेट नआउने बताउनुभयो । मन्त्री किराँतीले बोर्डका आजसम्मका विकृति, विसंगतिहरु अन्त्य गर्न चाहेको उल्लेख गर्नुभयो ।

मन्त्री किराँतीले पर्यटन बोर्डको पैसामा आफन्त घुमाउने र महँगा सामानहरु ल्याएर बाँड्ने र बेच्ने सुविधा कसैलाई नभएको बताउनुभयो । उहाँले पर्यटन बोर्ड बिना पनि यो देश चल्नसक्ने भन्दै पर्यटन बोर्डले तत्काल बजेट सच्याए बजेट पास हुने जिकिर गर्नुभयो ।

मन्त्री किराँतीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले राष्ट्रिय सहमतिको सरकार बनाउँदा सबैभन्दा पहिला मन्त्री पद त्याग्नुपर्छ भने मन्त्री पद त्याग्न तयार रहेको बताउनुभयो ।

मन्त्री किराँतीले आफू मन्त्री हुनका लागि नजन्मिएको भन्दै राष्ट्रिय आवश्यकता अनुसार तत्काल कुर्सी छोड्न तयार रहेको बताउनुभयो । उहाँले राजनीतिक स्थायित्वका लागि पुरानाको अनुभव र नयाँको जोसजागर मिलाएर अगाडि बढ्नुपर्ने बताउनुभयो । आजदेखि टुरिस्ट बस एशोसिएशन अफ नेपालले टुरिस्ट बसको टिकट अनलाइनको माध्यमबाट काट्न सक्नेगरी ‘टुरिस्ट बस नेपाल’ एप्स सञ्चालनमा ल्याएको छ ।