• १४ पुस २०८१, आइतबार

अनुभूति र संवेदनाका कविता

blog

‘किमोथेरापी’ पछि ‘शब्दथेरापी’ मा लागेकी शान्ति शर्मा पछिल्लो छिमलकी परिचित स्रष्टा हुन् । कविता, गीत, गजल र मुक्तकमा सव्रिmय शर्माले ‘अम्लान फूल’ गजल सङ्ग्रह (२०७४) र ‘बार्दलीमा जून’ मुक्तक सङ्ग्रह (२०७६) हुँदै अर्को काव्यिक पाइला सारेकी छन्, ‘सपनाको समाधि’ । प्रस्तुत सङ्ग्रह ४७ थान लामा–छोटा कविताको बिटो हो ।

शान्तिका कविता अनुभूति र भावनाप्रधान छन् । भावको सघनतासँगै कतिपय कवितामा आख्यानको झिल्का पनि छन् । कल्पना र भावना, कोमलता र सौन्दर्यबोध अनि जीवनका ऊहापोहलाई उनी कविताको कथ्य बनाउँछिन् । ती कविता सरल, सहजका साथै सुकोमल अनि सुललित छन् ।

कतिपय कवितामा निराशाको स्वर जस्तो सुनिए पनि कवि मूलतः आशा, साहस र उज्यालोकै गीत गाउँछिन् । अझ भन्ने हो भने यी कविता सहृदय हृदयसंवेद्य छन् । कविको निजात्मक अनुभूतिबाट उदाएका रूमानी भाव प्रेम, प्रणय अनि प्रकृतिमा रङ्गिन्छन् । आँसुसँगै आशा, मृत्युबोधसँगै जीवनको आँगन भेटिन्छन् । आँसु त कविताको मातृभाषा नै भइहाल्यो । 

प्रस्तुत सङ्ग्रहमा प्रयुक्त विम्बहरू उतिसारो नवीन नभए पनि एकखाले सौम्यता छ । भाषा र शिल्प हार्दिक र सुकुमारी छन् । यी कवितालाई आशावादी या निराशावादी, वैचारिक या अवैचारिक, प्रगतिशील या अप्रगतिशील कित्ता राख्नु जरुरी छैन । अनुभूति र संवेदना नै शान्ति शर्माको काव्यजेथा हो भने सूक्ति प्रयोक्ति अनि अनेक रसता विशेषता ।

कवि स्वतः संवेदनशील हुन्छ । कविको त्यही तरलित भाव या आत्मकथन नै कविता कहलिन्छ । कवि आमा बनेको पलको गर्भानुभूति, भाइको असामयिक मृत्युको अन्तर्वेदना, जीवनका प्रत्येक घटनामा संवेदना थपिँदा ती कविता बनेका छन् । कविता, सङ्गीत र सौन्दर्यको सेतु बाँधिएको छ ।

फूलप्रति कविको मोह अथाह छ । हरेकजसो कवितामा फूललाई सम्बोधन छ । फूललाई उनले सौन्दर्यको प्रतीक मात्र नभएर क्षणभङ्गुरताको कसीमा राखेकी छन् । ‘सपनाको समाधि’ एक हिसाबले कविताकुसुम हो । हरेक कविता पल्लवित, पुष्पित र सुफलित छन् ।

जन्मभूमिप्रतिको अगाध आस्था छ कविमा । अतीतप्रतिको मोह ज्याद्रो छ । जन्मभूमि सोलुखुम्बु, नेचाका उजेलीखोला, अँधेरीखोला, बिहीबारे हाट, ठोट्नेखोला, सुकेपोखरी, खाल्लेको ओरालो आदि स्थानलाई कवितामा सप्रेम स्थान दिएकी छन् । यो उनको कोमल काव्यप्रवृत्तिको स्वकीय रङ हो ।

नेपाली कविताका पुरोधाहरूबाट शान्ति शर्माको काव्ययात्रा अनुगृहीत छ । उनले रिमालको गद्यशैली, लेखनाथको सूक्तिमयता र देवकोटाको स्वच्छन्दतालाई अँगालेकी छन् । लोकजीवन र प्रकृतिको अनुकरण गर्दै उनले सक्दो बोलीचालीको भाषामा कविता बुनेकी छन् । कथ्यप्रति उनको अनन्य सजगता छ ।

सोच्ने गर्छु, किन कलकल बग्ने 

नदीको उमेर सोधिन्न ? 

किन सूर्यको उज्यालोको उमेर सोधिन्न ? 

फेरि किन मेरो उमेर सोधिन्छ ? 

बदलिरहनु प्रकृतिको नियम हो

म हरेक उमेर जिउन चाहन्छु

(उमेरको अभिलेख)  

प्रस्तुत सङ्ग्रहमा औसतदेखि विशिष्टसम्मका नरम–नरम कविता छन् । कविताको नाममा कुण्ठा, निन्दा अनि समाचारका सजिला हरफ छैनन् । यति हुँदाहुँदै पनि कतिपय कविताका भाव र विम्बमा पुनरुक्ति दोष छन् । कविमा विम्बको लालसा हुनु स्वाभाविकै हो । तर विम्बहरूको लालचमा पर्दा कहिलेकाहीँ कविता दुर्घटित हुन पुग्छ । कतिपय कवितामा कलाको परिपाक अपेक्षित छ । 

कृति; सपनाको समाधि

विधा: कविता

कवि:  शान्ति शर्मा

प्रकाशक: साझा प्रकाशन, काठमाडौँ

प्रकाशन: २०७८ 

पृष्ठ: ११२ ।

Author

राजकुमार बानियाँ