• १४ पुस २०८१, आइतबार

मेरो आँखामा आमाको आँसु छ (कविता)

blog

जब हामी रित्तिँदै छौँ 

लखेटिँदै छौँ 

ओइलाउँदै छौँ 

अरूको  हुलमा हराउँदै छौँ  

उनको आँसुु निरन्तर झरेको झरेकै छ 

यी आँसुमा असङ्ख्य घाउहरू छन् 

जो बोलिरहेछ 

भनिरहेछ 

मुटुनै छेड्ने गरी 

सायद उनी न्याय माग्दै छिन्  

गुहार्दै छिन् 

कस्तो आश्चर्य !! 

कोहीँ पनि जिउँदो भएर उभिएनन्

आँसु पुछन् हिम्मत गरेनन् 

कस्तो निर्दयी समय 

सर्वत्र उडुस र जुकाहरू 

चुसिएका लुला नाम्ररा

निरिह सन्तानहरू 

चेतना पनि हराएका ।


छन् त जताततै आँखाहरू  

तर तिनमा  आक्रोश छैन 

न रिस छ नत जोश नै  

न त विद्रोहको भावना 

यिनीहरू  नदेख्न पर्ने देख्छन् 

देख्न पर्ने देख्दैनन्,

यहाँ त जताततै अँध्यारो छ 

उज्यालो कता हो कता 

मात्र आँखाबाट आमाको आँसु

झरिरहेछ  !

झरिरहेछ  !!

तर देख्ने कोही छैन 

हेर्ने कोही छैन 

आँखा भएर पनि

आँखा नभएका मान्छेहरू

चुस्ने र चुसाउनेहरू

माटोको पनि माया छैन 

(ईश्वर पनि सुतेका छन्) 

उज्यालो कहिले आउने हो ?

कहिले ?

ठेगान छैन !

ठेगान छैन !!

ठेगान छैन !!!