• २४ वैशाख २०८१, सोमबार

अकाल (कथा)

blog

बयरको रुखमा बसेका भँगेरीहरू उच्चाट मानेर यताउता उडिरहेका थिए । टाढा आकाशको अनन्तमा दुई वटा चिल कावा खाँदै थिए । रामरतन आग्लो सारेर आँगनमा आइपुग्दा उसकी श्रीमती सावित्री दलानमा बसेर आफ्नो सुरले कपासको बत्ती कातिरहेकी थिई । 

“किन हिजो नआउनुभएको ?” रामरतनलाई देख्ने बित्तिक्कै सावित्रीले आँखा तर्दै सोधिहाली । 

“बजारतिर गएको अबेर भयो र राति त्यतै बसेँ ।” रामरतनले ढाँट्यो । 

“नआउने भएपछि खबर गर्नुपर्दैन ? यहाँ भात त्यसै खेर गयो ।” 

“मेरो मोबाइलले काम गरेन । त्यसैले खबर गर्न सकिनँ ।” 

“सधँै केही बहाना बनाउनुहुन्छ ? ढाँट्न त माहिर हुनुहुन्छ ।” 

“किन ढाट्ने तिम्लाई ? मैले कहिले ढाँटेको छु ?”

“ढाट्नु भएको हो हैन भगवान्लाई था’होला । मलाई त जे भन्दिए पनि भो नि । बजारतिर के खोज्न गएको ?”

“तिमी मेरो कुरा केही बुझ्दिनौ ।”

“तपाईं नै सबै बुझिहाल्नुहुन्छ नि ! टोलको नाम चलेको मान्छे ।”

 रामरतनको श्रीमती सावित्रीले जे भनिरहेकी थिई, त्यसमा रिसाउने कुरा केही थिएन । रामरतनले आफ्नी श्रीमतीलाई ढाँटेर अर्कीसितको सम्बन्धमा गाँसिएको थियो । उसले त्यस विषयमा शङ्का गरिसकेकी त थिइन् तर रामरतन उसको केरकारको ढाँचाले अत्तालिएको र चिढचिढिएको थियो । श्रीमतीको अगाडि रामरतनलाई आँखा धेरैबेर जुधाउन असहज भएकोले प्रसङ्ग फेरियोस् भन्ने आसयले सोध्यो, 

“खाना छैन ?”

“बासी भात छ ।”

“बासी भात ?”

“अब त्यस्ता डुलुवालाई के को साजी भात ?”

“किन आज यसरी पड्किएकी ? आज तिम्रो दिमाग ठिक छैन कि कसो ?”

“के दिमाग ठिक हुनु प¥यो र ! म त तिम्री घरमा पालिएकी नोकर्नी न भएँ ।”

“के भो तिम्लाई ? छोरीहरूले केही भनेकी क्या हो ?”

“तिनको के कुरा गर्नु ?” छोरीहरू सावित्रीलाई रुचाउँदैन थिए । 

अर्कीसितको आफ्नो सम्बन्धबारे केही थाहा पाई कि भन्ने त्रास रामरतनको मनबाट बाहिर गयो । रामरतनले निकै उज्यालो अनुहार पार्दै भन्यो, “लौ बासी भात भए पनि पस्क ।” 

त्यसपछि रामरतनकी श्रीमती उठी र भित्र पसी । 

रामरतनले खुब स्वादसित भात खायो र डका-यो । त्यसपछि भन्यो, “अब पिर नगर । यो वर्ष मेरो भाग्य निकै चम्केला जस्तो छ । हामी अझै राम्रो अवस्थामा पुग्ने सङ्केत मिलेको छ ।” 

उनीहरूले सरकारले जनजाति कोटामा दिएको अनुदान र केही सरसापट गरेर ‘होम स्टे’ चलाएका थिए । यसले उनीहरूलाई घर धान्न निकै सहयोग पुगेको थियो । तीन वटी छोरीहरू स्कुल जान्थे । 

“चिट्ठा पर्ने भो कि क्या हो ?”, सावित्रीले नपत्याएर सोधी । 

“हो त्यस्तै केही । काम भइसकेपछि थाहा पाउँछ्यौ । केही दिनमा थाहा हुन्छ । म आज पनि बजार जान्छु । विशेष काम छ ।”

“भरे छिट्टै आउनु नि ।”

“छिट्टै त त्यस्तै हो, राति नौ दस चाहिँ बज्ला ।”

“रक्सीसक्सी चाहिँ नखानु नि । प्रेसरको ओखती खाइरहनुभएको छ ।”

सावित्रीको कुरा रामरतनले अलिकति सुन्यो, अलिकति सुनेन । स्कुटर झिक्यो र बजारतिर लाग्यो । 

राति ८ बजे रामरतन र कविता ‘चौधरी रेस्टुराँ’बाट घरतिर लागे । कविता स्कुटरमा पछाडि लिपिक्कै टाँसिएकी थिई । मुलायम स्पर्श अनुभव गरिरहेको थियो रामरतनले । ऊ एकदमै सन्तुष्ट थियो । खास गरी रामरतन ह्विस्कीको मातमा अरू बढी प्रेमिल बनेको थियो । 

“आज तिम्लाई प्रेम गर्न मन लाग्यो तर यहाँ कुनै ठाउँ छैन ।” रामरतनले भन्यो । 

“आज मेरो घरमा हिँड् न त ।” साहसपूर्वक कविताले भनी । 

“तिम्रो घरमा पसेको अरूले देखे भने ?”

“बजारमा कतै स्कुटर छोड । विस्तारै र चुपचाप जाउँला ।” 

“छोरीले के ठान्ली ?”

“केही ठान्दिनँ । ऊ निदाइसकेपछि लुसुक्क तिमी सुत्या कोठामा आँउला ।”

“त्यसो भए म घरमा सावित्रीलाई फोन गर्दिन्छु । काम परेर आउन सकिनँ भनेर ।”

“हुन्छ । हाम्रो प्रेमको जगमा ढाँट्नुबाहेक अर्को के नै विकल्प छ र ?” त्यति भनेर कविता खितित्त हाँसी । 

भोलिपल्ट बिहान रामरतन झिसमिसेमै कविताको घरबाट निस्केर बजारतिर लाग्यो । उसले आफ्नो स्कुटर बजारको मुख्य चोकनेर एउटा पसल अगाडि छोडेको थियो । कविताको घरबाट निस्किँदा आफूलाई कसैले देखेन भनेर ढुक्क भयो । तर रातभर स्कुटर के भयो होला ? कसैले त चोरेर त लगेन ? अब उसको मन स्कुटरको विषयले भारी बनायो । कवितासितको प्रेम सम्बन्धको उन्मादमा रामरतनले स्कुटर त्यसै सडक किनारमा अलपत्र छोडेको थियो । हरायो भने फोकटमा दुई लाख घाटा पर्छ । रामरतन रन्थनियो । 

बजारमा पुग्यो । भाग्यवश स्कुटर छाडेकै ठाउँमै थियो । स्कुटर रातभरको शीतले निथ्रुक्क भिजेको थियो । 

 रामरतन खुसी भयो । खुसी हुनलाई ठुलो बम्पर चिट्ठा परिरहन पर्दैन । ऊबाट टाढिन्छे कि भनेकी कविता रातभर उसैको अँगालोमा थिई । हरायो कि भनेको स्कुटर पनि सही सलामत थियो । 

रामरतनलाई स्कुटर स्टार्ट गर्न निकै सकस प¥यो । फ्री किक दिएपछि चोक तानेर स्टार्ट गर्दा काम भयो । त्यसपछि रामरतन निकै खुसी भएर स्कुटर कुदाउन थाल्यो । 

कविताको लोग्ने विकास साउदी गएको थियो । जीवनमा कहिल्यै नकमाएको पैसा कमाइरहेको थियो । उसको जीवनप्रतिको मोहसँगै आत्मविश्वास पनि बढ्दै थियो । स्वास्नी र छोरी पनि खुसी थिए । यसैमा ऊ सन्तुष्ट थियो । 

विकास र रामरतन साथीसाथी थिए । 

कविताकी छोरी एसइई पास गरेपछि प्लस टु पढ्न काठमाडौँ गई । एसइईमा राम्रो ग्रेड आएको र जनजाति पनि भएकाले साइन्स कोटामा नाम निकाली र उतै होस्टलमा बस्ने भई । रामरतन र कविताका लागि उनीहरूका उन्मुक्त प्रेमका लागि यो कुरा वरदान बन्यो । रामरतन घरबाट विभिन्न बहानाबाजी गरेर निस्किन्थ्यो र रातभर कविताको घरमा सुतेर बिहानै बजारतिर हान्निन्थ्यो । कविताकहाँ बस्ने रात ऊ स्कुटर लग्दैनथ्यो । रामरतन कविताको घरको निशाचर जस्तै भइरहेको थियो । कुनै दुर्घटनाबिना चलिरह्यो । 

विकाससँग जति निकटको सम्बन्ध भए पनि उसैकी स्वास्नीलाई आफ्नो सम्बन्धको सङ्केतसम्म चुहाउँदैनथ्यो । रामरतनले विकासको जीवनका केही रहस्यमय सन्दर्भ चाहिँ थाहा पाएको छ । विकास प्रेम र यौनको विषयमा त्यति खुला थिएन । सामान्य ठट्टा मजाकसम्म गथ्र्यो ऊ । 

विकास साउदी जानुअघिको एउटा साँझ । रामरतन र ऊ रमको रमरममा थिए । 

“तपाईंको प्रेम अनि यौनको बारेमा भन्नुस् न ?” 

“मेरी कविता ! मेरो प्रेम । मेरी स्वास्नी ! त्यत्ति हो मेरो विपरीत सेक्सहरूसँगको सम्बन्ध ।”

विकास साउदी गएपछि भने रामरतन आफ्नो घरमा भन्दा धेरै कविताको घरमा बस्न थाल्यो ।

बुढेसकालमा रामरतन र सावित्री बिच दूरी बढ्यो । सुरुसुरुमा सावित्रीले थाहा पाउली भनेर मुटु कमाउने रामरतनले अन्ततः कसैसँग डराउन छाड्यो । 

जिन्दगीको यो मोडमा सावित्रीलाई लागेको थियो, आफ्नो गृहस्थी जीवन सुमधुर गतिमा अघि बढिरहेछ । तर यो उसको भ्रम मात्र रहेछ । 

ऊ आफ्ना सपनाहरूसँगै चकनाचुर भई । उसले बुझी, विवाहको कुनै निश्चित आयु हँुदोरहेनछ । विवाह सधैँ सुन्दर र उत्कृष्ट मात्रै पनि हुँदैन रहेछ । तीन वटी छोरीहरू माझ पनि उसले आफूलाई एक्लो ठान्न थाली । मान्छेको स्वार्थी स्वभाव देखेर विचलित भइरहेकी थिई ऊ । उसले निष्कर्ष निकालेकी थिई– मानिस मानिसबिचको नाता सम्बन्ध भन्ने कुरा पनि कमजोर जगमा उभिएको घर जस्तै रहेछ । कुन बेला गल्र्यामगुर्लुम ढल्छ भन्ने थाहै नहुने ।

चिन्ताले मानिसलाई चितामा पु-याउँछ भनिन्थ्यो । त्यस्तै भयो । चिन्ताले गर्दा सावित्रीलाई अनेक रोगले गाँज्यो । जीवनप्रति उदासिन भएपछि आफ्नै स्वास्थ्यप्रति पनि चासो नहुने रहेछ । 

अन्ततः ऊ मरी ।

 लास उठाएर अलिकति पर मात्र पु्या-एका थिए गाइगुइँ कुरा हुन थाल्यो, ‘सावित्री कालगतिले मरेकी कहाँ हो र ! लोग्नेले पिटिपिटी मारेको हो नि !’ 

टोलका सबै मान्छेहरू रामरतनको घरको आँगनमा भेला भएका थिए । छोरीहरू डाको छाडेर रोइरहेका थिए । उनीहरूलाई देखेर अरूहरू पनि रोए । टोलछिमेककाहरूले पालैपालो सावित्रीको अनुहार अन्तिम पटक हेरे । नरमाइलो माने । सावित्रीको मृत्युकै कुरा चल्यो । उनीहरूलाई थाहा भएकै जस्तो गरेर रामरतनले नै पिटेरै मारेको हो भनेर निष्कर्ष निकाले । 

“अनि बाबुले आमालाई कुट्छ भन्ने कुरा छोरीहरूलाई त थाहा थियो होला नि ? उनीहरूले किन कसैलाई केही नभनेको त ?” एउटी पातली आइमाईले जिज्ञासा राखी । 

“मेरो मनमा लागिरहेको थियो, कमसेकम छोरीहरूले त आमाको ख्याल गर्नुपर्ने नि !”, अर्की बोली ।

“के गर्थी । एउटी छोरीले त आमालाई नै मुखैमुखमा पिट्थी ।” 

“किन पिट्थी आमालाई ?” एउटी अधबैँसे झनै आश्चर्य र दुःख मिश्रित स्वरमा सोधी ।

“रक्सी खायो भनेर नि !” 

“सावित्रीले रक्सी खान्थी र ?”

“अलिअलि खान्थी । लोग्नेले दिएको दुःखाई भुल्न ।”

“लोग्नेले किन पिट्थ्यो ?” 

“पिट्न त रक्सी खाई भनेर पिट्थ्यो रे । खासमा पिटेको चाहिँ छोरा पाइन भनेर हो ।”

यो टोलमा मुस्किलले चालिस पचास घर छन् । प्रायः सबै औँठाछाप छन् । यहाँका युवाहरू पढ्नभन्दा मजदुरी गर्न अथवा विदेश जान मन पराउँछन् । अझै पनि बिहान उठ्नासाथ जाँड खान्छन् । मानौँ जाँडरक्सी नखाई त यिनीहरूको हातखुट्टै चल्दैन । दाउरा लिन जङ्गलमा जानु प-यो, पहिला जाँड नै चाहियो । माछा मार्न जानु प¥यो, जाँड खाएर मात्र जाने । जाँडरक्सी यहाँका सबैको दिनचर्याको हिस्सा छ । तर उनीहरूले जाँडरक्सी खाँदैछन् या जाँडरक्सीले उनीहरूलाई खाँदैछ भनेर प्रश्न सोध्ने यहाँ कोही छैन ।

सावित्रीको तिघ्रामा पनि चोट थियो । छातीमा पनि निलडाम थियो । शरीरैभरि चोटैचोट थियो !

बस्तीमा यस्ता हल्ला निकै फैलिए । कतिले त आफ्नै आँखाले देखेजस्तै गरे । तर प्रहरी प्रशासनमा गएर जाहेरी कसैले दिएन । उनीहरूलाई त सावित्री मरीभन्दा पनि रामरतन एक्लो भयो भन्ने चिन्ता थियो । 

अब रामरतनलाई कसले भात पकाइदिन्छ ? उसको लुगा कसले धोइदिन्छ ? रामरतन बिरामी हुँदा एक मुठी तातो पानी कसले खान दिन्छ अब ? सबैको सरोकार यिनै र यस्तै कुरामा थियो ।

 रक्सी खाएर स्वास्नीलाई कुटेर मारेको हो भन्ने कुरालाई सबैले सहज रूपमा लिए । सबैले भने, ‘जन्मेपछि एकदिन मर्नु नै पर्छ’ ।

“मैले गम्भीर रूपमा चासो राखेकी भए सावित्रीले न्याय पाउँथी । म भावनामा बगँे । केही प्रयत्न गरिनँ मैले । अरूले गर्लान् । उसको आफन्तले गर्लान् भनेर बाटो नहेरी तत्काल लास जलाउन नदिएर प्रहरीलाई खबर किन नगरेकी मैले ? पापी हुँ म ! यतिबेला रामरतन र म जेलमा हुनुपर्ने थियो ।” कविता उदास थिई । उसले सावित्रीको असमय मृत्युमा आफूलाई पनि दोष दिइरहेकी थिई ।

रहस्यमै छ सावित्रीले आत्महत्या गरेकी थिई अथवा हत्या भएको थियो । तर कसैले नदेखेको एउटा कुरा थियो । सावित्रीको ढाडमा विजयको नामको ट्याटु ।