काठमाडौँ, भदौ ९ गते । प्राध्यापक कृष्ण खनालद्वारा लिखित ‘विश्वेश्वरप्रसाद कोइराला : चेतना, चिन्तन र राजनीति’ नामक कृति सार्वजनिक भएको छ। राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति डा. रामवरण यादव, प्राडा लोकराज बराल, प्राडा अभि सुवेदी, डा. तुलसीप्रसाद भट्टराई, वामपन्थी चिन्तक नरेन्द्रजङ्ग पिटर, मानव अधिकारकर्मी मोहना अन्सारीले कृति सार्वजनिक गर्नुभएको हो।
समारोहमा पूर्वराष्ट्रपति यादवले कृतिको अध्ययनले बिपीको जीवनी र त्यसबेलाका राजनीतिक परिदृश्य स्पष्ट पारेको बताउनुभयो। उहाँले प्राध्यापक खनालले पुस्तकमार्फत मुलुकको राजनीतिक इतिहासलाई नयाँ पुस्तासँग जोड्न खोज्नुभएको पनि चर्चा गर्नुभयो।
मुलुकको भूराजनीति, प्रजातान्त्रिक इतिहास, नेपालको सन्दर्भमा तत्कालीन र वर्तमान अन्तर्राष्ट्रिय सम्बन्ध बुझ्न खोज्ने र अध्ययन अनुसन्धान गर्नेका लागि यो पुस्तक एउटा महत्वपूर्ण खुराक हुने उहाँको भनाइ थियो।
प्राडा बरालले यस पुस्तकको अध्ययनले विश्वेश्वरप्रसाद कोइराला नेपाली समाज र राजनीतिको पुनर्जागरणको प्रतीक भएको स्पष्ट भएको उल्लेख गर्दै बिपी गान्धीको चिन्तन र आर्थिक चिन्तनबाट प्रेरित हुनुभएको चर्चा गर्नुभयो। पुस्तकमा बिपीको पूरा व्यक्तित्वको सफल चित्रण भएको बताउँदै उहाँले बिपी बुझ्न यो पुस्तकको अध्ययन आवश्यक रहेको स्पष्ट पार्नुभयो। प्राडा सुवेदीले सार्वजनिक गरिएको कृतिलाई जीवन महाकाव्यको संज्ञा दिँदै बिपी कोइरालाबारे अहिलेसम्म लेखिएका पुस्तकमध्ये यो कृति महत्वपूर्ण रहेको चर्चा गर्नुभयो।
मानव अधिकारकर्मी अन्सारीले बिपीबारे लेखिएको यस कृतिको अध्ययनले हाम्रो मुलुक प्राकृतिक स्रोतसाधनले सम्पन्न भएर पनि विकासमा किन पछि प¥यो भन्ने कुरा स्पष्ट हुने बताउनुभयो। वामपन्थी चिन्तक पिटरले सार्वजनिक गरिएको कृति मुलुकको राजनीतिक इतिहास र ज्ञानबुद्धिका दृष्टिकोणले महत्वपूर्ण रहेको बताउँदै समाजवाद, राष्ट्रियता र लोकतन्त्रलाई नेपाली कांग्रेसको आत्मा भनिए पनि त्यसबारे पुस्तकमा उल्लेख गर्नुपर्ने बताउनुभयो। लेखक खनालले यस पुस्तकमार्फत बिपी कोइरालालाई आजको समाजसँग जोड्न खोजिएको बताउनुभयो।