ज्ञानु पंगेनी
मध्यविन्दु, असार ४ गते । पछिल्लो समय सामुदायिक विद्यालयहरूमा व्यावहारिक शिक्षा दिन र आयआर्जनमा समेत जोड्नका लागि विद्यार्थीहरूलाई कृषि कार्यमा संलग्न गराउन थालिएको छ ।
नवलपरासी पूर्व (नवलपुरका) विभिन्न विद्यालयहरूमा कृषि कार्यमा विद्यार्थीहरू जोडिन थालेका छन् । यहाँका धेरैजसो विद्यालयमा तरकारी खेती गरेर विद्यार्थीहरू पढ्दै कमाउने कार्यमा संलग्न भएका छन् । तर यहाँको कावासोती नगरपालिका– १५ मा पर्ने एक विद्यालयले भने विद्यार्थीलाई फलफूल, तिल, तोरी र मास खेतीतर्फ जोड्ने अभियान थालेको छ ।
चण्डेश्वरी माध्यमिक विद्यालय, कावासोती–१५ गोडारले ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै’ कार्यक्रम अन्तर्गत बहुवर्षे फलफूल ड्रागन फ्रुट ( सिउँडीफल) खेतीमा विद्यार्थीलाई जोडेको छ ।
शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेश, पोखराबाट प्राप्त पाँच लाख रुपियाँ बजेटबाट विद्यालयले ड्रागन फ्रुट खेती सुरुवात गरेको हो । कक्षा ६ भन्दा माथिका विद्यार्थीहरू, शिक्षक तथा स्थानीयसमेतको सहभागितामा तीन दिन लगाएर ड्रागन फ्रुट ९ सिउँडीफल रोप्ने काम सम्पन्न गरेका छन् ।
असार दुई गतेदेखि सुरु गरी चार गते (आज) ड्रागन फ्रुट रोप्ने काम सकिएको विद्यालयका प्रधानाध्यापक लक्ष्मी न्यौपानेले जानकारी दिनुभयो । पाँच कट्ठा क्षेत्रफलमा, दुई सय पोलमा, आठ सय बिरुवा रोपिएको प्रधानाध्यापक न्यौपानेले बताउनुभयो ।
‘शिक्षालाई व्यवहारमा मोडौँ, ज्ञानलाई सिपसँग जोडौँ’ भन्ने मूल नाराका साथ विद्यालयले यस अघिदेखि नै आय आर्जनका लागि विभिन्न खेती गर्दै आइरहेको प्रअ न्यौपानेको भनाइ छ । ड्रागन फ्रुटका लागि पाँच लाख बजेट पर्याप्त नभए पनि विभिन्न सहयोगी दातासँग समन्वय गरी विद्यालयले आफैँले व्यवस्थापन गरेरै भए पनि यस कार्यलाई सफल बनाउने काममा विद्यालय लागेको उहाँको भनाइ छ ।
‘बिरुवा त राेप्याैं तर तारबार गर्न बाँकी छ । त्यसका लागि बजेट पुग्दैन । तारबार नगरेसम्म रोपेका बिरुवाको संरक्षण हुँदैन सहयोग गर्ने हातहरू पक्कै पाइनेछ भन्ने आशा राखेका छौँ । विद्यालयले पनि सकेको गर्छौँ र यस कार्यलाई सफल बनाउँछौ,’ प्रअ न्यौपानेले भन्नुभयो ।
कृषि कार्यमा विद्यार्थीलाई जोड्ने र विद्यालयको दिगो आम्दानीको स्राेत बनाउने उद्देश्य राखेको प्रअ न्यौपानेले बताउनुभएको छ । ‘हाम्रो क्षेत्र पिछडिएको क्षेत्र हो, यहाँ असहाय र विपन्न वर्गका विद्यार्थीहरू बढी अध्ययन गर्छन्, कृषिबाट आएको आम्दानीले त्यस्ता विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेर शिक्षाको उज्यालो प्रदान गर्ने लक्ष्य बोकेर हामीले यस कार्य अगाडि बढाएका हौँ । कार्यविधि नै निर्माण गरेर हामीले यो काम थालनी गरेका हौँ, प्रअ न्यौपानेले भन्नुभयो ।
विद्यालयले गतवर्ष पनि तिल, तोरी, मास खेती गरेर आम्दानी गर्न सफल भएको थियो । गत वर्ष साढे तीन क्विन्टल तिल, चार क्विन्टल तोरी र १५ पाथी मास उत्पादन गरेर बिक्री गरेको विद्यालयका प्रचारप्रसार संयोजक जीतनारायण थनेतले जानकारी दिनुभयो । विद्यालयले दुई बिघा क्षेत्रफलमा यसरी विभिन्न खेती गर्दै आइरहेको उहाँले बताउनुभयो । अहिले पनि तिल खेती गरिएको छ ।
शिक्षक अभिभावक सङ्घका अध्यक्ष शिवप्रसाद काफ्लेले विद्यार्थीहरूलाई व्यावहारिक कृषि ज्ञान प्रदान गर्नु विद्यालयले गरेको कार्यले टेवा पुग्ने बताउनुभयो । यस क्षेत्र कृषिको उर्वर भूमि रहेको हुँदा कृषिको महत्त्व विद्यार्थीलाई बुझाउन र विद्यालयको नियमित आम्दानीको माध्यम बनाउनका लागि पनि यस कार्यले सकारात्मक योगदान दिने उहाँको भनाइ छ ।