नवीनराज कुइँकेल
लमजुङ, असार ४ गते । मस्र्याङदी कोरीडोरमा निर्माणाधीन २२० केभी विद्युत् प्रसारण लाइन समयमै निर्माण सम्पन्न नभए १६ सय मेगावाट विद्युत् खेर जाने भएको छ । समयमै विद्युत् प्रसारण लाईन नबन्दा मर्स्याङ्दी करिडोर अन्तर्गत लमजुङ र मनाङमा निर्माण सम्पन्नको चरणमा पुगेका जलविद्युत् आयोजनाको विद्युत् खेर जाने भएको हो ।
चालु आर्थिक वर्षमा निर्माण सक्ने गरी काम भइरहेका आयोजनामा विभिन्न स्थानमा भएको अवरोधका कारण निर्माण कार्यमा ढिलाइ भएको नेपाल विद्युत प्राधिकरण २२० केभी प्रसारण लाइन आयोजनाले जनाएको छ । आयोजनाका अनुसार प्रसारण लाइन निर्माणको क्रममा मुआब्जालगायतका विषयमा सहमति नहुँदा लमजुङ खण्डअन्तर्गत केही स्थानमा काम रोकिएको हो ।
आयोजनाका अनुसार आर्थिक वर्ष २०७४-०७५ मा सर्भे गरी आर्थिक वर्ष २०७६-०७७ देखि आयोजनाको काम सुरु भएको हो । लमजुङ खण्डमा राइनास नगरपालिकाको धमिलीकुवादेखि सुरु भएको सो आयोजनाको अधिकांश स्थानमा अवरोध नरहे पनि बेंसीसहर नगरपालिका–१० र मर्स्याङ्दी गाउँपालिका अन्तर्गतका केही स्थानमा अझै पनि अवरोध कायम छ ।
आयोजना प्रमुख नारायण रेग्मीका अनुसार अवरोध नरहेको खण्डमा चालु आर्थिक वर्षको असार मसान्तसम्म काम सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर केही स्थानमा अवरोध सिर्जना हुँदा आयोजनाको निर्माण अवधि कम्तीमा एक वर्ष थपिने प्रमुख रेग्मीले बताउनुभयो । समस्या भएका स्थानमा आपसी वार्ता र सहमतिमा समस्या समाधान गरी अर्को असार मसान्तसम्ममा काम सम्पन्न गर्ने आयोजना प्रमुख रेग्मीको भनाइ छ ।
राष्ट्रिय महत्व र प्राथमिकताको आयोजना भएकाले निर्माण कार्यलाई जसरी पनि समयमै सम्पन्न गर्नुपर्ने र मर्स्याङ्दी नदीसहित आसपासका खोलामा उत्पादिन बिजुली खेर जान दिन नहुने आयोजना प्रमुख रेग्मीले बताउनुभयो । समयमै आयोजना सम्पन्न हुन नसके सो करिरडोरमा उत्पादिन बिजुली खेर जाने मात्रै नभई राज्यलाई करोडौं नोक्सान हुने रेग्मीको भनाइ छ ।
आयोजनाको अनुसार अधिकांश स्थानमा विद्युत् पोल गाड्ने जग्गाको मुआब्जाका विषयमा स्थानीयसँग सहमति हुन नसकेको हो । यद्यपि मुआब्जा निर्धारण समितिको निर्णय अनुसार लमजुङ खण्डका ८५ प्रतिशत प्रभावितले मुआब्जा बुझिसकेको र १२ वटा विद्युत् पोल रहने स्थानमा सहमति हुन नसकेको हो ।
आयोजना प्रभावितले भने मर्स्याङ्दी करिडोर २२० केभी राष्ट्रिय प्रसारण लाइन निर्माण भएसँगै सरकारले आफ्नो जग्गाको उचित मुआब्जा तथा क्षतिपूर्ति नदिएकोलगायत बैंक तथा वित्तीय संस्थाले धितो नलिँदा प्रभावित जग्गा प्रयोगविहीन हुने, बिक्री वितरण नहुने, विद्युतीय जोखिममा बस्नुपर्ने बाध्यता रहेको भन्दै विभिन्न मागसहित आन्दोलन गर्दै आएका छन् ।
मर्स्याङ्दी करिडोरअन्तर्गत राइनासको धमिलीकुवादेखि २२० केभी राष्ट्रिय प्रसारण लाइन निर्माणको क्रममा छ । धमिलीकुवादेखि उदिपुरसम्म पोल गाड्ने काम सम्पन्न भई तार टाँग्ने तयारीमा छ भने सोभन्दा माथिल्लो क्षेत्रमा स्थानीयको सहमतिमै काम अघि बढाउने तयारी भएको आयोजनाले जनाएको छ ।
निर्माणाधीन २२० केभी राष्ट्रिय प्रसारण लाइन र सम्बन्धित क्षेत्रका प्रभावितबीच पटक पटक विवाद हुँदै आएको छ । प्रभावितहरुले यसअघि अधिग्रहण गरिएको जग्गामा उचित मुआब्जालगायतका विषयमा पटक–पटक प्रशासन कार्यालय र सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै आएका छन् ।