काठमाडौँ, असार ४ गते । अन्तर्राष्ट्रिय त्रिकोणत्मक टी–२० सिरिजको दोस्रो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डविरुद्ध रोमाञ्चक जित हात पारेको छ ।
स्कटल्यान्डको टिटउट रङ्गशालामा मङ्गलबार राति भएको खेलमा नेपालले स्कटल्यान्डलाई दुई विकेटले हरायो । जितका लागि ९८ रनको सहज लक्ष्य पाएको नेपालले अन्तिममा जितका लागि कठिन सङ्घर्ष गर्नुपरेको थियो ।
यसअघि सिरिजको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पुगेर पराजित भएको थियो । नेपालले आफ्नो एक सयौँ अन्तर्राष्ट्रिय टी–२० मा १९.५ ओभरमा आठ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ३० रन बनाउनुभयो । यस्तै दीपेन्द्रसिंह ऐरीले १४, बसिर अहमदले १३ र किरण ठगुन्नाले १० रन जोड्नुभया ।
बलिङमा स्कटल्यान्डका सफ्यान शरिफ र माइकल लिस्कले दुई दुई विकेट लिनुभयो । यस्तै मार्क वाट, ज्याक जार्विस र ज्यास्पर डेभिडसनले एक एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले १९.४ ओभरमा सबै विकेटको क्षतिमा ९७ रन बनाएको थियो ।
स्कटल्यान्डका लागि माइकल लिस्कले ४६ रन बनाउनुभयो । यस्तै कप्तान म्याथ्यु क्रसले १५ र ब्रेन्डन म्याकमुलनले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
बलिङमा नेपालका सन्दीप लामिछानेले चार जिकेटअ लिनुभयो । करण केसी र दीपेन्द्रसिंह ऐरीले दुई दुई तथा ललितनारायण राजवंशीले एक विकेट झार्नुभयो ।
करणको सय विकेट पूरा
यसैबिच स्कटल्यान्डविरुद्धको खेलमा नेपालका करण केसीले टी–२० अन्तर्राष्ट्रियमा एक सय विकेट पूरा गर्नुभएको छ ।
करण नेपालका लागि सर्वाधिक विकेट लिने दोस्रो खेलाडी बन्नुभएको छ । करणले ८० खेलमा सय विकेट पूरा गर्नुभएको हो ।
नेपालका लागि सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष सुचीमा सन्दीप लामिछाने हुनुहुन्छ । सन्दीपले ५८ खेलमा एक सय ११ विकेटको कोशेढुङ्गा पार गरिसक्नुभएको छ ।
यस्तै सोमपाल कामी ७८ खेलमा ७६ विकेटका साथ तेस्रो, अविनाश बोहरा ६२ खेलमा ७५ विकेट लिँदै चौथो र दीपेन्द्रसिंह ऐरी ८० खेलमा ५० विकेट लिँदै पाँचौँ स्थानमा हुनुहुन्छ । सिरिजको तेस्रो खेल नेपालले बिहीबार नेदरल्यान्ड्ससँग खेल्ने छ ।