• २० असोज २०८१, आइतबार

सुदूरपश्चिमका केही स्थानमा गौरा विसर्जन

blog

गौरा पर्वको विसर्जन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणासहित महिला । तस्बिर : भावना जोशी

भावना जोशी 

अत्तरिया, भदौ ८ गते । सुदूरपश्चिमका केही स्थानमा आज गौराको विसर्जन गरिँदै छ । भदौ ४ गते विरुडा पञ्चमीदेखि सुरु भएको गौरा पर्व आज शुक्रबार विधिवत् रुपमा विसर्जन गर्न लागिएको हो । 

गौरा भित्र्याएपछि तीन, पाँच या सात दिन राख्नुपर्ने मान्यता रहिआएको छ । घरमा भित्र्याइएका गौरा आज विसर्जन (सेलाएपछि) गरे पनि मन्दिर सार्वजनिक स्थलमा भित्र्याएका गौरा भने धेरै दिनसम्म, फाग, धमारी, देउडा खेलेर मनाउने परम्परा छ । 

गौरा विसर्जन गर्न शुभ बार समेत हेर्ने गरिन्छ । शुक्रबार, बुधबार, सोमबार शुभ मानिन्छ । छोरी माइतीघरबाट पठाउँदा शुभ समय हेरेर पठाउने गरिन्छ । सोहीअनुसार आज शुक्रबार शुभ परेकाले गौराको बिदाइ गर्न लागेको अछाम ठिंगालगाउँकी पार्वती जोशीले बताउनुभयो । 

अछाममा साँफेबगर नगरपालिका –१ कालिमाटी ठिंगालगाउँमा मात्र परापूर्व कालदेखि गौरा ल्याउने पूजाआजा गर्ने चलन छ । धनगढीको धेरै ठाउँमा आज गौरा विसर्जन गर्न लागिएको बताइएको छ ।

आज पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा निवास धनगढीमा पनि गौरा विसर्जन गरिएको छ । देउवापत्नी तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवा भदौ १ गते धनगढीस्थित निवासमा गौरा मनाउन आउनुभएको थियो । 

ब्रतालु महिलाले गौरापूजन गरिसकेपछि मुख्य प्रसादको रुपमा रहेको बिरुडाले आफ्ना श्रीमान, छोराछोरी र आफन्तजनको चिरायु दीर्घायुको कामना गर्दै टाउको पुज्ने गर्छन् । पुरुषहरुले ठाडोखेल, ढुस्को धमारीलगायतका ऐतिहासिक संस्कृतिमा आधारित खेलहरु खेल्दै नाचगान, भजनकीर्तन पञ्चेबाजा बजाएर गौराको बिदाइ गर्ने गर्छन् । 

विदाइमा छोरी पराइघर जाँदा जसरी माइती पक्ष रुन्छन्, विदाइका गीत, मागल गाउँछन् । काला लेक मेरी ईजु एक लिन जानो, पिठिका भाइहरु मेरा घर फर्की आउन्ना । कालालेक कालो कुहिरो लोटि रला ईजु एकलिन जानो, साथकि सङ्गिनी जति घर फर्की आउन्नी, ईजु एकलिन जानो ।।

महिलाले आफ्नो अटल सौभाग्य समृद्धि सन्तान र परिवारमा सुख शान्तिका लागि गौराको व्रत बसी पूजाआजा गर्ने मान्यता छ । गौरा पर्वमा प्रदेश सरकारले दुई दिन विदा दिए पनि सुदूरपश्चिमका बझाङ, अछाम र बाजुरा जिल्लामा भने गौरा पर्वको खासै प्रभाव छैन । सुदूरपश्चिममा दार्चुला, बैतडी, डोटी र डडेल्धुरामा परम्परादेखि नै गौरा मनाइन्छ ।

पछिल्लो समयमा ती जिल्लाबाट बसाइसराई गरेर आएकाहरुले तराईको कैलाली र कञ्चनपुरमा पनि गौरा पर्व मनाउने गरेका छन् ।गौरापर्वको  सुदूरपश्चिम प्रदेश सरकारले ७ र ८ गते गरी दुई दिन बिदा दिएको छ ।