• १२ पुस २०८१, शुक्रबार

संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर भदौ १२ गते हुने

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।

काठमाडौं, भदौ ७ गते । प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ १२ गते हुने भएको छ । बिहीबारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम भदौ १२ गतेको बैठकमा हुनेगरी निर्धारण गरेको जानकारी गराउनुभएको हो ।

सभामुख घिमिरेले यस पटकको प्रश्नोत्तरमा समूह २ मा रहेका सांसदहरूले प्रश्न सोध्न पाउने बताउनुभयो । उहाँले प्रधानमन्त्रीलाई सोध्ने प्रश्न भदौ ८ गते शुक्रबार दिउँसो ३ बजेभित्रमा प्रतिनिधि सभाका सचिव समक्ष लिखित रूपमा दिन पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम यही २०८० भदौ १२ गतेको बैठकमा हुनेगरी निर्धारण गरिएको ब्यहोरा जानकारी गराउँछु । साथै प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका लागि यसअघि नै समूह विभाजन भइसकेको र समूह २ मा रहेका माननीय सदस्यहरूले यस महिना प्रश्न सोध्नका लागि नियमावलीको नियम ५८ बमोजिम मिति २०८० भदौ ८ गते शुक्रबार दिनको ३ बजेभित्र प्रतिनिधि सभाको सचिव समक्ष आफ्नो प्रश्न लिखित रूपमा दिन सक्नुहुने ब्यहोरा जानकारी गराउन चाहन्छु ।’’

यसैगरी, सभामुखले समिति सभापतिहरूको निर्वाचनका लागि भदौ ११ गते दिउँसो ३ बजेको समय तोकेको पनि जानकारी गराउनु भयो । प्रतिनिधि सभाको अर्को बैठक भदौ १२ गते मङ्गलवार बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।