• २८ वैशाख २०८१, शुक्रबार

एसिया कप क्रिकेट

कराँचीमा क्रिकेट टोलीको अभ्यास सुरु

blog

काठमाडौं, भदौ ७ गते । एसिया कप क्रिकेट खेल्न बुधबार पाकिस्तान पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले बिहीबारदेखि अभ्यास सुरु गरेको छ ।

नेपाली टोलीले कराँचीस्थित हनिफ मोहमद हाईप्रफमेन्स सेन्टरमा अभ्यास सुरु गरेको हो । नेपाली टोलीलाई पाकिस्तान अवतरण गरेसँगै त्यहाँको सुरक्षा दस्ताले कडा सुरक्षा दिएको छ । 


बुधबार नेपाली टोलीलाई भिभिआईपी सुरक्षा प्रदान गरी होटल लगिएको थियो । नेपाली टोलीले कराँचीमा कडा सुरक्षा घेरामै रहेर एक साता अभ्यास गर्नेछ । अभ्याससँगै नेपालले त्यहाँको स्थानीय टोलीसँग अभ्यास खेल खेल्नेछ ।


नेपाली टोलीमा राखिए पनि चर्चित खेलाडी सन्दीप लामिछाने अहिले पाकिस्तान जानुभएको छैन । काठमाडौँ जिल्ला अदालतमा सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ अन्तिम चरणमा पुगेको अदालतमा यही बिचमा पेसी रहेकोले पेसी सकेर पाकिस्तान जाने बताइएको छ । 


नेपाली टोली कराँचीमा अभ्यास सकेर अगस्ट २७ तारिख एसिया कपको उद्घाटन खेल खेल्न मुल्तान प्रस्थान गर्नेछ । एसिया कपमा नेपालले समूहको पहिलो खेल अगस्ट ३० तारिख आयोजक पाकिस्तानसँग मुल्तान क्रिकेट रङ्गशालामा खेल्नेछ । 

पाकिस्तानसँग खेले पनि नेपालले सेप्टेम्बर ४ मा भारतसँग अर्को खेल श्रीलङ्कामा खेल्नेछ । एसिया कपमा नेपाल, भारत र पाकिस्तान समूह ‘ए’ मा छन् । समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । 


समूहको शीर्ष दुई टोली सुपर चारमा प्रवेश गर्नेछ । सुपर चारको शीर्ष दुई टोलीबिच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । एसिया कपको आयोजक पाकिस्तान भए पनि अधिकांश खेलहरु श्रीलङ्कामा सञ्चालन हुँदैछ । भारतले पाकिस्तान गएर खेल्न अस्वीकार गरेपछि एसिया कपका खेल पाकिस्तान र श्रीलङ्कामा हुन लागेको हो । 

नेपाली टोली 

रोहित पौडेल (कप्तान), आशिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिस जीसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाल ।