काठमाडौँ, असार १२ गते । इटालियन क्लब इन्टर मिलान र जर्मन क्लब बोरुसिया डर्टमुन्डले अमेरिकामा जारी फिफा क्लब विश्वकपको नकआउट चरणमा स्थान बनाएको छ ।
बिहीबार बिहान भएको खेलमा इन्टरले अर्जेन्टिनाको रिभर प्लटेलाई २–० गोलले हरायो । इन्टरको जितमा पियो एस्पोसिटो र अलेसेन्ड्रो बास्टोनीले गोल गर्नुभयो ।
जितसँगै समूह ‘इ’ मा रहेको इन्टर सात अङ्क जोड्दै शीर्षस्थानमा रह्यो । तीन खेलबाट चार अङ्क बनाएको रिभर प्लेट समुह चरणबाट बाहिरियो । इन्टरले अन्तिम १६ मा ब्राजिलियन क्लब फ्लुमिनेन्ससँग प्रतिस्पर्धा गर्ने छ ।
यस्तै अर्को खेलमा बोरुसिया डर्टमुन्डले दक्षिण कोरियाको क्लब उल्सान एचडीलाई १–० गोलले हरायो । समूह ‘एफ’ मा रहेको बोरुसिया डर्टमुन्ड समूह विजेता बन्यो ।
शीर्ष स्थानमा रहेको बोरुसिया डर्टमुन्डले सात अङ्क बनायो । बोरुसिया डर्टमुन्डको जितमा डानियल स्वेन्सनले निर्णायक गोल गर्नुभयो ।
समूह ‘एफ’ कै अर्को खेलमा ब्राजिलको फ्लुमिनेन्सेले दक्षिण अफ्रिकी क्लब ममेलोडी सन्डाउन्ससँग गोलरहित बराबरी खेल्दै समूहको उपविजेताको रूपमा अन्तिम १६ मा स्थान बनाएको छ । फ्लुमिनेन्सले पाँच अङ्क बनायो । एजेन्सी