• २५ जेठ २०८२, आइतबार

अठ्ठाइस वर्षपछि हुने भयो विवाह दर्ता

blog

दैलेखका स्थानीय चन्द्रबहादुर शेर्पालाई नागरिकता प्रदान गरिँदै । तस्बिर : विशाल सुनार

दुल्लु समाचारदाता

दुल्लु (दैलेख), भदौ ७ गते । अट्ठाइस वर्षअघि दलित युवतीसँग विवाह गरेका ठाँटीकाँध गाउँपालिका–३, विशाला भुवाँखाँडाका चन्द्रबहादुर शेर्पाले नागरिकता प्राप्त गरेपछि विवाह दर्ताको बाटो खुलेको छ। जिल्ला प्रशासन कार्यालय दैलेखबाट ५४ वर्षीय शेर्पाले मङ्गलबार नागरिकताको प्रमाणपत्र लिनुभएको छ।

स्थानीय गगनी विकसँग २८ वर्षअघि प्रेम विवाह गरेका चन्द्रबहादुर शेर्पाका छ सन्तान छन्। शेर्पाले नागरिकता प्राप्त गरेपछि विवाह दर्ताका साथै छोराछोरीको जन्मदर्ताको ढोका खुलेको छ। शेर्पाले नागरिकता प्राप्त गरेपछि नातिनातिनासहित ११ जनाको जन्मदर्ता, विवाह दर्ता गर्न सफलता मिल्ने बताउनुभयो। 

बुवाले नागरिकता पाएको खबर पाएपछि साइँली छोरी दुधा विकले अब जन्मदर्ता हुनेभयो र विद्यालय भर्ना हुन पाइने भयो भन्दै खुसी व्यक्त गर्नुभयो। जन्मदर्ता नभएकै कारण उनीहरूले विद्यालयमा समेत पढ्न पाएका थिएनन्। 

नागरिकता पाएपछि नेपाल सरकारबाट प्राप्त हुने दलित, जनजाति बालबालिकाले पाउने छात्रवृत्तिसहित सामाजिक सुरक्षा भत्तासँगै न्यूनतम सेवासुविधा पाउने आशा चन्द्रबहादुर शेर्पाको छ। 

प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले अनागरिक सरह बाँच्नुपर्ने बाध्यताबाट शेर्पा परिवार मुक्त भएको बताउनुभयो। उहाँले नागरिकता पाएपछि अब जन्मदर्ता, विवाहदर्ता, मताधिकार, सिफारिस, सामाजिक सुरक्षा भत्तालगायतका सम्पूर्ण सेवासुविधा पाउने आधिकारिक बाटो खुलेको बताउनुभयो।