• २ जेठ २०८२, शुक्रबार

बारा बस दुर्घटना अपडेट : थप एकजनाको मृत्यु

blog

बारा, भदौ  ७ गते ।  बारामा तीर्थयात्री बोकेको बस दुर्घटनामा घाइते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ । योसँगै उक्त दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या सात पुगेको छ । तीन जनाको घटनास्थलमा तथा चार जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस आज बिहान २ बजे बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ पूर्वपश्चिम लोकराजमार्गको चुरियामाई नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा ज्यान गुमाउनेमा महोत्तरीको लोहारपट्टीका ४१ वर्षीय विजयलाल पण्डित तथा भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६५ वर्षीया मीरादेवी सिंह, ६० वर्षीया सत्यवती सिंह, ७० वर्षीय राजेन्द्र चतुरवेदी, ६५ वर्षीय श्रीकान्त चतुरवेदी र ६७ वर्षीया वैजन्ती देवी रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो ।

बसमा चालकसहित २६ यात्रु सवार थिए । दुर्घटनामा १७ जना घाइते भएका छन् ।  घाइतेको हेटौँडा अस्पताल, सञ्चो अस्पताल, चुरेहिल अस्पताल र चितवनस्थित पुरानो मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको छ । उनीहरु पशुपतिनाथको दर्शन गरी फर्किदै थिए ।