• २ जेठ २०८२, शुक्रबार

सुशासनको माग गर्दै प्रदर्शन

blog

बर्दिबास समाचारदाता

बर्दिबास, भदौ ७ गते । सुशासन र पारदर्शिताको माग राख्दै स्थानीय बासिन्दाले गौशाला नगरपालिकामा बुधबार अपराह्न प्रदर्शन गरेका छन् । नगर कार्यालय परिसरमा भेला भएका स्थानीयवासीले नगरपालिकाको आर्थिक कारोबार शङ्कास्पद रहेको, गुटबन्दी र पक्षपातले विकास प्रभावित भएको तथा पारदर्शिता नहँुदा नगरपालिकामा भ्रष्टाचार मौलाएको जस्ता अनेकन विकृति बढ्दै गएकाले बाध्य भएर प्रदर्शनमा उत्रनु परेको बताएका छन् । 

प्रदर्शनमा सहभागी युवाले नगरपालिकामा हुने बैठकहरूको स्थानीय सञ्चार माध्यमबाट प्रत्यक्ष प्रसारण गर्नुपर्ने मागसमेत राखेका थिए । डेढ दुई सयको सङ्ख्यामा आएका स्थानीयवासीको नाराबाजीका कारण बुधबार अपराह्न २ बजेका लागि बोलाइएको नगर कार्यपालिकाको बैठकसमेत निर्धारित समयमा बस्न सकेन । 

प्रदर्शनका व्रmममा मुठभेडको सम्भावना देखिँदा नगरपालिकालाई प्रहरीले सुरक्षा घेरामा लिएपछि अवस्था केही साम्य भएको थियो । गौशालास्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मनोज यादवले प्रदर्शनमा सहभागीलाई नगर कार्यालयको परिसरबाट हटाएपछि तनाव साम्य भएको बताउनुभयो । परिसर बाहिर आए पनि स्थानीयवासीले नाराबाजी गरेका थिए । 

गौशाला नगरपालिकाका प्रवक्ता एवं वडा नं. ११ का वडाध्यक्ष रामपृत महतोले प्रदर्शन गराउन उपप्रमुख रेनुकुमारी महतोको हात रहेको आरोप लगाउनुभयो । गत साता उपप्रमुख र नगर कर्मचारीबिच भएको दुव्र्यवहारको विषयमा छानबिनका लागि बुधबार राखिएको नगर कार्यसमितिको बैठक बिथोल्न नियोजित रूपमा नाराबाजी गराइएको उहाँको भनाइ छ । 

आफ्नै कार्यकक्षमै रहनुभएकी उपप्रमुख महतोले दोषारोपणको खण्डन गर्नुभयो । उहाँले नगर कार्यपालिका बैठकको प्रत्यक्ष प्रसारण गर्नुपर्ने माग पूरा नभएपछि बैठकमा सहभागी नभएको स्पष्ट पार्नुभयो । उहाँलाई साथ दिँदै वडा नं १ का वडाध्यक्ष नवीन साह पनि बैठकमा सहभागी हुनु भएन । आफूले सुरुदेखि नगरपालिकाको बैठक, निर्णयजस्ता गतिविधि अँध्यारो कोठामा सीमित नराखी पारदर्शी बनाउन र जनतालाई सुसूचित गर्न प्रत्यक्ष प्रसारणको माग राख्दै आए पनि यसको उपेक्षा भएको उहाँको प्रत्यारोप छ ।