• ३१ वैशाख २०८२, बुधबार

वन अतिक्रमणविरुद्ध अदालतमा मुद्दा

blog

दोलखा समाचारदाता

दोलखा, भदौ ७ गते । दोलखाको मेलुङ गाउँपालिका–१, पवटीमा राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी वडा कार्यालय निर्माण सुरु गरेको भन्दै दोलखा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।  वडाध्यक्ष ईश्वर कोइराला र निर्माण समिति अध्यक्षद्वय हरिबहादुर खड्का र हेमराज उप्रेतीविरुद्ध मुद्दा दर्ता गरिएको डिभिजन वन कार्यालयका अनुसन्धान अधिकृत दिनेश हुमागाईंले जानकारी दिनुभयो । उहाँका अनुसार साबिकको गाविस कार्यालयको आफ्नै कित्ता नम्बर २०४ को जग्गा हुँदाहुँदै राष्ट्रिय वन क्षेत्रको कित्ता नम्बर २०५ को ४१७ वर्गमिटर जग्गा अतिक्रमण गरी वडा कार्यालय भवन निर्माण सुरु गरेकाले अदालत जानु परेको हो । 

वन ऐन २०७६ को दफा ४९ अन्तर्गत राष्ट्रिय वन क्षेत्रभित्र खनजोत गर्न; घर, छाप्रो तथा भवन बनाउन कानुनले निषेध गरेको डिभिजन वन कार्यालयका अनुसन्धान अधिकृत हुमागाईंले जानकारी दिनुभयो ।  कानुनविपरीत कसुर गर्नेलाई एक लाख रुपियाँसम्म जरिबाना वा पाँच वर्ष कैद वा दुवै सजाय गरी निर्माणाधीन भवन जफत हुने कानुनी प्रावधान अनुसार माग दाबी गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

पहिले गाउँ पञ्चायत कार्यालय र स्वास्थ्य चौकी पनि यहीँ थियो । स्वास्थ्य चौकी भवन भत्किएकै स्थानमा वडा कार्यालय भवन निर्माण सुरु भएको वडाध्यक्ष कोइरालाले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले मुद्दा दायर भएपछि १०-१० हजार रुपियाँ धरौटी राखेर तारिख बेहोर्नु परेको छ । व्यक्तिको नभएर सरकारकै भवन बन्न लागेको हो । अदालतको न्याय शिरोधार्य हुने छ ।” गत सालको २९ लाख रुपियाँ लगानीमा एक तला र यस वर्षको २९ लाख रुपियाँ लगानीमा निर्माण समितिमार्फत काम भएको उहाँले बताउनुभयो ।  

डिभिजन वन प्रमुख थीरबहादुर कार्कीले वन क्षेत्रको अतिक्रमण दुरुत्साहन गर्न मुद्दा हाल्नु परेको बताउनुभयो । उहाँले भन्नुभयो, “वन क्षेत्र प्रयोग गर्ने कार्यलाई कानुनी दायरामा ल्याउन खोजिएको हो । यस कार्यालयले नयाँ तथा पुराना सबै खाले अतिक्रमण चरणबद्ध रूपमा हटाउन लागेको छ ।”