• ७ मंसिर २०८१, शुक्रबार

राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहको १४७ औं जन्मजयन्ती

राष्ट्रिय विभूति जयपृथ्वीबहादुरको १४७ औं जन्मजयन्ती मनाइँदै

blog

गोरखापत्र संस्थानको केन्द्रीय कार्यालय धर्मपथ काठमाडौंमा स्थापना गरिएको सिंहको अर्धकदको सालिक।

काठमाडौं, भदौ ७ गते । राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहको १४७ औं जन्मजयन्ती विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।

नेपाल सरकारले २०७९ असार ६ गते सिंहलाई राष्ट्रिय विभूति घोषणा गरेर ऐतिहासिक निर्णय गरेको थियो । उहाँको जन्म १९३४ भदौ ७ गते बझाङको चैनपुरमा भएको थियो। 

उहाँ गोरखापत्रको सञ्चालक समेत हुनुहुन्थ्यो । कलकत्ताको काउन्सलरमा रहनुभएका जयपृथ्वीलाई वि.सं. १९६२ मा फिर्ता बोलाइएपछि  फर्कंदा गोरखापत्रका लागि हाते प्रेस ल्याउनुभयो । त्यसपछि गोरखापत्रको प्रकाशन थप सहज भएको थियो। 

उहाँ तत्कालीन बाइसे राज्यमध्येको एक बझाङका राजा विक्रमबहादुर सिंह र आमा रुद्रकुमारीका जेष्ठ छोरा र राणा प्रधानमन्त्री जङ्गबहादुरका छोरीपट्टिका नाति हुनुहुन् ।

चैनपुर दरबारमै अक्षरारम्भ गर्नुभएका सिंहले अध्ययनका लागि वि.सं. १९४२ मा काठमाडौँस्थित थापाथली दरबार स्कुलबाट माध्यमिक शिक्षा हासिल गर्नुभयो । १९५१ मा कलकत्ता विश्वविद्यालयबाट म्याट्रिक पास गर्नुभयो।

वि.सं. १९५२ मा इलाहावाद कलेजबाट समाजविज्ञानमा आइ.ए विसं १९६२ मा कलकत्ता विश्वविद्यालयबाट कानुनमा स्नातक तहको अध्ययन पूरा गर्नुभयो । प्रधानमन्त्री वीरशमशेरको सिंहका बुवा राजा विक्रमबहादुरसँग खटपट परेको थियो। 

सोही कारण वीरशमशेरले विक्रमबहादुरलाई अपदस्थ गरी १२ वर्षीय जयपृथ्वीबहादुर सिंहलाई बझाङको राजा बनाएका थिए। जयपृथ्वी विसं. १९५१ मा चन्द्रशमशेरकी छोरी खगेश्वरीसँग विवाह भयो । 

जनअधिकार, प्रशासन सुधार र न्यायिक निष्पक्षताका पक्षमा उभिएका सिंहको ससुरा राणा प्रधानमन्त्री चन्द्रशमशेरसँग मतभेद थियो।

सोही कारण ससुरासँग विद्रोह गरी हुँदा खादाको जागिर, भौतिक सेवा सुविधाका साथै बझाङको राजपदवी त्यागेर भारत निर्वासनमा जानुपर्‍यो । 

भारत निर्वासनका क्रममा उहाँले आफ्नो सम्पूर्ण जीवन विश्वशान्ति र मानवतावादमा समर्पण गर्दै विश्वव्यापी रूपमा मानवताको सन्देश प्रवाह गर्नुभयो । 

उहाँको व्यक्तित्व एवम् परिचय शैक्षिक विकासको मेरुदण्डको रुपमा पनि छ । राणाकालीन समयमा जनतामाथि लादिएको क्रुर, बर्बर जहाँनियाँ राणा शासनविरुद्व शिक्षा क्षेत्रमा योगदान पुर्‍याउन महत्वपूर्ण योगदान दिनुभएको छ । 

सिंहले वि.सं. १९५८ मा नेपाली भाषाको ४४ पृष्ठको पहिलो पाठ्यपुस्तक ‘अक्षराङ्क शिक्षा’ लेख्नुभयो । त्यसपछि विद्यार्थीका लागि बालबोध, ज्ञानमाला र श्रेस्तादर्पण पाठ्यपुस्तक लेख्नुभयो । 

उहाँले १४ वर्षको उमेरमा वि.सं. १९४८ मा ब्रिगेड नामक अङ्ग्रेजी सैनिक पुस्तक नेपालीमा अनुवाद गरी प्रकाशित गर्नुभयो । वि.सं. १९६२ मा शिक्षा दर्पण पहिलो भाग प्रकाशन गर्नुभयो । 

देवशमशेरको पालामा खोलिएका नेपाली भाषा पाठशालाको दरबन्दी प्रधानमन्त्री चन्द्रशममशेरले खारेज गरेका थिए। जनतालाई शिक्षाको उज्यालोबाट वञ्चित गर्ने चन्द्रशमशेरको नीतिप्रति असहमति जनाएका थिए ।

जयपृथ्वीले सुदूरपश्चिम नेपालमा स्थापना गरेको पहिलो विद्यालय सत्यवादी पाठशाला हो। कलकत्ताबाट अध्ययन सकेर फर्केपछि उहाँले नक्सालस्थित आफ्नै निवासमा जनताका छोराछोरीका लागि सत्यवादी पाठशाला स्थापना गरेर आफैँ प्रधानाध्यापक भर्इ अध्यापन गराउनुभयो । पाठशाला सञ्चालनमा राणाहरू तगारो बनेपछि सत्यवादी पाठशाला वि.सं. १९७९ मा बझाङमा सार्नुपर्ने स्थिति आएको थियो ।

बझाङमा न्यायिक प्रशासनिक सुधार, शिक्षा, स्वास्थ्य र विकास निर्माणमा उहाँको ठूलो योगदान छ । त्यो बेला वि.सं. १९५५ मै बझाङका विपन्न समुदायका आठजना विद्यार्थी काठमाडौँ ल्याएर तालिम प्राप्त गर्न पाएका थिए । 

राष्ट्रिय तथा अन्तर्र्राष्ट्रिय सम्बन्ध विस्तारमा समेत उहाँको महत्वपूर्ण भूमिका रह्यो । विश्वका अधिकांश देशमा नेपालको दौत्य सम्बन्ध स्थापना भइनसकेको अवस्थामा उहाँले अमेरिका, जापान, चीन, स्विटजरल्यान्ड, जर्मनी, चेकोस्लोभाकिया, अष्ट्रिया, हङ्गेरी, रोमानिया, पोल्यान्ड, फ्रान्सलगायतका मुलुकको भ्रमण गरी ती मुलुकका विभिन्न सहरमा आफूद्वारा प्रतिपादित ‘मानवतावाद’ दर्शनबारे प्रवचन दिनुभयो । 

मानवतावाद प्रसारका लागि सन् १९२८ बैङ्गलोरमा ‘ह्युमानिस्टिक क्लब’ को स्थापना, ‘द ह्युमानिस्ट’ मासिक अङ्ग्रेजी पत्रिका, १९२९ अप्रिल २२ मा स्विट्जरल्यान्डको जेनेभा, १९२९ मे १ मा जर्मनीको बर्लिन, १९२९ मे ६ मा प्राग, १९२९ मे ११ मा भियना, १९२९ मे १४ मा हङ्गेरीको बुडापेस्टमा, १९२९ मे १८ मा बेलग्रेड, १९२९ मे २३ मा रोमानियाको बुखारेस्ट, १९२९ जुन ३ मा पोल्यान्डको वार्सा, १९२९ जुलाइ २ मा फ्रान्सको पेरिस, १९२९ जुलाइ २३ मा बेलायतको संसदीय समितिमा मानवतावादको प्रवचन दिनुभयो। 

त्यसैगरी, १९३३ को अगस्त ८ मा अमेरिकाको सिकागोमा विश्वआस्था मैत्रीद्वारा आयोजित कार्यक्रममा मानवत्वको मौलिक एकत्वबारे प्रवचनकै सिलसिलामा १९३३ अक्टोबरमा जापान टोकियो पुग्नुभयो ।

त्यसैगरी, १९३३ नोभेम्बरमा चीनको साङ्घाईमा प्रवचन दिएका थिए। सन् १९३५ मा अविसिनियामाथि इटलीले आक्रमण गर्दा सिंहले जापानबाट ग्यास मास्क ल्याई अविसिनिया पुगेर घाइते सैनिकको उपचार र उद्धारमा पनि महत्वपूर्ण काम गर्नुभयो ।

यो समाचार सम्पादन गरी शीर्षक परिवर्तन गरिएको छ । – सम्पादक