• १२ पुस २०८१, शुक्रबार

अध्यक्ष तिमिल्सिनासँग जापानी संसदीय मैत्री समूहका सदस्यको भेट

blog

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेट गर्नुहुँदै जापान–नेपाल संसदीय मैत्री समूहका सदस्यहरू कोबयासी काजुहिरो र नागाई मानाबु । तस्बिर : अध्यक्ष तिमिल्सिनाको सचिवालय

काठमाडौं, भदौ ६ गते । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपाल भ्रमणमा रहेका जापान–नेपाल संसदीय मैत्री समूहका सदस्यहरूले शिष्टाचार भेट गर्नुभएको छ ।

जापानको माथिल्लो सदनका सदस्य तथा जापान–नेपाल संसदीय मैत्री समूहका सदस्यहरू कोबयासी काजुहिरो र नागाई मानाबुले बुधवार सिंहदरबारस्थित अध्यक्षको  कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको हो ।

भेटका अवसरमा अध्यक्षले नेपाल र जापान दुवै देशहरू प्रजातान्त्रिक मूल्य र मान्यतामा समान दृष्टिकोण राख्दै आएको बताउँदै नेपालमा लोकतन्त्र र प्रजातन्त्रको विकास र सुदृढीकरणमा जापान सरकारले निरन्तर पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद दिनुभएको राष्ट्रिय सभाका अध्यक्षका प्रेस सल्लाहकार दुर्गाप्रसाद शर्माले जानकारी दिनुभयो ।

प्रेस सल्लाहकार शर्माका अनुसार नेपाल र जापानबीच निकट मित्रता, पारस्परिक सम्मान, समझदारी र सहयोगमा आधारित सम्बन्ध रहेको उल्लेख गर्दै उच्चस्तरीय भ्रमणको आदानप्रदान र आपसी भेटघाट र द्विपक्षीय छलफलले नेपाल र जापानबीच रहिआएको सौहार्दपूर्ण सम्बन्धलाई अझ प्रगाढ र उच्च बनाउन ठुलो योगदान पुर्‍याएको विश्वास व्यक्त गर्नुभयो ।


उहाँले नेपालको सामाजिक–आर्थिक विकासमा जापानको निरन्तर सहयोग रहेको छ भन्दै पूर्वाधारको विकास, गरिबी निवारण, कृषि र साना तथा मझौला उद्योगहरूलाई सहयोग, जनस्वास्थ्य र शिक्षाको सुधार, मानव संसाधनको विकास लगायतमा महत्त्वपूर्ण क्षेत्रमा गरेको सहयोग प्रति धन्यवाद दिनुभयो  । जापान नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको प्रमुख स्रोत देशहरू मध्ये एक भएको बताउनुहुँदै अध्यक्ष तिमिल्सिनाले नेपालको विकास प्राथतमिकताका क्षेत्रहरूमा आगामी वर्षहरूमा जापानी लगानी बढ्ने आशा राख्नुभयो ।

अन्तर व्यवस्थापिका सङ्घ लगायतका संसदीय फोरमहरूमा नेपाल र जापानले सहकार्य गर्दै आएकोमा जोड दिनुहुँदै अध्यक्ष तिमिल्सिनाले नेपालमा पनि नेपाल जापान संसदीय मैत्री समूह छिट्टै गठन हुने जानकारी गराउनुभयो ।

भेटमा जापान नेपाल संसदीय मैत्री समूहका सदस्यहरू ले नेपाल र जापानबीचको द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ र सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको थियो । नेपाल पनि जापानमा हुने “वर्ल्ड एक्सपो २०२५, ओसाका, जापान“ मा सहभागी हुन लागेकोमा खुसी व्यक्त गर्दै त्यसले नेपालको पर्यटन, व्यापार लगायतका क्षेत्रमा ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँहरूले नेपाल जापान संसदीय मैत्री समूह छिटै गठन हुने आशा राख्दै मैत्री समूह मार्फत संसदीय अनुभवहरूको आदनप्रसादन गने अपेक्षा राख्नुभयो ।