• १२ साउन २०८१, शनिबार

‘चुनौतीलाई सिकाइका रूपमा लिएको छु’

blog

अछाम जिल्लाका विभिन्न स्थानीय तहमध्ये ढकारी गाउँपालिका साबिकका पाँच वटा गाविस ढकारी, हिच्मा, वलाता, ढुङ्गाचाल्ना र घोडासैन मिलेर बनेको हो। यस गाउँपालिकाको नामकरणको सन्दर्भमा स्थानीय जानकारका अनुसार बजार क्षेत्र रहेको ढकारीमा धेरै समय पहिला ढाक्रे (भरिया) हरूको थकाइ मार्ने स्थान भएकाले साबिकको ढकारी गाविस हुँदै पालिकाको नाम पनि ढकारी रहेको हो। 

गत वर्ष भएको स्थानीय तह निर्वाचनमा यस पालिकाको अध्यक्षमा नेपाली कांग्रेस अछामका जिल्ला कार्यसमिति सचिव ४४ वर्षीय प्रकाशबहादुर साउद निर्वाचित हुनुभएको थियो। कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दल अछामका पूर्वअध्यक्षसमेत रहनुभएका साउदको पालिका अध्यक्षमा निर्वाचित भएको एक वर्ष बितेको छ। आठ वटा वडा रहेको यस पालिकामा ११ हजार ४१३ महिला र १० हजार ५८५ पुरुष गरी जम्मा २१ हजार ९९८ जनसङ्ख्या रहेको छ। यो पालिका धार्मिक पर्यटनका हिसाबले सम्भावना बोकेको पालिका हो। प्रस्तुत छ, अध्यक्ष साउदसँग ढकारी गाउँपालिकाको विकास निर्माण र चुनौतीका विषयमा गोरखापत्रका कमलबजार समाचारदाता रमेशबहादुर रावतले गर्नुभएको कुराकानी :  


अध्यक्षमा निर्वाचित भएपछिको एक वर्षको अवधि कस्तो रह्यो ?

अहिलेसम्म सन्तोषजनक नै छ। काम गर्दै जाँदा जनगुनासो आउँदै आउँदैन भन्ने हुँदैन । स्थानीय सरकारले सबै क्षेत्रमा काम गर्नुपर्ने भएकाले सामान्य गुनासो आउनु स्वाभाविक नै हो। म चैँ आफ्नो कामबाट सन्तुष्ट नै छु। 


एक वर्षको अवधिमा त्यस्तो केही उल्लेख्य काम गर्नुभयो र ?

सबै काम एकै वर्षमा गर्न सकिहालिन्छ भन्ने छैन। यो एक वर्षमा पालिका भित्रका सबै सडक ग्राभेल भएका छन्। सबै सडक १२ महिना चल्ने भएका छन्। विद्युतीकरणको कामलाई पनि गति दिएका छौँ। वैशाखसम्म पालिकामा विद्युत् जडानको काम पूरा हुने छ। शिक्षा क्षेत्र सुधारका कामहरू पनि अगाडि बढाइएको छ। आवासीय विद्यालय सञ्चालनका लागि काम गरिरहेका छौँ।  एउटा महत्वपूर्ण काम भनेको हाम्रो ठाउँमा गर्भवती महिलाको स्वास्थ्य कमजोर र नवजात शिशुको स्वास्थ्य पनि कमजोर देखिएकाले साउन महिनादेखि हरेक गर्भवती महिलालाई मासिक एक हजार पोषण भत्ता उपलब्ध गराउने निर्णय भएको छ। यसले महिला र शिशुको पोषणलाई सघाउने विश्वास छ। 


तपाईंको कार्यकालमा ढकारी गाउँपालिकामा के कस्तो विकास निर्माणको कार्य हुँदै छन् ?

मान्छेले विकास भनेको सडकको विकास मात्रै विकास हो, भन्ने बुझाइ राखेको देखिन्छ। मेरो बुझाइमा सडक बन्नु पनि विकास हो, तर सडक बन्नु मात्रै विकास हैन। मानिस ठुला ठुला भवनहरू निर्माण भयो भने विकास मान्छन्। सडक चौडा भयो भने विकास मान्छन्। हाम्रा सामुदायिक विद्यालयका भवनहरू ठुला ठुला छन्। बोर्डिङ स्कुलमा टिनका टहरा हुन्छन् तर पढाइको गुणस्तर बोर्डिङमा किन हुन्छ ? त्यसैले भौतिक संरचना निर्माण मात्र विकास हैन। मानवीय विकास सबैभन्दा ठुलो विकास हो जस्तो लाग्छ। चेतनामा विकास भयो भने गाउँ समृद्ध बन्छ भन्ने मेरो बुझाइ हो। मानिसको चेतना विकासका लागि रोजगारमुखी तालिम, स्वास्थ्य संस्था मजबुत र सबै नागरिक शिक्षित हुनु नै विकास हो भन्ने लाग्छ। 

मेरो कार्यकालमा विकास भनेको मैले माथि उल्लेख गरिसके नि सबै गर्भवती महिलाको स्वास्थ्य सबल भएको हुने छ। आगामी वर्षको वैशाखसम्म सबै घरमा विद्युत् जडान हुने छ। कक्षा ९ देखि १२ कक्षासम्म आवासीय विद्यालय सञ्चालन हुने छन्। कक्षा ९ देखि १२ कक्षासम्मका विद्यार्थीको सबै खर्च पालिकाले बेहोर्ने छ। ढकारीमा निर्माणाधीन चक्रपथ निर्माण पूरा हुने छ। सबै स्वास्थ्य संस्थाहरूबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुने छन्। 


तपाईंको पालिका क्षेत्रभित्र बेतनकर्णाली परियोजना चलिरहेको छ। परियोजना प्रभावितले जग्गाको मुआब्जा नपाएको गुनासो गरेका छन् नि ? 

परियोजना प्रभावित स्थानीयले मुआब्जा नपाएको गुनासो नगर्नुपर्ने हो। परियोजना क्षेत्रमा भएको जग्गा अहिले पनि जग्गाधनीले नै भोगचलन गरिरहेका छन्। परियोजनाको काममा सो जग्गा अहिले प्रयोग नै भएको छैन। भोली परियोजनाले प्रयोग गर्ने, आफ्नो संरचना बनाउने समयसम्म मुआब्जा नपाएमा हामीले त्यो बेला बोल्ने हो। अहिले नै आत्तिएर मुआब्जा पाएनौँ भन्नुहुँदैन तर परियोजनाले मुआब्जा वितरण गर्दै छ भन्ने बुझिएको छ। हुन लागेको विकासलाई यो वा त्यो बहानामा रोक्न हुँदैन। सबै जनाले सघाउनु पर्छ। 


पालिका प्रमुख भएर काम गर्दै जाँदा के कस्ता चुनौती आइपर्ने रहेछन् ? 

सङ्घीय र प्रदेश सरकार छन्। सरकारका आफ्नै विभिन्न क्षेत्र छन्। प्रधानमन्त्रीको मातहत विभिन्न मन्त्रालय छन्। मन्त्री छन्। उनीहरूले हरेकले फरक फरक क्षेत्रमा काम गरिरहेका छन्। प्रदेशमा पनि त्यस्तै छ तर स्थानीय तहमा भने गाउँपालिका अध्यक्ष यस्तो पद रहेछ। सबै क्षेत्रका समस्या एउटैले गर्नुपर्छ। एकै जनालाई त्यो कामको भार छ। यसो भएको हुनाले काम गर्नमा चुनौती र असहजता नहुने कुरै छैन। अर्को कुरा पहाडी भूभागका स्थानीय तहलाई झनै चुनौती छन्। पातलो बस्ती छ।

एउटा मात्र घरका लागि खानेपानी, विद्यालय, स्वास्थ्य सेवा पु-याउन पर्ने हुन्छ। स्रोत साधन निश्चित छ। सरकारले अनिवार्य शिक्षा, स्वास्थ्य र शुद्ध खानेपानी भनेको छ। पहाडमा सहज रूपमा पु-याउन गाह्रो छ। त्यस्तो अप्ठ्यारो कसैले बुझ्दैन। हामीले किन पाएनौँ भनेर आवाज मात्र उठ्छ। आवाज उठाउनु पनि स्वाभाविक नै हो तर हाम्रो बजेटको सीमाले त्यस्तो काम गर्न चुनौती छ तर पनि चुनौतीलाई सिकाइका रूपमा लिएर काम गरिरहेको छु।