• ३० वैशाख २०८२, मङ्गलबार

मिटर रिडर सङ्घर्ष समितिद्वारा प्राधिकरणमा धर्ना

blog

प्राधिकरणको प्रादेशिक कार्यालय बुटवलमा धर्नामा सहभागी गोटागन्ती मिटर रिडरहरु । तस्विर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, भदौ ५ गते । नेपाल विद्युत प्राधिकरण गोटागन्ती मिटर रिडर सङ्घर्ष समिति लुम्बिनीले प्राधिकरणको प्रादेशिक कार्यालय बुटवलमा धर्ना जारी राखेको छ । प्रादेशिक कार्यालयमा यसअघि बुझाएको ध्यानाकर्षणपत्र कार्यान्वयन नभएपछि सङ्घर्ष समितिले धर्ना जारी राखेको बताएको हो । 

लामो समयदेखि विद्युत प्राधिकरणको मिटर रिडिङ्गजस्तो जटिल र संवेदनशील काम न्यून ज्यालामा काम गर्दैआएका मिटर रिडरलाई विस्थापित गर्न ठेक्का सम्झौता गरिएकोमा आफूहरूको आपत्ति रहेको समितिका अध्यक्ष काशिराम पाण्डे (हरि) ले बताउनुभयो ।

प्राधिकरण र स्वर्गद्वारी सेक्युरिटी सर्भिस बुटवल ८ सँग साउन १२ गते ठेक्का सम्झौता भएको र ठेक्कामा लैजाँदा आफूहरूले पाउँदैआएको न्यूनतम ज्यालादर घटाउने काम हुने उल्लेख गर्नुभयो । गोटागन्ती मिटर रिडरहरूले पुरानो सहमति कायम गर्न माग गरेका छन् । 

तीन दिनदेखि आन्दोलनमा रहेको नेपाल विद्युत प्राधिकरण गोटागन्ती मिटर रिडर सङ्घर्ष समिति लुम्बिनीका उपाध्यक्ष दीपक सुबेदीले माग पूरा नहुँदासम्म धर्ना जारी राख्ने बताउनुभयो । 

यता, प्राधिकरणले भने आफूहरूलाई रिडरको मागबारे जानकारी रहेको र माथिल्लो तहमा आन्दोलनबारे जानकारी गराउने बताउनुभयो । मिटर रिडिङको काम भने जारी राख्न आग्रह गरे पनि आन्दोलनकारीले लिखित सहमति मागेका छन् । प्रादेशिक कार्यालय बुटवलले आफ्नो तहबाट समस्या समाधान गर्न नसक्ने  प्राधिकरणका सहायक निर्देशक रामप्रसाद पोखरेलले बताउनुभयो ।