• ३१ वैशाख २०८२, बुधबार

विश्वम्भरप्रसाद श्रेष्ठ : शाखा अधिकृतदेखि प्रधानन्यायाधीशसम्म

blog

न्यायालयको नेतृत्व ३१औँ प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ । तस्बिर : रासस

काठमाडौं, भदौ ५ गते । न्यायालयको नेतृत्व ३१औँ प्रधानन्यायाधीशका रूपमा आजदेखि विश्वम्भरप्रसाद श्रेष्ठको काँधमा आएको छ । सोमबार प्रधानन्यायाधीशमा नियुक्ति हुनुभएका श्रेष्ठले आज (मङ्गलबार) राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएसँगै उहाँको औपचारिक जिम्मेवारी सुरु भएको हो ।

संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशका लागि श्रेष्ठलाई सोमबार नै सर्वसम्मतिले अनुमोदन गरेको थियो । संवैधानिक परिषद्को बैठकले नाम सिफारिस गर्ने र संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था  छ ।

हरिकृष्ण कार्कीले उमेर हदका कारण प्रधानन्यायाधीश पदबाट गत साउन २० गते अवकाश  लिनुभएको थियो । त्यसपछि वरिष्ठतम न्यायाधीशका हैसियतमा श्रेष्ठले न्यायपालिकाको नेतृत्व गर्ने जिम्मेवारी पाउनुभएको हो ।

संवैधानिक परिषद्को गत साउन १८ गते बसेको बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि श्रेष्ठको नाम सिफारिस गरेको थियो ।  नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठ न्याय सेवाकै कर्मचारीबाट जिल्ला न्यायाधीश हुँदै सर्वोच्च अदालत आइपुग्नु भएको हो । न्यायको क्षेत्रमा उहाँको लामो अनुभव छ ।

संसदीय सुनुवाइका क्रममा उहाँले आफूले छिटो, सहज र सुलभ न्यायका लागि मुद्दाको फछर्यौटमा योजना बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । “छिटो न्याय दिने उद्देश्यले एक वर्षदेखि शुक्रबार पनि थप दुई घण्टा निःशुल्क काम गरिरहेका छौँ, यो बीचमा मुद्दा फर्छ्यौटको राम्रो छ”, उहाँले भन्नुभयो ।

सुनुवाइका क्रममा श्रेष्ठले समितिसमक्ष १८ पृष्ठ लामो कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । कार्ययोजनामा न्यायपालिकामा हुनसक्ने विकृति, विसङ्गति, अनियमितता लगायतका अवाञ्छित गतिविधिको नियन्त्रणसम्बन्धी कार्यलाई उच्च प्राथमिकतामा राखी कार्यान्वयन गर्ने, ढिलासुस्ती तथा भ्रष्टाचारजन्य गतिविधिको नियन्त्रण गर्न सूक्ष्म अनुगमनकर्ता खटाइ प्रतिवेदन लिने र कारबाही गर्ने प्रणालीको विकास गर्नेलगायतका योजना प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै, न्यायाधीश, कर्मचारी आचारसंहिताको कार्यान्वयन एवं नियुक्ति, सरुवा र बढुवालगायत वृत्ति विकासमा कार्य सम्पादनस्तर, सदाचार र सेवाग्राहीसँगको व्यवहारलाई मुख्य आधार बनाइने, न्यायाधीशको आचरण, निष्ठालगायतका अनुशासनसम्बन्धी विषयलाई न्यायाधीशको नियुक्ति, सरुवा तथा पुरस्कार दण्डसँग आबद्ध गर्दै लैजानेलगायतका कार्ययोजना पेस गर्नुभएको थियो ।

वि.सं २०१६ असोज २० मा डोटी जिल्लामा जन्मिनुभएका प्रधानन्यायाधीश श्रेष्ठको कैलालीको धनगढीमा स्थायी बसोबास रहेकोमा पछिल्लो समय काठमाडौँको कुलेश्वरमा बस्दै आउनुभएको छ ।

कानुनमा स्नातक र मानवशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएका उहाँ वि.सं २०३८ चैत २७ गते न्याय सेवामा प्रवेश गर्नुभएको थियो । कानुन तथा न्याय मन्त्रालयमा शाखा अधिकृतका रूपमा अस्थायी नियुक्ति लिनुभएका उहाँ वि.सं २०४१ पुस ११ गतेदेखि शाखा अधिकृतका रूपमा स्थायी नियुक्ति लिनुभएको थियो ।

वि.सं २०४५ जेठ ३ गतेबाट उहाँले न्यायाधीशका रूपमा दार्चुला जिल्ला अदालतमा काम प्रारम्भ गर्नुभएको थियो । त्यसपछि डडेलधुरा, उदयपुर, मकवानपुर, झापा, बाँके र काठमाडौँमा जिल्ला न्यायाधीशका रूपमा काम गर्नुभएको लामो अनुभव छ । उहाँले तत्कालीन पुनरावेदन अदालतको न्यायाधीशका रूपमा वि.सं २०६२ चैत १० गतेदेखि  काम सुरु गर्नुभएको थियो । तत्कालीन पुनरावेदन अदालतको न्यायाधीशका रूपमा उहाँले बागलुङ इजलासमा काम गर्नुभयो । प्रधानन्यायाधीश श्रेष्ठले पुनरावेदन अदालत पाटन र पोखरामा पनि न्यायाधीशका रूपमा काम गर्नुभयो ।

श्रेष्ठ वि.सं २०७० साउन ८ गते पुनरावेदन अदालत पोखराको निमित्त मुख्य न्यायाधीश हुनुभएको थियो भने २०७१ भदौ १० गतेदेखि पुनरावेदन अदालत हेटौँडाको मुख्य न्यायाधीशका रूपमा काम गर्नुभयो । उहाँले थाइल्याण्ड, दक्षिण कोरिया, पाकिस्तान, फिलिपिन्स र जापानको भ्रमण गर्नुभएको छ । उहाँले सन् २००४ मा गोरखा दक्षिण बाहु तेस्रो र सन् १९९१ मा गोरखा दक्षिण बाहु चौथो प्राप्त गर्नुभएको थियो ।

वि.सं २०७३ साउन १७ गतेदेखि सर्वोच्च अदालतको न्यायाधीशका रूपमा काम गर्न थाल्नुभएका उहाँले सर्वोच्च अदालतमा वरिष्ठतम न्यायाधीशका रूपमा काम गरिरहनुभएको थियो ।

प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको उमेर हद ६५ वर्ष छ ।

उहाँ वि.सं २०८१ असोज १९ पछि अनिवार्य अवकाशमा जानुहुनेछ । प्रधानन्यायाधीश श्रेष्ठले न्यायालयको नेतृत्व गरिरहँदा उहाँसमक्ष मुद्दा छिटो फर्छ्यौट, पूर्व प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको प्रतिवेदन कार्यान्वयन, विचौलियको अन्त्य, आम न्यायका उपभोक्तालाई न्यायालयप्रतिको विश्वास जगाउनुपर्नेलगायत चुनौती छ । रासस