• १२ पुस २०८१, शुक्रबार

सदनको अवरोध हटाउने जिम्मेवारी सभामुख र अध्यक्षको : सदस्य गौतम

blog

राष्ट्रिय सभा सदस्य वामदेव गौतम ।

काठमाडौं, भदौ ५ गते । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संसद्को अवरोध हटाउन सभामुख र राष्ट्रिय सभा अध्यक्षले भूमिका खेल्न नसकेको बताउनुभएको छ । मङ्गलबारको राष्ट्रिय सभा बैठकमा बोल्नुहुँदै सदस्य गौतमले संसदमा भइरहेको अवरोध हटाउनका लागि सभामुख र राष्ट्रिय सभा अध्यक्षले भूमिका खेल्न नसकेको बताउनुभएको हो ।

सदस्य गौतमले संसदमा भइरहेको अवरोध हटाउने जिम्मेवारी सम्बन्धित सदनको अध्यक्षको हुने बताउनुभयो । संसद्को अवरोध हटाउन सरकार सहयोगी हुने भए पनि सरकारले गरेन भन्ने गरिएको उहाँको भनाइ छ ।

सदस्य गौतमले कसैलाई मन लाग्दैमा जस्तोसुकै बोल्ने गरिएको र संसद् अवरोध गर्ने गरिएको भन्दै संविधान निर्माण गर्ने र नीति, कार्यक्रम पास गर्ने थलो यस्तै हुन्छ ? भनेर प्रश्न गर्नुभयो । उहाँले जनताको बहुदलीय जनवादलाई आफ्नो मार्गदर्शकिय सिद्धान्त मान्नेहरूले संसद् अवरोध गरिरहेको उल्लेख गर्नुहुँदै जनताको बहुदलीय जनवादको सिद्धान्तले यही भन्छ भनी प्रश्न गर्नुभयो ।

‘‘अवरोध भइरहेको छ संसद् तर त्यसको मुख्य जिम्मेवार त्यो सदनको अध्यक्षको हुन्छ । राष्ट्रिय सभामा राष्ट्रिय सभा अध्यक्षको हुन्छ । प्रतिनिधि सभामा सभामुखको हुन्छ । मैले त्यो अवरोध हटाउनको निम्ति भूमिका खेलेको जस्तो महसुस गर्न सकिन । यद्यपि मैले थाहा नपाएर पनि त्यो हुनसक्छ । यद्यपि सरकारले गरेन, सरकारले गरेन भनेर भन्ने मैले सुन्छु । सरकार सहयोगी हुन सक्छ । यहाँको निम्ति, सदनको निम्ति अध्यक्षभन्दा माथि अर्को छैन । प्रतिनिधि सभाको निम्ति सभामुख हो । तर राष्ट्रिय सभाको निम्ति राष्ट्रिय सभाको अध्यक्ष हो ।,’’ सदस्य गौतमले भन्नुभयो, ‘‘हामी कस्तो संस्कार, संस्कृतिसहितको सदन हाम्रो पुस्ताहरूलाई दिन चाहन्छौँ ? समाजवाद पनि यही संसदबाट निर्माण गर्ने भनेर हामीले सङ्कल्प गरेका छौँ र जनताको बहुदलीय जनवादलाई मान्नेहरूले सङ्कल्प गरेका छन् । के यस्तै हुन्छ संविधान निर्माण गर्ने थलो ? यस्तै हुन्छ नीति, कार्यक्रम पास गर्ने थलो ? जे मन लाग्यो त्यही गरेको छ । जसलाई जे मन लागेको छ त्यही बोलेको छ । नियम चाहिँदैन । संविधान चाहिँदैन । केही पनि चाहिँदैन । जस्तोसुकै बोलेको छ, र संसद् अवरोध गरेको छ । कसैलाई मन लाग्यो संसद् अवरोध । जनताको बहुदलीय जनवादलाई आफ्नो मार्गदर्शकिय सिद्धान्त मानेर आउनेहरूले नै आज संसद् अवरोध गरिराखेको छ । के जनताको बहुदलीय जनवादको सिद्धान्तले भन्छ ?’’

सदस्य गौतमले शून्य समय र विशेष समयमा बोल्ने कुरालाई बैठकको कार्यसूचीमा उल्लेख नगर्ने गरेकोप्रति असन्तुष्टि जनाउँदै यसलाई पनि बैठकको कार्यसूचीमा उल्लेख गर्नुपर्ने बताउनुभयो ।