काठमाडौँ, भदौ ४ गते । थाइल्याण्ड र म्यानमारमा रहेका नेपाली भाषीहरूको प्रतिनिधि मण्डल थाइ नेपाल एसोसिएसनले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेट गरेका छन् ।
रक्षा मन्त्रालयमा सोमबार भएको भेटमा थाइ नेपाल एसोसिएसनका पदाधिकारीले उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्का समक्ष आफ्ना पुर्खा पनि नेपाली भएको र धेरै वर्षदेखि विदेशमा रही सोही देशको नागरिकका रूपमा काम गरिरहेको धारणा राख्नुभएको थियो ।
साथै उहाँहरूले आफूहरू नेपालीकै सन्तान भएको भन्दै पहिचान खुल्ने व्यवस्था मिलाइदिन आग्रह गर्नुभयो । भेटमा थाइ नेपाल एसोसिएसनका प्रतिनिधिहरूले आफूहरूलाई नेपाल आवतजावत गर्न पाउने तथा गैर आवासीय नेपालीको परिचयपत्र उपलब्ध गराउन आग्रह पनि गर्नुभयो ।
उपप्रधानमन्त्री खड्काले यस विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै संविधानको परिधिभित्र रहेर यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगपनि छलफल गर्ने आश्वासन दिनुभयो ।