• ८ मंसिर २०८१, शनिबार

झकिझकाउ झिल्टुङ

blog

सिमसिम... सिमसिम... सिमसिम...।  परिरह्यो पानी । एकाबिहानैदेखि पानी दर्किन थालेपछि मन कस्तो कस्तो भो । बिरसिलो–ओसिलो । हो, एकदमै कस्तो खिन्न–खिन्न, नमिठो । अँध्यारो भयो छाती । 

जानु छ पहाडतिर । पानी झन्–झन् चम्केर दर्केपछि लम्केका खुट्टा थच्चेलान् झैँ भए । पखेटा हालेर उडुँ–उडुँ भएको मन थन्किन पो खोज्यो ।

लौ, पानीले बित्यास पार्ने भो । के पो गर्ने होला ? गड्याम्म ! बिजुली पनि दह्रैसँगै चम्कियो । बिहानको ५ बजेदेखि सिमसिमाएको झरी अब त उर्ली–उर्ली दर्किन थाल्यो । अरगज्ज परेर बसेको छु म– एउटा कुनामा टोलाई–टोलाई । खाटको अर्को कुनोमा मोजा, रुमाल, चस्मा र डायरी छन् ।

“आज तिमेरलाई बोक्न जुर्ला जस्तो छैन !” खाटमा थपक्क बसेका ती सरसामान हेर्दै बोल्छु म ।

फेरि झ्याल खोल्छु, हात थाप्छु– अकासे पानीले हात धुन्छु । अकाशको मल्याकमिलिक उस्तै छ बेतोडले चम्किरहेको । झ्याल लाउँछु । अहिले त हावा पनि मिसिए छ, बाक्लिएको पानीमा ।“लु केटा आज जवाइ हुँदैन !” हावापानी झम्की–झम्की पर्न थाल्यो ।

“मच्यो–मच्यो, थच्चियो भयो केटा !” आफैँलाई लोप्पा खुवाएँ ।

०००

असारको पहिलो साता, २०८० ।

काठमाडौँ छोडेर धादिङ लाग्दा पनि पानी परिरहेकै थियो । मेरा जुत्ता, कुइनो, बाहुला सबै ल्याफल्याफी भिजेकै थिए ।

नागढुङ्गाको नागबेली ओरालीमा भुइँ कुइरोले छोप्ने र उघारो पार्ने गरिरह्यो । पानी उस्ताको उस्तै छ । मलाई सर्लक्क टिपेर बेगिएको मोटर नौबिसेमा आएर रोकियो घ्याच्च ।

अनि पो मैले आफूसँग आएका साथीहरूको अनुहार मज्जाले पढेँ । मदन नेपाल, बद्री उप्रेती, सुरेश वैद्य र विनोद नेपाल मेरा वरिपरि थिए ।

पानीमाथि पानी । थोपामाथि थोपा । थोप्लालाई जित्ने फिँज उठिरहेका बाटुला थोप्ला । झरी मात्र भनेर पुग्दैन कि आफ्नो यो असारे पानीलाई । किलिक–किलिक फोटो खिचिरहेका बद्री घरी बलेँसीबाट झरेका मुसलधारेतिर फर्किन्छन्, घरी हामीतिर । बेला–बेलामा अकाश मिलिक्क, बेला–बखत क्यामेराको झिलिक्क ।

तातो चिया खाँदा मन चैँ चिसचिसै छ ।

“कतै पहिरो गयो कि ? कतै ढुङ्गा खसेर बाटो छेकियो कि ? कतै भेल उर्लिएर बाटो बगायो कि ?” मनमा चिसो पस्न छोडेन । ओठ डामेको पनि ख्याल गरिन छु– स्टिलको गिलासले । चिया खाइए जस्तो मात्रै भयो नि ! “बद्रीजी, अरू एक कप कडा चिया खाने मन थियो ।” “तपाईं फोटो खिच्नमै व्यस्त । हत्तेरिका, त्यसो नगर्नु न,” गुनासो नै गरेँ ।

०००

“लौ न, झिल्टुङ जाऊँ,” मैले भनेँ विनोदजीलाई ।

“म नेपालको नालीबेली खोज्न त्यता जानु छ,” उनले भने ।

“मलाई देवकोटाको केही मेलोमेसो बुझ्नु छ,” आफ्नो रहर पोखेँ ।

झन्डै दुई हप्ता अगाडि बरालसिङ हुँदै गर्दा विनोदजी र मेरो कुरा भएथे । झिल्टुङ पुग्ने योजना धेरै खेप भए पनि मौका मिलेकै थिएन कत्ति नि । “ल, म मौका मिलाउँछु । जाउँला, पक्का–पक्की भो ।” विनोदजी र म त्यसपछि छुटेका थियौँ । अनि हिजै बेलुकी भनेथे– “७ बजे तल मूलबाटोमा झर्नू । तपाईंलाई टिपेर हामी हुइँकिन्छौँ ।”

उनले भनेकै समयमा राजमार्गमा पुग्दा घरछेउबाट टिपे, टपक्कै । अनि गल्छी पुगेथ्यौँ । “कलङ्की कट्यौँ है । चाँडो झर्नु ।” उनले फोनमा खेदेपछि म पनि चस्मा, मोजा, रुमाल र डायरी जिप्टाएर हुइँकिएको थिएँ । बाटैभरि झरी उस्तै थियो । कन्चट, कुइनेटो, किलकिलेमा पानीको धारो चर्कै थियो । अनि मोटरभित्र पसेको थिएँ । त्यसपछि साथी भयो धमिलो त्रिशूली खोला । उर्ली–उर्ली बगेको खोलाछेउको बाटोमा तुफानी दौड भइरह्यो । त्रिशूली र अकासे पानीको ठुङ हनाइ कत्ति नि घटेन । सुरेश र बद्रीको घोचपेच । मदन र विनोदको वंश केलाई–कुलाई । म परेँ तिनको कटुवाल । सुन्ने र नियाँनिसाफ छुट्याउने ।

०००

बाटो चुहिएर उत्तर लागेपछि अघि देखेभन्दा हरियोपरियो झन् थपियो । खेत, रुखबिरुवा, पाखोबारी सबै हरियालीले सिँगारिएथे ।

महेश खोला भेटिएपछि बाटो तेर्छो भयो । फेरि केही दगुरेलगत्तै कोल्पु खोला भेटियो । त्यसउता रहेछ नुवाकोट । हामी गइरहेछौँ धादिङ नाघेर । “यो कोल्पु खोला,” मदनले चिनाए । काठमाडौँबाट कोड्कु नाउँ लिएर हिँडे पनि यहाँ आइपुग्दा कोल्पु भएछ यो खोला ।

उकालो भएर हामी ठुलो समथर, उज्यालो, मलिलो टारबस्तीमा पुग्यौँ । यही थियो– झिल्टुङ । मोटर एकातिर थन्काएर हामी छेवैको भातभान्सा पाकेको ठामथलोतिर लाग्यौँ । फेरि चिया सुरुप्प पा-यौँ ।

“अब त मन पनि तातो होला,” बद्रीले सुनाए ।

“मौसम सुध्रेपछि सबै तातो हुन्छ,” मैले थपेँ ।

०००

विनोदले रहर पोखे– यता कतै नेपाल थरको पूजा गर्ने थान छ भन्ने सुनेथेँ । मदनले अघि लाएपछि हामी त्रिशूली खोलातिर झ¥यौँ । बर्खा, सिमसिमे पानी, जुका र भ्यात्लुङको बिगबिगी, सर्पको त्रास त्यत्तिकै । बाटो देखाउन गएका केदार नेपालले बखाने– नेपाल महात्म्य ।

ओरालो र जङ्गलको सेपिलो चेप भएर गढतिर पुगियो । नेपालहरूको देवीथान रहेछ यो । बर्खे त्रिशूलीको गर्जन सुनेर मन भयो अर्कै–अर्कै । उर्ली–उर्ली बगेको त्रिशूलीसँग सबै खाले शक्ति थियो । त्यतिखेर हाम्रा आँखासँग त्यो नदीको नाच, भूमरी, उत्तुङ्ग छाल र अथाह गुजुल्टा बुझ्ने ल्याकत थिएन कत्ति पनि । एउटै त्रिशूलीका हजार ज्ञान, कला, सङ्गीत र रङको पूmर्तिफार्ती थियो । हामी अवोध तुजुगविहीन उभिइरहेथ्यौँ– बगरका ढुङ्गा गन्दै ।

०००

गएकै बाटो फर्किंदा पनि पानी सिमसिमाउन छोडेन ।

भात थपी–थपी खायौँ । “यो सिमी कहाँको ? दाल नि ? गोरख नि ? घ्यू चैँ गाउँकै होला नि ?” सुरेश सोध्दै थिए ।

मदन र बद्री जोगाइरहेथे– “हो, यतैको–यतैको ।”

मैले डल्ले खुर्सानी करक्क टोकेर भनेँ– “यो अकबरे होइन । यसको स्वाद हाम्रो पहाडको जस्तो छैन । एक थोपो छैन ।”

“सबैतिर छासमिसे छ । रैथाने र विकासेको घोलघाल भइसक्यो । काँबाट पाउनु त्यो तिख्खर स्वाद त,” विनोदले कुरो मिलाए ।

०००

महाकवि देवकोटाले झिल्टुङ बयान गरेका छन्– कुञ्जिनी र पहाडी जीवनमा । यै उनको वृत्तान्तले गरेको रसमा तानिएर म यो भेग डुल्न खोजेको हुँ । त्यसो त कोल्पु बिर्ता रहेछ– नेपालहरूको । कुनै बेलाको झिल्टुङ पञ्चायत, दुई पिपल गाउँ विकास समिति भएर अहिले थन्केको छ– बेलकोटगढी नगरपालिकामा ।

नाउँको फेरफार जतिसुकै भए पनि झिल्टुङले दिने स्वाद, छाप र प्रभाव आजको झालेमाले उच्चारणले कहाँ दिन सक्छ र ? झिल्टुङसँग जे जति इतिहास, गौरव र आनन्दी छ– आज तोकिएको नाउँले त्यति उम्दा रस दिन नसक्दो हो ।

कोल्पुटारमै अघि झिल्टुङ कथा निकै सुनियो ।

“कोटमा दसैँको जमरा राख्दा भव्य पूजा गरिन्छ । त्यो बेला कोटघरमा बजाइने बाजागाजा पारिको बुधसिंह गाउँमा झ्याइँटुङ... झ्याइँटुङ... सुनिन्थ्यो । बुधसिंहकाले झ्याइँटुङ बज्ने गाउँ भन्दाभन्दै झिल्टुङ भएको हो,” केदारले भनेथे । “झिल्केश्वर महादेव छन् खड्का छापमा । तिनै झिल्केश्वरलाई सम्मान गर्दै बोलिँदा–भनिँदा पछि झिल्टुङ भनिन थालियो । अनि यो ठाउँको नामै झिल्टुङ हुन गयो,” नारायण नेपालले अरू थपे ।

“ऊ बेला अलिक जालझेल गरेर यहाँका ठुलाबडाबाट गाउँलेलाई सताइन्थ्यो । पर–परकाले त्यहाँ न्यायनिसाफ गर्दा बढी झेल गर्ने भएकाले ‘झेली टुङ’ भन्दाभन्दै झिल्टुङ पनि भएको हो भन्छन् पाकाहरू,” गोकर्ण नेपालले सुनाएथे ।तीन चक्के कुदेको कुदेकै छ । गाउँ–गाउँ भएर गइरहेका छौँ हामी ।

०००

मकै कतै सुत्लाएका, कतै छिप्पिएका र कतै धानचमरा हालेका सङ्केत देखिए । निकै माथि पुगेपछि बदामका चार÷पाँच पाते लहलहाएका गरा नाघ्न लाग्दा तीन चक्के रोकियो ।

त्रिशूलीको ‘कान्छी बदाम’ भनेर कहलिएको भए पनि अचेल त्यसको रोपराप गर्ने चलन कम भएछ । हामी दिउरेनी, अँधेरी खोला, तीन सल्ले भएर लामाचौर पुगे छौंँ । विनोदजी र म एकै टेम्पोमा परे छौँ । उनी हरेक घर नेपालका होलान् भनी अड्कल काट्थे ।

“यो घरमा देवकोटा बसेथे कि ?” म भन्थेँ ।

माझगाउँ नाघेपछि डबली पुगियो । भन्ज्याङ जस्तो यो बस्तीमा नेवारहरू बाक्लै थिए । डबलीमा उक्लेर वरपर हेर्दा त्रिशूली नदीको अद्भूत सुन्दरताले छाती उफ्रियो बुद्रुकबुद्रुक । त्यहीँबाट बुधसिंह, देवीथान, महादेवफाँट, कोतघर, तारुका, खड्काभन्ज्याङ, बाङ्गेबेँसी बसिरह्यो आँखामा । डबलीमा लाखे नाच र गाईजात्रा उल्कैको हुने गोकर्णले सुनाएथे ।

ओहो ! त्रिशूली नदीले बनाएका चित्र–विचित्र कति हेर्नु ? बस्तीहरू, वनपाखा र खोँचसँगै तरेली–तरेली खेतको सुन्दरताले आँखा रोकिइरहे टक्क–टक्क । उत्तर, पूर्व र पश्चिमतिरका अनेकौँ गाउँघरका झुरुप्प–झुरुप्प सौन्दर्यसँगै पसिना लहलहाएका फाँट र पखेरामा थामिन्छन् ढुकढुकीहरू । घिमिरेथोकपछि हामी पुगेका थियौँ– नेपालथोक । हामी करेसा छेवैको उकालो गोरेटो भएर माथि बस्ती पुग्यौँ । त्यहाँ नेपाल थरका समुदायका निम्ति फूलबारी, पानीट्याङ्की, पुस्तकालयसहितको ठडिँदै थियो एउटा भव्य भवन । काम गर्ने जोशिला युवा थिए । अरनखटन गर्ने पाकाको हुल नि त्यत्तिकै ।

त्यहीँनेर भेटिएका नारायण नेपालले झिल्टुङका धेरै कथा सुनाए ।

“विव्रmम संवत् १८६० तिर काजी बहादुर भण्डारीले यो बिर्ता पाएथे झिल्टुङ । उनी धनकुटा गौँडाका पहिलो प्रशासक थिए । १८७१–७२ को अङ्ग्रेजसँगको युद्धमा उनले मोरङमा मोर्चा सम्हालेका थिए ।”

नारायण बोलिरहेका थिए– “१९०३ को कोतपर्वमा उनका छोरा बखत भण्डारी मारिए । २०१७ मा उनैका सन्तान ललितजङ्ग भण्डारी झिल्टुङ पञ्चायतका पहिलो प्रधानपञ्च भए । त्यो कोतको मौलो अहिलेसम्म सम्हाल्दै छन् विनोदजङ्ग भण्डारीले ।”

मैले नेपालथोकबाट सरर्र चारैतिर हेरेँ । धानका रोपो लहलहाएका हरिया गराले झकिझकाउ झिल्टुङ औधी मोहक देखिन्थ्यो ।

४४–४५ घर नेपालका र अधिकारी, दुलाल गरी अन्य थरको बसोबास भएको सुनाए । कोल्पुटारभित्रै झिल्टुङ पर्ने भएकाले कतै झिल्टुङ त, कतै कोल्पुटारको नाउँ अघिपछि भएको मैले ठानेँ । मेरा छेवैमा उभिएका द्वारिका नेपालले तीनघरे, टोड्के, डुम्रेचौर, कलेटार चिनाए । त्यहाँ रहेका टाँडे घर, माटे घर र दुई पाखे घरले पहाडी उज्यालो र चमकलाई अझै बचाएको देखिरहेथेँ म । “लौ है हेर्न र घुम्न अरू नि छ,” मदन नेपाल कड्किए ।

०००

“झरौँ–झरौँ,” सबै यसै भन्दै झ-यौँ ।

अघि माधव नेपालको घर–सियाँलमा उभिएर मैले पानी खाएँ । एउटा काँक्रो चिरा खाएर ओरालो झरेँ ।

बाटो पश्चिम झिल्टुङ नेपाल समाजको पाटी टाँगिएको लामो पुरानो घर देखियो । त्यसमै अडेसिएर हामीले फोटो खिच्यौँ पालैसान्ति ।

नेपाल थरका समुदायले मन्दिर बनाएको र कुलदेवताको पूजा गर्ने मुख्य थलो नि यहीँ रहेछ । सबै कुरा थाहा पाएरै विनोद नेपालको अनुहार उज्यालिएको म पाइरहेथेँ ।

०००

फेरि डबलीतिर हामी फक्र्यौं । अब खड्काछाप पुग्नु थियो ।

द्वारिकाले भनेको सम्झिरहेको थिएँ– “पहिला खुबै दुःख थियो पानीको । यहाँ सबै रातो छ– माटो नि, पानी नि । हामी त खोलाकै पानी खान्थ्यौँ । भातै रातो हुन्थ्यो ।”

कोल्पुमा गहत, बदाम, मकै, मास उल्कै उत्पादन हुने रै’छ तर मधेशबाट ल्याएको बदामलाई रातो माटो दलेर त्रिशूलीको ‘कान्छी बदाम’ भनेर बेच्न थालेपछि यहाँको रैथाने बदाम ओझेलिएको नारायणले भनेको म सम्झिरहेथेँ । मदनले अघि भनेथे– “बयर घारीले छपक्कै थियो झिल्टुङ । अचेल त त्यो घारी काँ पुग्यो काँ ?”

जङ्गलमा काला पुतली र राता कमिलाले बनाएका गुँड हेर्दै हामी हुइँकिरहेथ्यौँ ।

मगर र कुँवरको समेत निकै बसोबास रहेछ झिल्टुङमा । पुरकोट आएपछि तीन चक्केहरू उकालिन गाह्रो माने । गोकर्णले बाटोका ढुङ्गा मिलाएर उकालोमा ठेले, हिलो माटो सम्याए– अनि तीन चक्के नकुदेर धरै पाएनन् ।

“लामिछाने नि यता बेस्सरी छन् है,” द्वारिकाले थपेथे ।

केरा र मकै खुबै हुने रैछ कोल्पुटारमा । गुह्येपिपलबाट हामी खड्काछापतिर लाग्दा पानी सिमसिमाउने र घाम चर्किने दुवै कुरा भयो । ‘कोटथोक’ निकै सुन्दर गाउँ थियो । डाँडाको लमतन्ने टारमा बसेको बस्तीका घरलाई मकैबारीले घ्वाप्प छोपेका थिए । जताततै पानीका भँगाला दगुरेका लाग्थे ।

नारायणले भने– “२०७२ सालको भुइँचालोले पानीका मुहान सुके । गाउँले पानी खोज्दै तल बेँसी सरे । अहिले त्यहीँ छङछङ पानी आएको छ तर घर रित्ता छन् । मान्छेलाई के गरी आफ्ना आँगन टेकाउने होला ? घरका ताल्चा फोर्ने के गरी होला ?” ढुङ्गा छापिएको सरर्र बाटो भएर हामी गयौँ । अब महाकवि देवकोटा वास बसेको घरमा पुग्नु छ ।

हामी गुडिरहेको बाटोको नाउँ थियो– महाकवि देवकोटा मार्ग । फूलको थुँगा भएर उज्यालिएथ्यो हृदय । शरीरमा एउटा नौलो हर्ष कुदिरहेथ्यो । अहिले म गइरहेको महाकवि मार्गमा कुनै बेला महाकवि आफैँ हिँडेका थिए । समयसँग कति ठुलो इमान र त्याग हुँदो रहेछ । अहिले श्रद्धाका पाइला र त्यो बेला सत्यको शरीर हिँडेको थियो– यो गोरेटोमा ।