• १३ साउन २०८१, आइतबार

केरा खेतीमा कृषकको बढ्दो आकर्षण

blog

कृषकले गरेको केरा खेती । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा

गुल्मी, साउन ३२ गते । गुल्मीमा खेरा खेती कृषकको आम्दानीको मुख्य स्रोत बनेको छ । थोरै परिश्रमबाट धेरै आम्दानी लिन सकिने भएपछि यहाँका कृषकहरूको केरा खेतीमा आकर्षण बढेको हो ।

जिल्लाको मालिका गाउँपालिका–६, अर्जैकी पितमकुमारी अर्यालले चार रोपनी जग्गामा व्यावसायिक केरा खेती सुरु गर्नुभएको छ । उमेरले ६१ वर्ष हुनुभएकी अर्यालको जाँगर भने कुनै युवाको भन्दा कम छैन । २०६४ देखि ४/५ बोटबाट केरा खेती सुरु गर्नुभएको थियो ।

उहाँले केरा खेतीसँगै व्यावसायिक रूपमा तरकारी खेतीबाट छोराछोरीको पढाई तथा घर खर्च चलाउँदै आउनुभएको छ । केरामा गबारो र विभिन्न रोगले समस्या दिएको उहाँले सुनाउनुभयो । 

विषादीबिना गाउँमै उत्पादन भएको केराले राम्रो बजार पाएको कृषकको भनाइ छ । लोकल केरा प्रतिगोटा २० रुपियाँमा गाउँमै बिक्री हुँदैआएको छ । अर्यालले जस्तै सोही वडाका धनिश्वर विष्टले पनि वर्षौँदेखि केरा तथा तरकारी खेती गर्दै आउनुभएको छ । उहाँले तरकारी तथा फलफूलबाट घर खर्च र परिवारको दैनिकी धान्दै आउनुभएको छ ।

मालिका गाउँपालिकाका केही वडामा मात्रै केरा खेती हुन्छ । यो जिल्लाभरमा कम केरा उत्पादन हुने दोस्रो स्थानीय तहमा पर्छ । कृषकमा प्राविधिक ज्ञान, तालिम, केरा खेतीबारे ज्ञानको कमीले विभिन्न रोग र किराले आक्रमण गर्ने सरसफाइको अभावमा बोट मर्ने समस्या रहेको कृषि प्राविधिक प्यारीलाल फडेराको भनाइ छ ।

वडा कार्यालयले कृषकको समस्या पहिचान गरी समाधान गर्न वडामा कृषि प्राविधिक समेत राखेको छ । व्यावसायिक कृषि तथा फलफूल खेती गर्ने कृषकलाई प्राविधिकमार्फत आफ्ना समस्या राख्न र समाधान गर्न उचित कार्यक्रम गरिने वडाध्यक्ष दीपक भण्डारीले बताउनुभयो ।