• १३ साउन २०८१, आइतबार

युवाको पलायनले बाझिँदै खेतीयोग्य जमिन

blog

सिदिङ्वा गाउँपालिका –४ साब्लाखुमा बाँझो रहेको खेतीयोग्य जमिन । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, साउन ३२ गते । हिमाली जिल्ला ताप्लेजुङमा खेतीयोग्य जमिन बाझिँदै गएको छ । पछिल्लो समय रोजगारको खोजीमा युवा विदेश लाग्न थालेपछि जनशक्ति अभावमा खेतीयोग्य जमिन बाझिँदै गएको हो । 

रोजगारी तथा अन्य सिलसिलामा पङ्क्ति गाउँ छाड्नेक्रम बढेसँगै ग्रामीण क्षेत्रमा रहेको खेतीयोग्य जमिन बाँझो हुन थालेको छ । पछिल्लो समय धेरै युवाहरू बिदेसिएका छन् भने केही जागिर र अन्य पेसा अङ्गाल्नेक्रममा गाउँबाट पलायन हुँदा गाउँमा जनशक्ति अभाव भएर खेतीयोग्य जमिन बाझिँदै गएको बताइन्छ ।

आफ्नो खेतबारीमा खेती गरेर जीविकोपार्जन गर्दैआएका ग्रामीण क्षेत्रका स्थानीयले अहिले जमिन बाँझै छाड्न थालेका छन् । गाउँघरमा काम गर्ने जनशक्ति नभएपछि जमिन बाँझै छाड्नुपरेको सिदिङ्वा गाउँपालिका –४ साब्लाखुका स्थानीय अमरबहादुर लिम्बूले बताउनुभयो । 

साब्लाखुकै अर्का सञ्जय लिम्बूले पनि जनशक्ति अभावमा गाउँमा धेरै खेतीयोग्य जमिन बाझिन थालेको बताउनुभयो । युवा जनशक्ति पलायन हुने र गाउँमा भएकाले पनि खेतीपातीभन्दा पनि अन्य पेसा गरेर सुविधाभोग तथा सहज जीवनशैली अपनाउनेतर्फ लागेका कारण खेतीयोग्य जमिन बाँझो हुँदैगएको लिम्बूको भनाइ छ । 

गाउँका युवाहरू विदेश जाने र सहर केन्द्रित हुने गरेकाले ग्रामीण भेगमा जनशक्तिको अभाव खड्किदा जमिन बाझिँदै गएको स्थानीयको भनाइ छ । लिम्बुका अनुसार ग्रामीण भेगमा खेतीयोग्य जमिनसँगै लाखौँ रकम खर्चिएर निर्माण गरिएका घरलगायतका संरचना पनि ध्वस्त भइरहेका छन् । 

ग्रामीण क्षेत्रका खेतीयोग्य जमिन बाझिन थालेपछि अन्नपात उत्पादनमा पनि कमी आउन थालेको स्थानीयले बताएका छन् । अनाज उत्पादनमा कमी आउँदा गाउँमा बसोबास गर्नेहरू बजारबाट खाद्यान्नलगायतका उपभोग्य वस्तु खरिद गरेर उपभोग गर्न बाध्य छन् । कमजोर आर्थिक स्रोत भएका परिवारलाई बजारबाट आवश्यकी सामग्री खरिद गर्न हैरानी खेप्नुपरेको लिम्बुले बताउनुभयो । 

यता जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७९–८० मा पाँच हजार १७९ जनाले राहदानी (ई–पासपोर्ट) बनाएका छन् । जिल्लाबाट चार हजार ५५७ जनाले राहदानी बनाएका छन् भने द्रुत सेवाअन्तर्गत मन्त्रालयबाट बुझ्नेगरी ६२२ जनाले सिफारिस लिएको प्रशासन कार्यालयले जनाएको छ । 

आंशिकबाहेक राहदानी बनाउनेमा युवापुस्ता नै बढी रहेको र वैदेशिक रोजगारीमा जान उनीहरूले ई–पासपोर्ट बनाउने गरेको सहायक प्रमुख जिल्ला अधिकारी टङ्कबहादुर भट्टराईले बताउनुभयो ।