• ३१ वैशाख २०८२, बुधबार

पहिरोले तीन घर जोखिममा

blog

मकवानपुर बकैया गाउँपालिका ११ मा पहिरोका कारण जोखिममा परेको घर । तस्बिर : राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, साउन ३० गते । 
मकवानपुर बकैया गाउँपालिका ११ मा अविरल वर्षापछि आएको पहिरोका कारण तीन घर जोखिममा परेको छ । स्थानीय बिबिमाया थिङ, हिरामाया वाइबा र सन्चुमाया बाइवाको घर पहिरोका कारण जोखिममा परेको बकैया गाउँपालिका–११ का वडाध्यक्ष गोपाल लामाले जानकारी दिनुभयो ।

उहाँका अनुसार शनिबार र आइतबार भएको अविरल वर्षासँगै घरभन्दा तलबाट पहिरो जान थालेपछि तीन परिवारलाई आफ्नो पक्की घर नै छाडेर जानुपर्ने अवस्था आएको छ ।

बिबिमाया, हिरामाया र सन्चुमायाको घर पहिरोका कारण जोखिममा परेसँगै नेपाल रेडक्रस जिल्ला शाखा मकवानपुरको सहयोगमा अस्थायी बासका लागि प्रति घरपरिवार दुई–दुई थान त्रिपाल र डोरी उपलब्ध गराइएको छ ।

रेडक्रसले उपलब्ध गराएको त्रिपाल र डोरी पहिरो प्रभावित परिवारलाई वडाध्यक्ष लामाले घरमा नै पुगेर हस्तान्तरण गर्नुभएको छ । पानी परेको समयमा पहिरो आएर जोखिम बढेसँगै छिमेकीको घरमा आश्रय लिएर बस्नुपर्ने अवस्था रहेको वडाध्यक्ष लामाले बताउनुभयो ।