• १३ साउन २०८१, आइतबार

मुग्लिन–पोखरा सडक विस्तारमा ढिलाइ, मारमा पर्यटन व्यवसायी

blog

सन्तोष सुवेदी

कास्की, साउन २९ गते  । मुग्लिन–पोखरा सडक विस्तारमा ढिलाइ हुँदा पर्यटन व्यवसायी मारमा परेका छन् । एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा सडक सुधार आयोजना अन्तर्गत सडक स्तोन्नति कार्यमा ढिलाइ हुँदा पर्यटन क्षेत्रमा मर्का परेको व्यवसायीको गुनासो छ ।

मुग्लिन–पोखरा सडकखण्डको विस्तार र स्तरोन्नति कार्यलाई तीव्रता प्रदान गरी समयमै काम सम्पन्न गर्न व्यवसायीको माग छ । सडक विस्तारको शैलीलाई परिवर्तन गरी सडकको एक किनारतर्फ काम गर्ने र अर्कोतर्फबाट सवारीसाधनको सहज आवतजावतको वातावरण सिर्जना गर्न सके सेवाग्राहीलाई सहज वातावरण सिर्जना हुने उनीहरूको भनाइ छ । 

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले सडक विस्तार कार्य अगाडि बढ्नु सकारात्मक पक्ष भए पनि निर्माण पक्षबाट ढिलासुस्ती हुँदा सेवाग्राहीले थुप्रै झन्झट भोग्दै आएको बताउनुभयो । “छोटो दुरीको यात्राका लागि लामो समय खर्चिनुपर्ने, दिक्कलाग्दो र कष्टपूर्ण यात्रा, बिरामी र अशक्तका लागि जोखिम तथा हैरानीको अवस्था रहेको छ । सडक वरपरका बासिन्दाका लागि धुवाँ र धुलोको समस्याबाट गुज्रँदै स्वास्थ्य जोखिमको सामना गर्नुपर्ने अवस्था सिर्जना भएको छ,” उहाँले भन्नुभयो । 

सुस्त र अव्यवस्थित कार्यबाट नेपाली अर्थतन्त्रको महत्वपूर्ण आधार मानिएको पर्यटन र उद्योग वाणिज्य क्षेत्रले यस कार्यबाट प्रभावित हुनु परेको उहाँको भनाइ छ । “काठमाडौँ–पोखराबिचको पाँच घण्टा यात्रा अहिले १२ घण्टासम्म लाग्ने गरेको छ । यसबाट पोखरा र वरपरको पर्यटनमा नकारात्मक असर परेको छ । निजी क्षेत्रले बिक्रीयोग्य वस्तु र अन्य कच्चा पदार्थको ढुवानीमा लामो समय खर्चिनु परेको छ,’’ उहाँले भन्नुभयो ।

भूकम्प, नाकाबन्दी र कोभिडले मारमा परेको पर्यटन व्यवसाय पहुँच मार्गको अवरोधले अर्को अभिशाप बन्न पुगेको उहाँले बताउनुभयो । खर्बौं रुपियाँको लगानी रहेको पोखरा क्षेत्रको पर्यटनका लागि यो सुखद पक्ष नभएको उहाँको भनाइ छ । औपचारिक रूपमै नेपालको पर्यटकीय राजधानी घोषणा हुन लागेको पोखराका लागि त यो झनै नकारात्मक अवस्था हो ।