• १ जेठ २०८२, बुधबार

न्यायिक समितिमा उजुरी दिने बढे

पसल बन्द गराइदिनेदेखि कोठा खाली गराउनेसम्मका उजुरी

blog

काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोल ।

काठमाडौं, साउन २८ गते । न्यायिक समितिमा उजुरी दिनेहरुको सङ्ख्या बढेको छ । न्यायिक समितिमा उजुरी दिनेहरुमध्ये अधिकांश उजुरी पसलहरु बन्द गर्न, सटर खाली गरिदिन, कोठा खाली गराइदिन लगायतका उजुरी दिनेको सङ्ख्या बढ्दै गएको हो ।

काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोलले न्यायिक समितिमा पछिल्लो समय उजुरी दिनेको सङ्ख्या बढेको बताउनुभयो । उहाँले पसलहरु बन्द गर्न, सटर खाली गरिदिन, कोठा खाली गराइदिन माग गर्दै उजुरीहरु पर्ने गरेको उल्लेख गर्नुभयो ।

उपप्रमुख डङ्गोलले न्यायिक समितिको इजलासमा प्रत्येक १० उजुरीमा आठ वटा उजुरी बन्द गराइदिन र खाली गराइपाउँ भन्ने किसिमले पर्ने गरेको जानकारी दिनुभयो । न्यायिक समितिमा आएका उजुरीलाई हेर्दा काठमाडौंमा यस किसिमका सङ्केत देखिनु राम्रो नभएको बताउनुभयो । उहाँले यस्ता घटना बढ्नु भनेको अर्थतन्त्र चलायमान हुन नसक्नु रहेको जिकिर गर्नुभयो ।

‘‘न्यायिक समितिका मुद्दाहरु हेरिरहँदा धेरैजसो अहिले पसलहरु बन्द गर्ने र सटर खाली गर्नुपर्‍यो, कोठा खाली गरिदिनुपर्‍यो भन्ने खालका विषय बढी आउन थालेको छ । न्यायिक समितिको इजलाश बस्दाखेरी दशवटा हेर्‍यो भने आठ वटा जति त कोठा खाली गराइपाउँ, सटर खाली गराइ पाउँ, सहकारी भाग्यो अब खाली गर्नुपर्‍यो भन्ने खालका यस्ता विषयहरु बढी आउन थालेको छ ।,’’ उपप्रमुख डङ्गोलले भन्नुभयो, ‘‘यसको सङ्केत पक्कै पनि राम्रो होइन । अहिले बजारमा धेरै पसलहरु बन्द हुन थालेको सङ्केत पनि हो । धेरै जनाले यो आर्थिक मन्दी आभास गरिरहनु भएको छ । अर्थतन्त्र चलायमान नभएको भन्ने पनि यसले सङ्केत दिन्छ । यस्ता खालका विषयवस्तुहरु बढी आउन थालेको छ र यस्ताे क्रम बढ्न थालेको छ । हरेक हप्ता यसका अपडेट लिदाँखेरी प्रतिशतमा बढ्न थालेको छ ।’’

उपप्रमुख डङ्गोलले महानगरपालिकाले बजार अनुगमन र मूल्याङ्कनलाई तीव्रता दिने बताउनुभयो । उहाँले नीति, कार्यक्रम र बजेटलाई प्रभावकारी बनाउनका लागि अनुगमन र मूल्याङ्कन अत्यावश्यक भएकाले बजार र योजना अनुगमनलाई प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।

उहाँले महानगरपालिकाले शिक्षा, स्वास्थ्य खाद्यान्नसँगै योजना अनुगमनको पाटोलाई पनि प्रमुख विषय बनाएर अघि बढिरहेको उल्लेख गर्नुभयो । उपप्रमुख डङ्गोलले स्थानीय सरकारले हरेक उपभोक्ताले उपभोग गरिरहेको कुरा ठिक छ भन्ने विश्वास गर्ने वातावरण दिन सक्नुपर्ने बताउनुभयो । उपप्रमुख डङ्गोलले नियमित रुपमा अनुगमन गर्नु व्यापारीलाई हतोत्साही गर्नु नभएको बताउनुभयो ।