• १ जेठ २०८२, बुधबार

नुवाकोटमा निर्माणाधीन मध्येपहाडी लोकमार्गको काम ठप्प

blog

नमराज सुवेदी
नुवाकोट, साउन २७ गते ।
 राष्ट्रिय गौरव आयोजनाको रूपमा रहेको मध्येपहाडी लोकमार्गको काम नुवाकोटमा रोकिएको छ । स्थानीय सामुदायिक वन समितिको अवरोधका कारण नुवाकोटमा निर्माणाधीन मध्येपहाडी लोकमार्गअन्तर्गत विदुर नगरपालिका–५ पिपलटारदेखि विदुर नगरपालिका–१३ देउडी खण्डको २० किलोमिटर निर्माण कार्य ठप्प भएको छ ।

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको मध्येपहाडी लोकमार्गअन्तर्गत नुवाकोटमा ६० किलोमिटर कालोपत्रे सडक निर्माण तथा विस्तार भइरहेको छ । मान्द्रेढुंगास्थित सुनादेवी सामुदायिक वनको कारण पिपलटार-देउडी खण्डको २० किलोमिटर सडक निर्माणकार्य अवरुद्ध भएको हो ।

आयोजना प्रमुख सुनिल कुमार रञ्जितकारले नुवाकोटको सदरमुकाम विदुर नगरपालिका–६ मान्द्रेढुङ्गास्थित उक्त सामुदायिक वन क्षेत्रमा पर्ने चेनेज नम्बर ४ प्लस ६०० देखि ६ प्लस ००० सम्मको १४ सय मिटर क्षेत्रमा रुख कटानका लागि लगत सङ्कलन कार्यमा खटिएका कर्मचारी टोलीलाई उक्त सामुदायिक वन समितिका पदाधिकारीद्वारा वन प्रवेशमा रोक लगाएका कारण निर्माण कार्य पूर्णरुपमा रोकिएको जानकारी दिनुभयो ।

मध्येपहाडी लोकमार्गको विदुर–५ पिपलटार- विदुर ८ देउडी खण्डअन्तर्गत पिपलटारबाट बुनीवेशी–मुलथला-रानीस्वाँरा हुँदै देउडीसम्मको निर्माण कार्य १०/१० किलोमिटर दुईवटा प्याकेजगरी एक अर्ब ३५ करोड लागतमा निर्माण भइरहेको प्रमुख रञ्जितकारले बताउनुभयो ।

व्यक्तिगत तथा आवादी क्षेत्र छलाउँदै निर्माण भइरहेको लोकमार्गको विदुर नगरपालिका ६ स्थित मुलथला वन क्षेत्रमा निर्माण हुने लोकमार्गको कारण सडक निर्माणको क्रममा मान्द्रेढुंगाको बस्ती पहिरोको जोखिममा पर्ने भन्दै सडक निर्माण कार्यमा समितिद्वारा अवरोध भएको विदुर नगरपालिका–६ का वडाध्यक्ष श्यामकृष्ण चालिसेले जानकारी दिनुभयो ।

राज्यद्वारा बस्तीको सुरक्षाको प्रत्याभूति नभई निर्माण कार्य असहज हुने वडा अध्यक्ष चालिसेले बताउनुभयो । विदुर नगरपालिका–५ पिपलटारबाट बुनिवेशी-मुलथला-रानीस्वाँरा हुँदै वडा नम्बर १३ देउडी जोड्ने मध्येपहाडी लोकमार्गमा सुनादेवी लगायत झण्डै आधादर्जन सामुदायिक वन समिति पर्दछन् । तर अन्य सामुदायिक वन क्षेत्रमा कुनै समस्या नभएको आयोजनाले जानकारी दिएको छ । वन विभागद्वारा लोकमार्गको दुवै खण्डको वातावरणीय प्रभाव मूल्याङ्कन र रुख कटानी आदेश लगायत सम्पूर्ण काम मन्त्री परिषदद्वारा एकै पटक निर्णय गराउने विभागीय तयारीका कारण लोकमार्गको दुवै खण्डको निर्माण कार्य अवरुद्ध भएको छ । दुवैखण्डको निर्णय एकैपकट गर्ने विभागीय तयारी तथा अडानसँगै पछिल्लो मुलथला(रानीस्वाँरा क्षेत्रको १० किलोमिटर खण्डको काम पनि प्रभावित भएको हो । जसको कारण अहिले पिपलटारदेखि देउडीको २० किलोमिटरमा निर्माण कार्य अवरुद्ध हुँदै आएको छ ।

ठुला आयोजनाको जानकारी समेटिएको सूचना बोर्ड आयोजना स्थलमा राख्नुपर्ने प्रावधान भए पनि नुवाकोटमा मध्येपहाडी लोकमार्ग विस्तार हुँदै गरेका स्थानमा केही कुनै सूचना बोर्ड राखिएको छैन । राष्ट्रिय राजमार्गको प्रावधानअनुसार विस्तार गरेमा सडक केन्द्रबाट दायाँबायाँ २५/२५ मिटर छाडेर थप ६ मिटरमा पनि पक्की संरचना बनाउन पाइँदैन । तर मध्येपहाडी लोकमार्गको सीमा कति कायम भन्ने सरकारले निर्णय गरी राजपत्रमा प्रकाशित नभएकाले यति नै हुन्छ भन्न नसकिने आयोजना प्रमुख रञ्जितकारले बताउनुभयो ।