रमेश विश्वकर्मा
गुल्मी, पुस १३ गते । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माको जीवन आगोको रापसँगै बितिरहेको छ । पुर्ख्यौली पेशा आरानलाई जीवनको आधार बनाउँदै आउनुभएका उहाँले दशकौँसम्म बालीघरे प्रथाको भार बोक्नुभयो ।
“जिन्दगीभर आरानमै बित्यो ।’’ उहाँ सम्झनुहुन्छ, “फलाम पिटेर अन्नपात पाइन्थ्यो, तर त्यो छ महिना पनि नपुग्ने । काम थियो, कमाइ थिएन ।’’ पूर्खादेखि अङ्गालिँदै आएको पेशामा भविष्य खोज्दै गर्दा उहाँलाई बालीघरे प्रथाले कहिल्यै आत्मनिर्भर बन्न दिएन । घरखर्च धान्न कठिन भएपछि उहाँले बुढेसकालमा नै ठुलो निर्णय लिनुभयो, गाउँ छाडेर सदरमुकाम तम्घासतिर लाग्ने ।
गाउँबाट शहरसम्मको साहसिक निर्णय तम्घास देउराली चोकमा सानो आरान खोलेपछि उहाँको जीवनले नयाँ मोड लियो। अन्नपातमा सीमित मेहनत अब ज्यालामा परिणत भयो । “ढिलो भए पनि बालीघरे प्रथा अन्त्य गर्न सकेँ,’’ उहाँ भन्नुहुन्छ, “नत्र जिन्दगीभर घाटामै बित्थ्यो ।’’ हाल देउराली चोकमा मासिक १४ सय रुपियाँ भाडा तिर्दै बिहानदेखि साँझसम्म काम गर्नुहुन्छ । अर्डर अनुसार खुकुरी, हँसिया, कुटो, कोदालोजस्ता फलामका औजार बनाउनुहुन्छ ।
धार लगाएको ५० रुपियाँ लिने उहाँ नयाँ औजार चार सयदेखि ६ सय रुपियाँसम्ममा बिक्री गर्नुहुन्छ । दैनिक औसत पााँच सयदेखि एक हजार रुपियाँसम्म आम्दानी हुन्छ । फलाम पिट्न सहयोग गर्न एक जना साथीसँगै काम गर्दै आउनुभएको छ । पाँच छोरा र दुई छोरीका पिता ताराबहादुरका सबै सन्तान आ–आफ्नै कर्ममा लागिसकेका छन् । अहिले उहाँ श्रीमती बसन्तीसँग तम्घास–खानीगाउँमा सानो आफ्नै घरमा बस्नुहुन्छ । “ठुलो व्यवसाय होइन ।’’ उहाँ भन्नुहुन्छ, “दाल–भात खान पुग्छ, यही काफी छ ।’’
दशकौँ आगोको रापमा बिते पनि उहाँको मनमा पीर अझै बाँकी छ । “आधुनिक आरानका सामग्री चाहिएको छ ।’’ उहाँ भन्नुहुन्छ, “तर कसैले वास्ता गर्दैन ।’’ आरान व्यवसायका लागि सबैभन्दा आवश्यक कोइला अहिले ठुलो समस्या बनेको छ । सामुदायिक बनमा प्रवेश नपाइने भएपछि गाउँ–गाउँबाट किनेर ल्याउनु पर्ने बाध्यता छ । “सबैलाई सुविधा छ, हामीलाई मात्रै छैन ।’’ उहाँले गुनासो गर्नुभयो, “कम्तीमा कोइलाका लागि त छुट हुनुपथ्र्यो ।’’
आरान व्यवसाय अहिले सङ्कटमा छ । पुस्तान्तरण हुन सकेको छैन । परम्परागत शैलीमा दुःख धेरै र कमाइ कम भएकाले नयाँ पुस्ता आकर्षित हुन सकेको छैन । “पुरानै तरिकाले होइन ।’’ उहाँको सुझाव छ, “आधुनिक प्रविधि भित्र्याउन सके यो पेशा अझै टिक्छ ।” ताराबहादुरलाई ठुलो अनुदान चाहिएको छैन । आधुनिक आरान उपकरण र कोइलाको सहज व्यवस्था भए पुग्छ ।
“खान र लगाउनमा आधुनिकता चाहिँदैन ।’’ उहाँ भन्नुहुन्छ, “सामान्य जीवनमै सन्तुष्ट छु ।’’ ढिलो भए पनि बालीघरे प्रथाबाट मुक्त भएर आफ्नो पेशालाई व्यवसायिक बनाएकोमा उहाँलाई गर्व छ । तर आगोको रापसँगै बितेको यो जीवन अझ सहज बनाउन राज्य र सरोकारवालाको ध्यान आवश्यक देखिन्छ ।