सरदार यदुनाथ खनाल एउटा यस्तो नाम हो, जो विगत सत्तरी वर्षसम्म राष्ट्रिय जीवनमा अटुट रूपमा देखापरिरह्यो । देशको साहित्यिक, शैक्षिक, प्रशासनिक, सामाजिक र कूटनीतिक क्षेत्रमा अत्यधिक सम्मानित नाउँ हो यो । साहित्यप्रति खनालको दृष्टिकोण छ, ‘साहित्य अरू कला जस्तै मानवीय विशेषता हो, जातीय वा राष्ट्रिय विशेषता होइन । विभिन्न साहित्यिक विभूति राष्ट्रिय विभूति हुनु संयोगको कुरा हो, सारको होइन । उत्कृष्ट साहित्यले जहिले पनि मानवताको चुचुरोतिर ताक्छ ।’ यस प्रकारको चिन्तन भावबाट नेपाली साहित्यको सिर्जनात्मक विकासको साथै समालोचनात्मक क्षेत्रमा समेत महत्वपूर्ण उपलब्धि प्राप्त हुन सक्छ, जुन आधार उहाँबाट सम्भव भएको छ ।
तत्कालीन अवस्थामा पनि संस्कृत र अङ्ग्रेजी शिक्षाको चाहिँदो ज्ञान खनालले प्राप्त गर्नुभयो । जीवनका विषम र जटिल परिस्थितिसँग लड्दै–भिड्दै अङ्ग्रेजी भाषामा समेत उच्च ज्ञान हासिल गरी लेखन, अध्ययन र अध्यापन कलामा सफलता प्राप्त गर्नु खनालको वैशिष्ट्य हो । प्रबन्ध र समालोचनामा पाश्चात्य तरिका अँगालेर पनि नेपाली शैली पद्धतिलाई आत्मसात् गरी समाज–सुधारको पक्षमा युगबोध र नवचेतनाको प्रेरणा उहाँले दिनुभयो । विसं १९७० साउन २८ गते तनहुँको मानुङमा उहाँको जन्म भएको थियो । उहाँको निधन ९१ वर्षको उमेरमा २०६१ असोज १६ गते आफ्नै निवास काठमाडौँको बानेश्वरमा भयो । साहित्य, विज्ञान र दर्शनका त्रिवेणीरत्न विद्वान् खनालले नेपाली भाषासाहित्यको क्षेत्रमा उच्च योगदान दिनुभयो ।
खनाल विसं १९९३ मा त्रिचन्द्र कलेजमा पढ्दा त्यहाँ कलेज स्तरीय निबन्ध प्रतियोगिता भएको थियो । महाकवि देवकोटा उक्त निबन्ध प्रतियोगितामा परीक्षक हुनुहुन्थ्यो । आठ जना छात्रहरू सहभागी उक्त निबन्ध प्रतियोगिताको शीर्षक पृथ्वी, समुद्र र आकाश रहेको थियो । निबन्धमा भाषाशैली, भावुकता, प्रखरता, कल्पनाशक्ति, यथार्थ गहिराइ एवं चातुर्य जस्ता विषयमा अङ्क निर्धारण गरिएको थियो । यसमा ६० अङ्क प्राप्त गरी खनाल प्रथम भई स्वर्णपदकका लागि योग्य घोषित हुनुभयो । १९९१ सालको एसएलसी परीक्षामा उहाँ प्रथम श्रेणीमा प्रथम हुनुभयो । सर्वप्रथम भएबापत उहाँले त्रिचन्द्र कलेजमा आइएस्सी अध्ययनका लागि मासिक १५ रुपियाँ छात्रवृत्ति प्राप्त गर्नुभयो । छात्रजीवनदेखि नै बौद्धिक क्षेत्रमा चर्चित खनालको पहिलो रचना १९९७ सालमा शारदा पत्रिकामा प्रकाशित ‘बाटो बिलायो’ शीर्षकको निबन्ध हो ।
२००७ सालपछि जे जति कूटनीतिक पहल र प्रयासहरू भए त्यसमा खनालको संस्थागत योगदान रहेको छ । अङ्ग्रेजी भाषामा नेपालसम्बन्धी पुस्तक लेख्ने थोरै नेपाली विद्वान्हरूमा उहाँ अग्रपङ्क्तिमा पर्नु हुन्छ । उहाँका अङ्ग्रेजीमा लेखिएका आधा दर्जनभन्दा बढी कृतिहरूले विदेशनीतिका बारेमा व्याख्या विवेचना गरेका छन् । कूटनीतिक क्षेत्रमा उहाँलाई नेपालका ‘हेनरी किसिन्जर’ भनिन्छ ।
पूर्वीय र पाश्चात्य साहित्यको अध्ययन गरेर खनालले समालोचना क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्नुभएको छ । नेपाली सामालोचना क्षेत्रमा उहाँले सैद्धान्तिक समालोचनाको आधारस्तम्भ प्रस्तुत गर्नुभयो । कवि भानुभक्त आचार्यबारे पहिलो समालोचना प्रस्तुत गरेर मोतीराम भट्टले नेपाली–साहित्यमा आलोचनाको शिलान्यास गर्नुभएको थियो । उहाँले प्रारम्भ गर्नुभएको समालोचनालाई सूर्यविक्रम ज्ञवाली, रामकृष्ण शर्मा, बाबुराम आचार्य र डा. ईश्वर बरालले अघि बढाउनु भयो । त्यति बेलासम्म समालोचनात्मक आधार थिएन, केवल प्रमाणपरक समालोचना गरी गुण–दोषलाई औँल्याएको मात्र देखिन्छ तर यी दुवै पक्षलाई नहेरी आलोचना गर्दा आइपर्ने बाधा एवं समस्याप्रति खनालको दृष्टि पुगेको छ । सिर्जनाको गुण, दोष र तिनका समस्याको मन्थन गरेर यथार्थ प्रस्तुत गर्नु नै सही समालोचना हो ।
कविता, निबन्ध, प्रबन्ध, काव्य, संस्मरण, अन्तर्वार्ता र आलोचना समालोचनाबाट साहित्यमा प्रवेश गर्नुभएका खनालका संस्कृत, अङ्ग्रेजी र नेपालीमा प्रशस्तै रचना छन् । उहा“ले प्रयोगात्मक समालोचना पनि प्रशस्तै गर्नुभएको छ तर बढी महत्व दर्शाउने ग्रन्थ समालोचनाको सिद्धान्त हो । यो नेपाली साहित्यको प्रथम सैद्धान्तिक समालोचना हो । पूर्वीय र पाश्चात्य मान्यता तथा प्रयोगलाई दृष्टिगत गरी नेपाली समालोचनाको मौलिक स्वरूप निर्माणार्थ यो कृति महत्वपूर्ण छ । नेपाली भाषामा पूर्वीय र पाश्चात्य समालोचना नभएको अवस्थामा यसले प्रथम तुलनात्मक विवेचना गरेको छ । विधागत परिचय र समालोचनात्मक दृष्टि प्रवर्धन गर्न लेखिएको यस कृतिमा बौद्धिक विषयवस्तु भएर पनि सरल र कलापूर्ण रूपमा चयन हुनसक्नु उहा“को नेपाली भाषा लेखनमाथि विशेषाधिकार प्रतिविम्बित हुन्छ । नेपाली समालोचनाको सिद्धान्त नवीन भएर पनि गहन हुनु र प्रथम भएर पनि अनन्तसम्म उत्तिकै मूल्यवान् रहनु यसको घनत्व पक्ष हो । समालोचनाको सिद्धान्त जस्तो महत्वपूर्ण ग्रन्थबारेको गहन अध्ययन उहाँले ३१ वर्षको उमेरमै सम्पन्न गर्नुभएको थियो । नेपाली साहित्यमा पाश्चात्य समालोचनाका नवीन चिन्तनलाई प्रवेश गराउने सातजना प्रतिभा क्रमशः यदुनाथ खनाल, रामकृष्ण शर्मा, डा. तारानाथ शर्मा, डा. अभि सुवेदी, डा. ईश्वर बराल, इन्द्रबहादुर राई र डा. वासुदेव त्रिपाठी रहनुभएको छ । अन्य सेवामा रहँदा पनि खनालको नेपाली भाषासाहित्य र समालोचनामा आजीवन अभिरुचि रहिरह्यो ।
कुनै पनि प्रतिभा विशेषको योगदान र उसको मूल्याङ्कन गर्ने परिपाटी र परम्परामा खनालको क्षमता विशिष्ठ छ । उहाँले नेपालका तीन जना मूर्धन्य प्रतिभा सोमनाथ सिग्देल, पं.हेमराज शर्मा र पं.नयराज पन्तका बारेमा गरिएको गम्भीर समालोचना उत्कृष्ट भित्र पर्दछ । सिग्देल र शर्माका सम्बन्धमा खनालको सटिक तर्क छ– मलाई अनुभव हुन्छ, हामीले हेर्नेभन्दा अर्को दृष्टिबाट हेमराज र सोमनाथको सम्बन्धलाई नयराजले हेर्नुभएको छ । हेमचन्द्रिका, पुस्तकालयको सङ्ग्रह, संस्कृत शिक्षा विभागको लामो निर्देशन, उनको सर्वस्वीकृत विद्वता आदि कुराको कारणले गर्दा नेपाली इतिहासमा हेमराजको आफ्नै व्यक्तित्व छ । त्यो व्यक्तित्व विवेकपूर्ण तरिकाले इतिहासको चर्चाको विषय हुन सक्दछ तर यसरी आफ्नै स्वतन्त्र व्यक्तित्व भएका हेमराजलाई उचाल्न सोमनाथलाई पछार्नु पर्ने आवश्यकता म देख्दिनँ । नयराजको ठुलो गुनासो छ–जब हेमराज राणावंशमा स्थिर रहे सोमनाथले भने हेमराजलाई त्याग गरे । २००७ सालको जनक्रान्ति राणावंशको होइन वल्की व्यवस्थाको विरोधमा थियो । क्रान्तिका प्रवर्तक राणा अराणा सबै थिए, तब क्रान्तिपछि हेमराज राणा वंशमा स्थिर रहे भन्नाको के तात्पर्य हो ? नयराजप्रति यदुनाथको प्रश्न छ, कति गम्भीर र सन्तुलित रूपमा एउटा घटनाक्रमसँग जोडेर व्याख्या विश्लेषण गरिएको छ । यसै गरी सूक्तिसिन्धु मूल्याङ्कनको खोजका बारेमा दुई प्रतिभाशाली विद्वान् यदुनाथ खनाल र रामकृष्ण शर्माबिच दरो बौद्धिक बहस भएको छ, जुन अत्यन्त पठनीय छ । विशेष गरी नेपाली साहित्यको माध्यमिककालीन एउटा मौलिक परम्परा, प्रवृत्ति र वस्तुस्थितिको पहिचानसँग सूक्तिसिन्धु केन्द्रीकृत छ ।
नेपाली, अङ्ग्रेजी र संस्कृत भाषाका यशस्वी विद्वान् खनाल अङ्ग्रेजी कविता संस्कृतमा र संस्कृतका श्लोकहरू अङ्ग्रेजीमा अनुवाद गर्नुहुन्थ्यो । यदुनाथले महाकवि देवकोटा, सिद्धिचरण र भूपि शेरचनको विश्लेषणात्मक परिचयको अङ्ग्रेजीमा अनुवाद पनि गर्नुभएको छ । उहाँको सूक्तिसञ्चय संस्कृतमा लेखिएको महत्वपूर्ण पद्यकृति हो । मौलिक र अनुवादमा विभक्त यस कृति संस्कृतसाहित्यको फाँटमा दुर्लभ प्राप्ति हो । प्रस्तुत सूक्तिसञ्चय केही मौलिक र केही विविध अन्य भाषाबाट संस्कृतमा अनुवाद गरिएका कविताको सङ्कलन हो । उहाँको नेपाली भामिनीविलास ग्रन्थ पण्डितराज जगन्नाथको संस्कृत भामिनीविलासको समश्लोकी समच्छन्दी नेपाली अनुवाद हो । प्रखर अध्ययनशील र चिन्तनशील प्रतिभा खनालका नेपाली, संस्कृत र अङ्ग्रेजी भाषामा लेखिएका एक दर्जनभन्दा बढी कृतिले नेपाली वाङ्मय भण्डारलाई खँदिलो, स्वादिलो र पोषिलो बनाएको छ ।