• ८ मंसिर २०८१, शनिबार

हिमाल हास्छ (कविता)

blog

हिमाल हास्छ, पहाड नाच्छ, तराई झुल्दछ 

यही हिमाल, पहाड, तराईसँग नेपाल खेल्दछ

धानको बाला, तराई झुल्दा मधेश उज्यालो 

तोरीको फूल पहेँलै फुल्दा यो मन रमायो ।


हिमाल हास्छ, पहाड नाच्छ...

यही हिमाल, पहाड, तराईसँग...


शिरमा मेरो ढाका र टोपी, शिरैमा हिमाल 

चन्द्र र सूर्य नेपालको झन्डा, नाच्दछ फरर 

आँखामा मेरो त्रिशूली बग्ला, नानीमा गण्डकी

छातीमा मेरो नेपाल रहला, मुटुको ढुकढुकी । 


हिमाल हास्छ, पहाड नाच्छ...

यही हिमाल, पहाड, तराईसँग...


गलामा मेरो लैबरी बस्यो, भाकामा सोरेठी 

दिलमा मेरो रोदी र घाटु, नृत्यमा मारुनी

कोइली गाउला, मयुर नाच्ला चारकोशे झाडीमा

कस्तुरी मृग दौडेर खेल्ला आँखाको नानीमा 


हिमाल हास्छ, पहाड नाच्छ...

यही हिमाल, पहाड, तराईसँग..


दमाहा, झ्याली, ट्याम्को र सनाही मिलेर बजेका

डम्फु र मादल नर्सिङ्घा बज्दै नेपाल भनेका

रतेडी देउडा भाकामा हाली मिलेर नाचौँला

हिमालमुनि स्वर्गको देश रमाउँदै बाचौँला ।


हिमाल हास्छ, पहाड नाच्छ...

यही हिमाल, पहाड, तराईसँग...