• ८ मंसिर २०८१, शनिबार

सगं–सगुन–सराजाम !

blog

तीनै शब्द यी अनुप्रासयुक्त ! सगं – सगुन – सराजाम (सामग्री) ! अनुप्रासयुक्त शब्द पुञ्ज आह्लादयुक्त ! मनै स्वच्छ, सदाबहार लाग्छ । मन बहलाउँदो ! स्वच्छानन्द दायक ! नौलो स्वच्छानन्दका स्रोत – मूलाधार ! चिन्तनभित्रका प्रवाहका आधार ! यस्तैमा विभोर बन्छु । विभोर बन्न सक्नु आनन्दसार जीवन ! आनन्दसार जीवन सुखद बँचाई । 

सुखद जीवन बाँच्नुको सार – महत्व । यत्रतत्र सर्वत्र ! जहाँ जाऊँ उतै मगनमस्त ! जीवनको हरियाली । सदावहार मगनमस्त तन्नेरीपन ! मस्तमस्त जीवन ! छुँदैन उमेरको बुढ्यौलीले । बाँच्नुको सार्थकता ! क्या मज्जा – आहा ! निस्फिक्री ! मनमानेश्वरी देवी जस्तै !

सगं – सगुन – सराजाम । अहिलेको सरोकार । रचनामूलक प्रसङ्ग । शब्द शब्दका उन्दै बन्छ मालालङ्कार – शृङ्गार । निबन्धका निर्बन्धाकार । पकड्न नसक्दा लय – ताल – सुर सब निस्सार । उद्भव हुन थाल्छ अनि हाहाकार । प्रयोग बन्दछ निर्बन्ध ! निबन्ध सब बेकार । सगं (सगुन) नेपाल भाषाका शब्द । सगुनकै स्वरूप आफ्नै आकार । संस्कृत शब्दबाट झरेको झर्रो रूप । भाषा – भाषीमाझ उर्वर । सही सलामत । भाषाभाषीहरू सबका सबले बुझ्नै पर्छ होइन । 

चलनचल्तीमा अभ्यस्त हुन्छ जब बुझिँदो रै’छ । सहज बन्दोरै’छ । सबै भाषा–भाषीबिच यसै हुँदो रहेछ । जन्मदातृ माताको दुध चुस्तै बढेपछि हलक्क हुँदा रै’छन् । अभ्यस्त सामाजिक संस्कार मन्दित पारम्परिक संस्कारका आमूल संस्कृति । हाम्रा संसारका व्यापक संस्कार । मातृ अमृत रस अन्तर निहित जीवन्त कथा, कहानी, काव्यकृति – मानव समाजका मार्मिक उपन्यास । मात्र लिनु छैन मौन – सन्न्यास !

लगनशीलताभित्र सफलताका सौर्य – वीर्य छ । अन्तरनिहित सदाबहार । मात्र शरण पर्नु छैन – दुर्बल अधीरताको सँघार । आफ्नै जैविक अनुभूतिका यो उपहार ! जैविक अनुभूतिका उपहार ! आफ्नै जीवनका ताजा अनुभूति बासी हुन्न । स्वादिष्ट स्वाद । जीवन बर्धक विकार विहीन । विश्व यसकै लागि लागिपरेका हुन्छन् । दुर्बल अधीरताको सँघार भनेछु । तात्पर्य यसको दुर्बल विचारका कारण अधीरता उत्पन्न हुँदोरै’छ; हुन्छ नै । यो आफ्नै अन्तर्यका अनुभूतिसार । 

आफ्ना अनुभूति बाँड्नु स्वधर्म ठान्छु, मान्दै छु । बैभव यही हो भन्छु । आत्मिक अनुभूति सबल सार्थक । सबल सार्थक अनुभूति सर्वजनीकरण बुढ्यौलीका पुण्यधाम – दान – जीवन सराजाम । अवशानपछि सहने परम् – दान आनन्द धाम । आनन्द धाम – परमधाम । नस्विकारी साध्य छैन, हुन्न । विधिका विधान जीवनको सार । नश्वरताको पारिभाषिक यथार्थ चारित्रिक अमूर्त; तर झिसमिसभित्र अस्ताउँदो घाम !!! कर्मठताको विश्राम – हरेराम अनन्तभित्र विलय धाम ! 

विगत हुँदै सलबलाएको वर्तमान । वर्तमान विलय भएपछि लाग्दो भविष्यत् अनागतका पुस्तौँ पुस्ता भोलि – भविष्य ! कर्मलीलाका सल्बलाउँदो अलमल योजनामय आकार । रूप लिन बाँकी ढलमल बान्की । आशाजनक आकार । हामी – हाम्रा आश्वस्त परिकल्पनाका कल्पवृक्ष । झाँगिँदै जाँदो तरुलता कल्पतरु ! अरू के हुनु ? जे हुनु भई जान्छ ।

हामी अनि हाम्रै सच्चा सन्ततिका कृतकृत्य । स्वामी ब्रह्मानन्दले उद्घोष गरे झैँ जे ध्याउन्न हुन्छ; त्यही फल पाइन्छ । असल चिताऔँ असलै फल प्राप्तिन्छ । कुभलो चिताएर हानि नोक्सानी हुन्छ आफैँलाई । सकारात्मक सोच सकारात्मक परिणाम ! जयतु संस्कृतम् ! वास्तविक अर्थ भलो चिताऔँ । भलो संस्कृति निर्माणमा टेवा दिऔँ ।

सगं – सगुनका सार्थक सराजाम – सकारात्मक सोच ! योभन्दा सार्थक सराजाम के हुँदा हुन् ? आफैँसितका प्रश्नबोधक चिह्नले चिनाउँछ आफैँलाई ! आफूलाई आफैँले बिर्सेर चिन्न सकेनौँ हामीले आफैँ ! आफैँले नचिनेपछि अरूलाई चिन्ने कसरी ? बाटो बिराएका विश्वका बटुवा हामी । दिक्साधन आफ्ना हामी नै ।

ब्रह्मज्ञान टुट्दा टुटिँदो छ जिन्दगीका लय । लय त मार्ग । पथ द्रष्टा ब्रह्म विवेक । आफैँ सकर्मक । कुकर्मक पनि आफैँ । आफैँ अकर्मक । प्रश्न तेर्साऔँ आफैँतिर । घाम लाग्ने छ घैँटोमा आफैँ – आफ्नै । आफ्नै घैँटोमा घाम लाग्नुको प्रतीकात्मक अर्थ बोध हुन्छ ब्रह्म – विवेक फुर्नु । ब्रह्म – विवेक फुराउन हामी अल्लारिरहेका हुन्छौँ । खोजीमा विवेक ब्र्रह्मको । फुरेपछि ब्रह्म फुर्छ विवेक धारा आफैँ निर्वाध – अविरल । 

सगं – सगुन – सराजामको मर्म विवेक – ब्रह्म प्रस्फुटनकै निमित्तका अभ्यन्तरिक मर्माभासमा अड्कन्छ – अड्केको हुन्छ । जानी नजानी हामी यसकै सेरोफेरोमा चक्कर लगाइरहेका हुन्छौँ । सांसारिकता यसैलाई भन्ने चालचलन सर्वव्यापक छ । सगं – सगुन – सराजामको मर्म बोल्छ आफैँ मौन भाकामा । मौनताका मर्म खुल्न चिन्तनमय चिन्मयता हुन्न पर्नु बाँझो । चिन्तनको खडेरी पर्नु हुन्न । उर्वर मस्तिष्क बाँझो पर्छ । बाँझिएर उर्वर चिन्तन बाँझिँदो हो । पीरव्यथा यतिकै ।