• १२ पुस २०८१, शुक्रबार

रास्वपाले संसद् अवरुद्ध भएको दिनको सेवासुविधा नलिने

blog

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ।

काठमाडौं, साउन २६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले संसद् अवरुद्ध भएको दिनको सेवा सुविधा नलिने घोषणा गरेका छन् ।

शुक्रबार संसद् भवनअघि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका सभापति रवि लामिछानेले सो बारेमा जानकारी दिनुभएको हो । उहाँले लोकतान्त्रिक विधि अपनाएर संसदीय अभ्यासभित्र रहेर संसद् सुचारु गर्न सभामुख देवराज घिमिरेसँग आग्रह गरेको पनि बताउनुभयो ।

उहाँले संसद् नचलेको अवस्थामा कुनै पनि बेलामा हामीले हाजिर मात्र गरेर तलब सुविधा लिनु उचित नरहेको ठानेर यसअघि अवरुद्ध भएको संसद् बैठक र अब हुने संसद् अवरुद्ध बैठकबाट आउने सेवासुविधा नलिने बताउनुभयो ।

‘‘हामीले सम्माननीय सभामुखज्युलाई संसद् सुचारु गर्नको निमित्त र लोकतान्त्रिक विधि अपनाएर संसदीय अभ्यासभित्र रहेर हामीले औपचारिक रुपमा पत्र दिएका छौँ । पत्र दर्ता गराएका छौँ कि नेपाली जनताका महत्वपूर्ण पक्षमा हामीले कुराकानी गर्नुपर्नेछ र सत्तापक्ष र प्रमुख प्रतिपक्ष दल बीचको एउटा खिचातानी छ, संसदीय छानबिन समितिका विषय लिएर मतभेद छ ।,’’ सभापति लामिछानेले भन्नुभयो, ‘‘त्यसलाई अन्त्य गरियोस् र चाँडै संसद् खुलाइयोस् भनेर पत्र दर्ता गराएका छौँ र सँगै हामीले संसद् नचलेको अवस्थामा कुनै पनि बेलामा हामीले हाजिर मात्र गरेर तलब सुविधा लिनुहुँदैन भनेर हाम्रो दलको तर्फबाट संसद् नचलेको दिनको पैसा नलिने र त्यो व्यवस्था गरिदिन आग्रह गरेका छौं । काम नगर्दा नेपाली जनताले तिरेको करको पैसा लिने कुरा स्वीकार्य छैन । संसद् अवरुद्ध भएको बेलामा प्राप्त हुने तलब सुविधा अघिका दिनका पनि काटिदिन आग्रह गरेका छौँ ।’’

सभापति लामिछानेले सुन प्रकरणबारे आफूले गरेको सङ्केतलाई केलाएर हेर्ने हो भने नयाँ तथ्यहरु फेला पर्ने बताउनुभयो ।