काठमाडौँ, साउन २६ गते । ग्लोबल आइएमई बैङ्क लिमिटेडले आर्थिक वर्ष २०७९/८० मा सात अर्ब २५ करोड रुपियाँ खुद नाफा आर्जन गरेको छ । सञ्चालनमा रहेका वाणिज्य बैङ्कहरूमा नाफामा दोस्रो स्थानमा रहेको ग्लोबल आईएमई बैङ्कले आर्जन गरेको नाफा अघिल्लो वर्षको तुलनामा ४६.२६ प्रतिशतले बढेको छ । बैङ्कले अघिल्लो आवमा चार अर्ब ९५ करोड रुपियाँ खुदा नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा बैङ्कको कस्ट अफ फन्ड ८.१८ प्रतिशत र आधार दर १०.२० प्रतिशत र कर्जा निक्षेप अनुपात ८३.३७ प्रतिशत रहेको छ । बैङ्कले गत आवको तुलनामा वितरणयोग्य नाफा बढाएको छ ।
३५ अर्ब ७७ करोड १० लाख रुपियाँ चुक्ता पुँजी रहेको बैङ्कको जगेडा कोषमा २२ अर्ब ९१ करोड १६ लाख रुपियाँ सञ्चित रहेको छ । समीक्षा अवधिमा बैङ्कको निक्षेप ५३.९३ प्रतिशत बढेको छ भने कर्जा लगानी ३८.०९ प्रतिशत बढेको छ ।
बैङ्कको खराब कर्जा ३.०८ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष बैङ्कको खराब कर्जा १.२८ प्रतिशत रहेको छ । यस्तै बैङ्कले बैङ्कको स्प्रेड दर ४.९६ प्रतिशत कायम गरेको छ । बैङ्क अफ काठमाण्डूलाई प्राप्ति गरेको ग्लोबल आइएमई बैङ्कले मर्जर सुविधाको उपयोग गर्दै स्प्रेड दर चार प्रतिशतभन्दा बढी कायम गरेको छ । जसले बैङ्कको खुद नाफा तथा ब्याजदर बढाउन मद्दत गरेको छ ।
समीक्षा अवधिमा बैङ्कको खुद ब्याज आम्दानी ६६.३७ प्रतिशत, खुद फी तथा कमिसन आम्दानी २२.४८ प्रतिशत, कुल सञ्चालन आम्दानी ५२.४९ प्रतिशत र सञ्चालन मुनाफा ४४.२६ प्रतिशत बढेको छ । गत आवको अन्त्यसम्ममा बैङ्कको वितरणयोग्य मुनाफा दुई अर्ब ९५ करोड ६९ लाख रुपियाँ कायम भएको छ । जस अनुसार बैङ्कको लाभांश क्षमता ८.२७ प्रतिशत रहेको छ । अघिल्लो आवको तुलनामा बैङ्कको वितरणयोग्य नाफा करिब २९ करोडले घटेको छ । अघिल्लो आव बैङ्कको वितरणयोग्य नाफा करिब तीन अर्ब २४ करोड रहेको थियो । बैङ्कले नाफानोक्सान वितरण खाता अन्तर्गत साधारण जगेडा कोषमा एक अर्ब ४५ करोड, क्यापिटल रिडेम्सन कोषमा ७७ करोड ९० लाख रुपियाँ र गैरबैङ्किङ सम्पत्ति अन्तर्गत अल्पकालीन लोन लस प्रोभिजनबापत ७१ अर्ब ६३ करोड रुपियाँ छुट्याएकाले बैङ्कको वितरणयोग्य नाफामा कमी आएको हो ।
राष्ट्रिय वाणिज्य बैङ्कको नाफा चार अर्ब ९१ करोड
ग्लोबललाई पछ्याउँदै तेस्रो स्थानमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्क रहेको छ । बैङ्कले गत वर्ष खुद नाफा चार अर्ब ९१ करोड रुपियाँ मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षभन्दा १४.५४ प्रतिशतले बढी हो । अघिल्लो वर्ष रावा बैङ्कले चार अर्ब २९ करोड रुपियाँ मुनाफा आर्जन गरेको थियो । यस्तै बैङ्कको खराब कर्जा २.९५ प्रतिशत रहेको छ । खराब कर्जा पनि अघिल्लो वर्षभन्दा ०.८६ प्रतिशत बिन्दुले बढेको छ । रावा बैङ्कको खराब कर्जा अघिल्लो वर्ष २.०९ प्रतिशत रहेको थियो । बैङ्कको खराब कर्जा रकम सात अर्ब २४ करोड रुपियाँ रहेको छ ।