म्याग्दी, जेठ २३ गते । बेनीबजारमा बिहानै ताजा डोकोमा तरकारी बोकेर दैलो दैलोमा पुर्याउने ७२ वर्षीया खन्तकुमारीको दिनचर्या बनेको छ । सात दशक उमेर पार गरे पनि उहाँको जाँगर र मेहनतलाई उमेर छेक्न सकेको छैन ।
नातिनातिना आफ्नै काममा व्यस्त हुने गरेपछि उहाँले आफ्नै करेसाबारीमा रोपेको मौसमी तरकारी बेनिवासीलाई खुवाउने गरेका छन् । उहाँको मेहनतसँगै मासिक आम्दानी पनि राम्रो नै छ । बेनी नगरपालिका–२ बर्बुटा उहाँको घरबाट दैनिक बजारमा तरकारी पुर्याउने उहाँको छोरा प्रेम अहिले ५२ वर्ष हुनुभयो । २१ वर्ष वैदेशिक रोजगारीपछि नेपाल फर्केको ३ वर्ष भयो । प्रेम विदेशमा हुँदा पनि आमाले तरकारी खेती नै गर्नुहुन्थ्यो भने अहिले पनि उहाँ तरकारी खेतीमै खट्नु हुन्छ ।
सानै उमेर देखिनै खेतीपातीमै अभ्यस्त भएकोले अरू भन्दा यही काममा नै आफूलाई सहज र रमाइलो पनि हुने उहाँको भनाई छ । उहाँले भन्नुभयो ‘छोरो हुर्काउँदा होस या छोरो विदेश गएर कमाउँदा पनि मैले यही तरकारी लगाउने काम गरेँ र अहिले पनि यसैमा मलाइ खुसी छ ।’
छोरा प्रेम भन्नुहुन्छ –‘आमालाई तरकारी खेती नगर्नु दुःख धेरै भयोभन्दा पनि उहाँले मान्नु हुन्न, तरकारी लगाउने तिरै ध्यान दिनु हुन्छ, केही वर्ष पहिला छोराछोरी पढाउनु पर्छ भनेर आमालाई पनि काठमाडौँ लगेका थियौँ तर उहाँ बस्न सक्नु भएन फर्केर यतै आएर तरकारी नै लगाउन थाल्नु भयो ।’
बर्बुटाकी खत्रीको बेनी नगरपालिका क्याम्पस चोक नजिकै पनि घर छ । तर गाउँमै बस्ने र तरकारी खेती गर्ने गर्नुहुन्छ । ‘१० रोपनी खेतमा आमाले तरकारी लगाउँदै आउनु भएको छ, तरकारी खेती गर्ने त आमाको बानी नै भयो, नगर्नु भन्दा मान्नु हुन्न, त्यसैले कर गरेर खेती नगर्न तिर लगाउन पनि सकिएन’ छोरा प्रेमले भन्नुभयो ‘बर्खा वा अन्य समयमा कडा खालको बाँझो भयो भने हामीले जोतिदिने गर्छौँ, बाँकी खन्ने काम सबै आमाले आफै गर्नुहुन्छ ।