• २४ जेठ २०८२, शनिबार

संघीय निजामती सेवा ऐन जारी गर्न ध्यानाकर्षण

blog

काठमाडौं, जेठ २३ गते । नेपाल निजामती कर्मचारी संगठनले संघीय निजामती सेवा ऐन जारी गराउन सरकारको ध्यानाकर्षण गराएको छ । संगठनले काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाटमा केन्द्रीय कार्य समितिको दोस्रो बैठकका निर्णयहरु सार्वजनिक गरेको हो । 

संगठनका अध्यक्ष भवानी न्यौपानेले बैठकमा सांगठनिक र आर्थिक प्रतिवेदन पारित भएको जानकारी दिनुहुँदै केन्द्रीय समितिमा १७ वटा विभागको गठन गरिएको बताउनुभयो । उहाँले तीनै तहमा कार्यरत कर्मचारीहरुलाई मार्गनिर्देशन गर्ने मूल कानुनको रुपमा रहेको संघीय निजामती सेवा ऐन जारी गर्न  विशेष पहल गरिने पनि बताउनुभयो ।

कर्मचारी संगठनका महासचिव रामचन्द्र अधिकारीले बैठकका सात बुँदे निर्णय सार्वजनिक गर्नुभयो । अधिकारीले प्रस्तावित संघीय निजामती सेवा विधेयक, संगठन सुदृढीकरण, जनसरोकार तथा सार्वजनिक प्रवाह, कर्मचारी व्यवस्थापन तथा गुनासो व्यवस्थापन, राष्ट्रसेवकका सेवा सुविधा, ट्रेड युनियन अधिकार, समसामयिक सवालका लगायतका विषयमा प्रकाश पार्नुभयो । बैठकबाट पारित निर्णय तथा विविध प्रस्तावले निजामती क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग पुग्ने उहाँको भनाइ छ ।