विजयकुमार साह
ढल्केवर, साउन २४ गते । धनुषाको कमला नदीमा आएको बाढीले तटबन्ध कटान गर्न थालेपछि त्यसलाई रोकथाम गर्न सुरक्षा निकाय सक्रिय भएका छन् । सोमबारदेखि लगातार भइरहेको वर्षाका कारण गणेशमान चारनाथ नगरपालिका–७, स्थित कमला नदीको तटबन्ध बाढीले कटान गर्न थालेको छ ।
अहिले कटान क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले ढुङ्गा, बाँस, रुखका जरा र बोरामा बालुवा तथा माटो राखेर नियन्त्रणको प्रयास गरिरहेको छ । कटान क्षेत्रको अनुगमन गर्न आउनुभएका धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले मङ्गलबार ३ बजेदेखि तटबन्ध कटान हुन थालेको बताउनुभयो । कटानबारे थाहा पाएलगतै रोकथामको प्रयासमा जुटेको उहाँले जानकारी दिनुभयो ।
पहाडी जिल्लामा भारी वर्षाका कारण खोलामा पानीको वेग बढेर दक्षिणतर्फको तटबन्ध कटान भएको बताउँदै उहाँले बिहीबारसम्म पूर्णरुपमा नियन्त्रणमा आउने बताउनुभयो । यद्यपि बाँध कटान हुन थालेपछि बाढी तथा डुबान हुनसक्ने सम्भावित क्षेत्रमा सतर्क गराइएको उहाँले जानकारी दिनुभयो ।