• १ जेठ २०८२, बुधबार

रास्वपाको आरएटी टिमलाई काम नगर्न सिडियोको निर्देशन

blog

शालिग्राम नेपाल  

चितवन, साउन २४ गते । चितवनको मुग्लिन नारायणगढ सडक खण्डमा राष्ट्रिय स्वतन्त्र पार्टीले पहिरो पन्छाउन भन्दै खटाएको टिमलाई काम नगर्न जिल्ला प्रशासन कार्यालय चितवनले निर्देशन दिएको छ । 

मुग्लिन सडक खण्डमा हुने सडक अवरोधलाई हटाउँदै यात्रा सहज गर्न भनेर रास्वपाले आरएटी टिम खटाएको थियो । पार्टीले सडक खण्डको कालिखोला क्षेत्रमा सुन्तला रङ्गको ज्याकेट लगाएर वाकीटकी बोकेर हिँड्ने युवा दस्तालाई प्रशासनको अनुमति बिना काम नगर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । 

प्रशासनले बुधबार एक सूचना जारी गर्दै आपतविपद् सरकारी संयन्त्र अहिले काम गर्न सक्षम भएकोले अमुक पार्टीको नामबाट काम नगर्न सूचना जारी गरिएको हो । प्रजिअ पौडेलले सुरक्षाकर्मीले बोक्ने वाकीटकी बिना अनुमति अरूले प्रयोग नगर्न समेत निर्देशन दिनुभएको छ । कस्तो अवस्थामा कोको व्यक्तिले सो कार्य गरेको भन्दै प्रहरीलाई अनुसन्धान गर्न समेत प्रजिअ पौडेलले निर्देशन दिनुभएको छ । प्रजिअले जारी गर्नु भएको सूचनामा मुग्लिङ–नारायणगढ सडक खण्डमा जाम परेका सवारी साधनलाई ट्राफिक व्यवस्थापन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका टिम कालिखोला लगायत स्थानमा वाकीटकी सञ्चार सहितका युवाको फोटो सहितको पोष्टमा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ जनाएको छ । 

मंगलबार अवरुद्ध भएको सडकमा सुरक्षा निकाय र सडक सहितका राज्यका अङ्गबाट भएको श्रोत साधन र जनशक्ति प्रयोग गरी पहिरो पन्छाई सडक सुचारु गराउन सक्षम छ । ट्राफिक व्यवस्थापन समेत गरी राखेको अवस्थामा कुनै अमुक दल तथा सो अन्तर्गतका सङ्गठनको सहयोग नलिइएको, लिन स्वीकृति नदिइएको जनाइएको छ । ती टिमले संचारको साधन वाकिटकी समेत देखिएकोमा उक्त सञ्चार साधन स्वीकृति र दर्तावाल हो होइन छानबिन गर्न प्रहरीलाई निर्देशन गरिसकेको पौडेलले बताउनुभयो । 

विपद्का यस्ता घटनाको राहत उद्धार र व्यवस्थापन गर्न सुरक्षा निकाय लगायत राज्यका अङ्गहरू सक्षम रहेको उहाँले बताउनुभयो । यस्तै, उहाँले ठुला विपद्का घटनाहरूमा राजनीतिक दल, नागरिक समाज लगायत आम सर्वसाधारणबाट कुनै दल विशेष वा सङ्गठनको परिचय बिना विशुद्ध स्वयंसेवी भएर काम गर्नका लागि सकिने बताउनुभयो । त्यसरी काम गर्नका लागि जिल्ला, स्थानीय विपद् व्यवस्थापन समितिको स्वीकृति र खटिएका सुरक्षाकर्मीको समन्वयमा काम गर्न सकिने छ । 

प्रमुख जिल्ला अधिकारीको निर्देशनपछि आरएटी टिमलाई रोकिएको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले जानकारी दिनुभयो । 

रास्वपाका प्रदेशका संयोजक विजय गुप्ताको नेतृत्वमा ५० जना खटिएका थिए ।