• ३० वैशाख २०८२, मङ्गलबार

ग्रामीण सडकदेखि राष्ट्रिय राजमार्ग अवरुद्ध

blog

बागमती प्रदेश ब्युरो 

हेटौँडा, साउन २४ गते । बागमती प्रदेशका विभिन्न जिल्लामा केही दिनयता भएको वर्षासँगै आएको बाढीपहिरोबाट ग्रामीण सडकसँगै राष्ट्रिय राजमार्ग अवरुद्ध बनेका छन् । बाढीपहिरोका कारण मकवानपुर, सिन्धुली, चितवन, धादिङलगायतका जिल्ला प्रभावित बनेका छन् । सडक र खेतीयोग्य जमिन बाढीले कटान गरेको छ । 

एक जनाको मृत्यु, छ जना बेपत्ता 

पूर्वी मकवानपुरको बागमती गाउँपालिका–५ मा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ ।  छ जना बेपत्ता भएकोमा एक जनाको उद्धार गरिएको छ । बागमती गाउँपालिका–५, भोर्लेनीस्थित सिक्रो दोभानमा मङ्गलबार बिहान भल बाढीसहित आएको पहिरोले स्थानीय अक्कलबहादुर स्याङ्तानको घर बगाउँदा सञ्चमाया स्याङ्तानको मृत्यु भएको हो । 

पहिरोमा परेर गम्भीर भएका अन्दाजी ५५ वर्षीय स्याङ्तानको मङ्गलबार स्थानीय भोर्लेनीस्थित मेडिकलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार पहिरोमा परेर ६० वर्षीय अक्कलबहादुर स्याङ्तान, निजका ज्वाइँ २५ वर्षीय जीवन पहरी, २२ वर्षीय छोरी शिला पहरी स्याङ्तान, चार वर्षीय नाति मिलन पहरी, डेढ वर्षीय नातिनी दिव्या पहरी बेपत्ता भएका छन् । पाहुना बास बसेका सिन्धुली जिल्लाको हरिहरपुर गाउँपालिका–१ का करिब १७ वर्षीय बेपत्ता पासाङ घिसिङलाई १२ घण्टापछि उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बेपत्ता भएकाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजी गरिरहेको बताउनुभयो । 

अवरुद्ध राजमार्ग नियमित 

हेटौँडाबाट भीमफेदी हुँदै काठमाडौँ जाने मार्गको भीमफेदी सडकखण्डमा पहिरोका कारण गए सोमबार रातिबाट अवरुद्ध सडक मङ्गलबार बिहानबाट नियमित सुचारु भएको छ । पहिरोका कारण मकवानपुरको भीमफेदी गाउँपालिका–२, ज्यालटारस्थित सडकखण्डमा पहिरो खसी सडक अवरुद्ध बनेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्तासमेत रहनुभएका कार्कीले पहिरो पन्छाएर मङ्गलबार बिहानदेखि सडक नियमित भएको जानकारी दिनुभयो । बकैया गाउँपालिका–११, लामराङस्थित कान्ति लोकपथ सडकखण्डमा पहिरोका कारण दुवैतर्फी बाटो अवरुद्ध बनेकोमा पहिरो पन्छाएर दिउँसोबाट नियमित गरिएको छ । बकैया गाउँपालिका–११ मा दुई ठाउँमा ठुलो पहिरो आएको र पन्छाउन नसकेका कारण सडक अवरुद्ध बनेको थियो । सडकखण्डको सिमात र ठिङ्गन दुवैतर्फबाट पहिरो पन्छाएर सडक नियमित गरिएको हो ।  

कान्ति लोकपथ अन्तर्गत ठिङ्गन हुँदै ललितपुर जाने सडकमा ठुलो ढुङ्गा भएकाले एकतर्फी रूपमा  अवरोध नभएको प्रहरीले जनाएको छ । मकवानपुरको बागमती गाउँपालिका–४, पाँच पाण्डवमा छ घरधुरी डुबानमा परेका छन् । बागमती नदीमा पानीको सतह बढेर बस्तीमा पस्दा छ घरधुरी डुबानमा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । साथै हेटौँडा–धरान–चतरा सडकखण्ड बागमती नदीले कटान गरेको छ ।

तीन ठुला राजमार्ग अवरुद्ध

वर्षाका कारण आएको पहिरोले बीपी राजमार्ग, मध्यपहाडी लोकमार्ग र मदन भण्डारी राजमार्ग मङ्गलबार बिहानदेखि नै अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बीपी राजमार्गको बर्दिबास–नेपालथोक खण्डमा आधा दर्जनभन्दा बढी स्थानमा बाढीपहिरो र खहरेका कारण यातायात अवरुद्ध बनेको छ ।  सुनकोशी गाउँपालिकाको कमेरेफाँटमा लेदो माटो बगेर आई सडकमा थुप्रिँदा यातायात अवरुद्ध भएको हो । लेदो माटो पन्छाई यातायात खुलाउने प्रयास भइरहेको सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिनुभयो । 

बीपी राजमार्ग अन्तर्गत दुम्जा, भिमान र माईस्थानमा ठुलो पहिरो खसेको छ । खहरेमा आएको बाढीले लच्कामा ढुङ्गासहितको गेगर (रोडा) थुपार्दा राजमार्ग अवरुद्ध बनेको हो । सडकमा थुप्रिएको रोडा मेसिन लगाएर हटा यातायात नियमित गर्ने प्रयास भइरहेको सिलवालको भनाइ छ । मध्यपहाडी लोकमार्गको ६१ किलोमिटर लम्बाइको खुर्कोट–घुर्मी खण्ड अन्तर्गत  सोखु खोला र हैबार बेँसीको अक्करे भीरमा पहिरो खसेर यातायात अवरुद्ध भएको उहाँले बताउनुभयो । मध्यपहाडी लोकमार्गमा यातायात अवरुद्ध हुँदा पूर्वी पहाडी जिल्ला खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, भोजपुर, रामेछापबाट काठमाडौँ आवतजावत गर्ने यातायातका साधन बिच बाटोमा नै अलपत्र परेको स्थानीयले बताएका छन् । 

मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२, कुसुमटारदेखि मरिण र हरिहरपुर गाउँपालिकास्थित बागमती नदी किनारसम्म दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको छ । राजमार्गको चुरे क्षेत्रमा धेरैजसो पहिरो खसेको र अधिकांश खहरेबाट बाढी आएको प्रहरी उपरीक्षक सिलवालले सुनाउनुभयो । कमला नदीमा बाढीले खतराको तह पार गरेपछि कमलामाई नगरपालिका र दुधौली नगरपालिका जोखिममा परेको छ । कमलामाई नगरपालिका–१४ रानीबासमा रहेको जलमापन केन्द्रका अनुसार कमला नदीमा अहिले तीन मिटर ३० सेन्टिमिटर बाढी पुगेको छ । जलमापन केन्द्रकी सीता पौडेलले कमला नदीमा बाढीको सतह मङ्गलबार बिहान ३ बजेको मापन अनुसार तीन मिटर ३० सेन्टिमिटर पुगेको बताउनुभयो । 

कमलामाई नगरपालिकाको वडा नं. १३ र १४ सहित दुधौली नगरपालिकाको निपाने, हत्पते, डकाहा, हर्षाही, टाँडी, दुधौलीलगायतका क्षेत्र उच्च जोखिममा परेका छन् । नदीले खेत कटानसमेत गरिरहेको छ । डुबान हुने क्षेत्रमा उच्च सतर्कता अपनाउन सिन्धुली प्रशासनले अनुरोध गरेको छ ।   

पहिरोमा पुरिएका दुई जना अझै बेपत्ता 

साउन १८ गते दोलखाको गौरीशङ्कर गाउँपालिका–८, मार्बुको टोपाटारमा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जना अझै फेला परेका छैनन् । 

बेपत्ता स्थानीय ४९ वर्षीय हरिलाल श्रेष्ठ र ६० वर्षीय कृष्णबहादुर मगरको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले खोजी कार्य जारी राखेको वडाध्यक्ष दावारिन्जी शेर्पाले जानकारी दिनुभयो । 

उहाँका अनुसार डोजर लगाएर पहिरो पन्छाउँदै बेपत्ता भएकाको खोजी कार्य भइरहेको छ । यसअघि पहिरोमा परेका १५ महिने प्रिन्सथामी र देवीमाया मगरको मात्र शव फेला परेको थियो ।  पहिरोले टोपाटारका सात घर बगाएको थियो भने ३४ घर उच्च जोखिममा छन् । वडाध्यक्ष शेर्पाले भन्नुभयो, “१५ घरधुरी नजिकैको थुक्ची डाँडामा बसेका छन् । १८ घरधुरी स्थानीय हुर्पुङ चौतारा प्राथमिक विद्यालयमा बसेका छन् । उनीहरूलाई विपत् व्यवस्थापन समिति, गाउँपालिका र रेडक्रसबाट त्रिपाल, भाँडाकुँडा, खाद्यान्नकाे व्यवस्था भएको छ । सौर्य ऊर्जाले ३४ जनालाई सौर्य बत्ती पनि उपलब्ध गराएको छ ।” 

(मकवानपुरबाट राममणि दाहाल, दोलखाबाट बाबुराम शर्मा, सिन्धुलीबाट बाबुराम देवकोटा र चरीकोटबाट सुजन काफ्ले)