• १४ पुस २०८१, आइतबार

पहिरोले कर्णाली राजमार्गमा यात्रुलाई सास्ती

blog

फाइल तस्विर ।

प्रेमराज सिम्खडा                             

कालीकोट, साउन २२ गते । कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको सुनारखोलामा दैनिक सडक अवरोध हुने गरेको छ । वर्षा भएसँगै पहिरो बगिरहने सुनारखोलामा वैकल्पिक उपाय नभएका कारण यो वर्ष पनि यात्रुले सास्ती भोग्दैछन् । 

कालीकोट मान्मबाट सुर्खेतका लागि यात्रा तय गर्नु भएका प्रेमबहादुर बुढाले बिहान छ बजेदेखि दिनको १२ बजेसम्म सुनारखोलामै रोकिएको बताउनुभयो । उहाँले आजै सुर्खेतमा कागजपत्र पुर्‍याउनु थियो । “तर सम्भव भएन, सात घण्टा यही जाममा छु”, बुढाले भन्नुभयो । 

सुनारखोलाको अवरोध हटाउन सडक डिभिजन कार्यालय जुम्लाले अघिल्लो आर्थिक वर्ष ठुलो परिणामको ग्याविन जाली लगाएको थियो । सडक मुनिको पहिरो रोकिएपनि माथिबाट बग्ने हिलाम्मे माटो र पानीका मूलबाट बग्ने पानी कटाउन नसक्दा सडक अवरोध हुने गर्छ । 

सुनारखोलाको जामले दैनिक सयौँ यात्रुले दुख पाईरहेका छन् । सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र विष्टले सडक अवरोध नहोस् भनेर कार्यालयको तर्फबाट एक्स्काभेटर मेसिन अवरोध स्थलमा राखेको बताउनुभयो । तर सुनार खोला क्षेत्र सधैँ बगिरहने भएकाले मेसिनले पनि पुरै अवधि सडक खुलाउन नसकेको समेत उहाँले जानकारी दिनुभयो । 

कर्णाली राजमार्गको सुनारखोलालाई व्यवस्थित गर्न अझै केही समय लाग्ने प्रमुख विष्टको भनाइ छ । अहिले राजमार्गका विभिन्न ठाउँमा मेसिनरी पर्खाल, ग्याविन जालीको पर्खाल लगाउने कामले पनि सडकलाई थप जीर्ण बनाइरहेको छ । सडकमा थुपारिने माटोका कारणले राम्रो सडक पनि हिलाम्मे हुने र भत्किँदै गएको छ । मालवाहक गाडीको चक्काले हिलाम्मे माटो लतार्ने भएकाले ओटासिल गरिएको सडक पनि उप्किँदै छ । 

निर्माण सामग्री सडकमै थुपार्ने, निमार्णमा प्रयोग हुने गाडी र औजारले पनि थप राजमार्ग अवरोध हुँदै आएको यात्रुको गुनासो छ ।