• २४ जेठ २०८२, शनिबार

नागरिकका मुद्दा ओझेलमा परेको गुनासो

blog

नागरिक समाजका मुद्दाबारे भएको कार्यक्रम ।

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, जेठ २४ गते । रुकुमपश्चिममा नागरिक समाज सशक्त नहुँदा बर्सौंदेखि नागरिकका मुद्दा ओझेलमा परेको गुनासो गरिएको छ । बिहीबार गैरसरकारी संस्था महासङ्घले ‘नागरिक समाजका एजेन्डा र मुद्दाहरू’ बारेमा मुसीकोटमा आयोजना गरेको छलफल कार्यक्रममा सरोकारवालाले जिल्लामा नागरिक समाजको अभाव रहेको गुनासो गर्नुभएको छ । 

गैरसरकारी संस्था महासङ्घ कर्णालीको आयोजना र रुकुमपश्चिमको समन्वयमा भएको उक्त कार्यक्रममा महासङ्घका जिल्ला सचिव गोकर्ण खड्काले सुशासन र पारदर्शिताको खोजी गर्ने नागरिक अगुवा भेटिनै मुस्किल परेको बताउनुभयो । अधिवक्ता गणेश हमालले सत्ताको आज्ञापालक नागरिक समाजबाट नागरिकका खास मुद्दा उठाउन नहुने बताउनुभयो । उहाँले नागरिकले सहज रूपमा आधारभूत सेवासमेत नपाएको, पूर्वाधारसम्बन्धी मुद्दा छरपस्ट रहेको उल्लेख गर्नुभयो । मुसीकोट नगरपालिका–१ स्थित त्रिभुवन जनता माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरेन्द्र केसीले विगतमा नागरिक समाजको तर्फबाट आवाज उठाउँदा जागिर नै गएको जनाउनुभयो । अहिले आफूले सार्वजनिक संस्था सुधारको प्रयास हुँदा चौतर्फी घेराबन्दी भएको, नागरिक समाजका प्रतिनिधि सत्ताको ओतमुनि रहेको उहाँको भनाइ छ । पत्रकार प्रविर ददेलले जिल्लामा सधैँ नागरिक समाजको खोजी हुने गरेको बताउनुभयो । यसै गरी नेपाल अपाङ्ग सङ्घका कार्यवाहक अध्यक्ष दिलसरा बोहराले अपाङ्गता भएका व्यक्तिको अवस्था र पीडाबारे बोलिदिने नागरिक अगुवाको अभाव रहेको उल्लेख गर्नुभयो ।