• २४ जेठ २०८२, शनिबार

नीतिगत सुधार र परिमार्जन प्राथमिकतामा : गभर्नर पौडेल

blog

सरोकारवालासँगको छलफलमा गभर्नर प्राडा विश्वनाथ पौडेल । तस्बिर : राजु लामिछाने

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, जेठ २४ गते । नेपाल राष्ट्र बैङ्कका गभर्नर प्राडा विश्वनाथ पौडेलले आर्थिक सुधारका लागि नीतिगत स्थिरता र परिमार्जन आफ्नो प्राथमिकताको विषय भएको बताउनुभएको छ । मौद्रिक नीति र लगानीको अवस्थाबारे रुकुमपश्चिमका सरोकारवालासँग छलफल गर्दै गभर्नर पौडेलले बजेटले पछाडि परेको वा पारिएको वर्गलाई अगाडि बढाउन प्रेरित गर्ने बताउनुभयो । 

हालै १८ औँ गभर्नरका रूपमा नियुक्त पौडेलले लगानी विविधीकरणमा जोड दिँदै सेयर बजार जस्ता एउटै क्षेत्रमा हौसिएर लगानी गर्नुभन्दा पनि लगानीको विविधीकरण भएमा चुर्लुम्म डुब्ने अवस्था नआउने औँल्याउनुभयो । 

गभर्नर पौडेलले कागज खेलाउने भन्दा पनि किसानले जस्तो माटो खेलाउने प्रणालीको आवश्यकता रहेको बताउनुभयो । अन्तर्क्रियामा उहाँले केही साना र कृषि उद्योगमा खराब लगानी भएको समेत उल्लेख गर्नुभयो । जिल्लाका विभिन्न बैङ्कले कृषि क्षेत्रको लगानीमा समस्या रहेको जानकारी गराएपछि उहाँले लगानी गर्दा गल्ती नदोहोरिने गरेर सही किसानलाई मात्र ऋण प्रवाह गर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “हामी आकाशबाट आएका होइनौँ, नेपालकै किसानका सन्तान हौँ, यही देशको भविष्य देखेर केही गरौँ भन्ने भावनाका साथ जिल्ला आएका छौं ।”

कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले मौद्रिक नीति तथा बजेटका सवालमा भएका नीति परिवर्तनको आवश्यकता रहेकाले जनस्तरको सुझावका लागि जिल्लामा परिचालन भएको बताउनुभयो । बैङ्क तथा वित्तीय संस्थामा स्रोतको परिचालन, कृषि कर्जाको व्यवस्था, कृषि अर्थतन्त्रमा लगानीको अवस्थालगायतका विषयमा सरोकारवालासँग छलफल गर्न थालेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा नार्कका कार्यकारी निर्देशक कृष्ण तिमिल्सेना, नार्कका वैज्ञानिक सुमित अर्याललगायतको सहभागिता थियो । छलफलमा सहभागी जिल्लाका व्यवसायी, कृषि अगुवा, बैङ्करहरूले कृषि उत्पादनमा सही लगानी नभएको, सडकले नछोएको ठुलो र उर्वर कृषि भूमिमा लगानी हुन नसकेको, कृषि बजारमा बिचौलिया हाबी रहेको, राजमार्गका आसपासका जमिनमा उत्पादनका गतिविधि हुन नसकेकोलगायतका विषय जानकारी गराउनुभएको थियो ।