• ३१ वैशाख २०८१, सोमबार

देविका महिला क्रिकेट टोलीको सल्लाहकार प्रशिक्षक

blog

काठमाडौं, साउन २१ गते । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको सल्लाहकार प्रशिक्षकमा भारतीय पूर्व महिला क्रिकेटर देविका पाल्शिकर नियुक्त हुनु भएको छ । 

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटको लागि देवीकालाई सल्लाहकार प्रशिक्षकमा नियुक्त गरेको हो । देविका नेपाली महिला टोली सम्हाल्न शनिबार नै नेपाल आउनुभएको क्यानले जनाएको छ । 

भारतीय चर्चित पूर्व क्रिकेटर देवीकाले भारतबाट एक टेस्ट र १५ एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नुभएको छ । उहाँले गतवर्ष भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को आयोजनामा भएको वुमन्स प्रिमियर लिग (डब्लूपिएल) मा मुम्बई इन्डियन्सको ब्याटिङ प्रशिक्षकको भूमिकासमेत निर्वाह गर्नुभएको थियो ।

उहाँले भारत र बङ्गलादेशको सहायक प्रशिक्षकका रूपमा समेत काम गरिसक्नुभएको छ । नेपाली महिला टोलीले पहिलो पटक विदेशी प्रशिक्षकसँग प्रशिक्षणको मौका पाएको हो । क्यानले छनोट प्रतियोगिताका लागि यसअघि नै २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । नेपाली टोलीलाई स्यामसनजंग थापाले प्रशिक्षण दिँदै आउनुभएको छ । 

छनोट प्रतियोगिता ३१ अगस्टदेखि  सेप्टेम्बर ९ सम्म मलेसियामा हुनेछ । नेपाल प्रतियोगिताको समूह ‘ए’ मा छ । यस समूहमा नेपालसँगै आयोजक मलेसिया, बहराइन, भुटान, कतार र संयुक्त अरब इमिरेट्स (युएई) छन् ।

समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, थाइल्यान्ड र म्यानमार छन् । समूह शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले ग्लोबल क्वालिफायर खेल्न पाउनेछन् ।