कमल खत्री
धम्बोझी, वैशाख २१ गते । बाँकेमा प्रथम नेपालगन्ज जिल्ला स्तरीय पुम्से तेक्वान्दो प्रतियोगिता–२०८३ हुने भएको छ । भृकुटी तेक्वान्दो दोजाङले आयोजना गर्न लागेको प्रतियोगिता वैशाख २६ गते नेपालगन्ज रंगशालामा हुने भएको हो ।
प्रतियोगिताले तेक्वान्दोमा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्य राखेको आयोजक भृकुटी तेक्वान्दो दोजाङ प्रमुख एवम् प्रतियोगिता संयोजक उमा थापा मगरले बताउनुभयो ।
पछिल्लो समय तेक्वान्दो खेलको बारेमा नकारात्मक कुराहरु प्रचार गर्ने गरिएकोले आम मानिसलाई यस खेलको महत्त्व बुझाउँदै प्रतिभावान खेलाडी उत्पादन गर्न प्रतियोगिता आयोजना गर्न लागेको थापाले बताउनुभयो ।
प्रतियोगितामा बाँके जिल्लामा रहेका २० दोजाङका करिब १५० खेलाडीले सहभागिता जनाउने भृकुटी तेक्वान्दो दोजाङका सल्लाहाकार एवम् राष्ट्रिय खेलकुद परिषदका तेक्वान्दो प्रशिक्षक चन्द्र प्रकाश श्रेष्ठले बताउनुभयो ।
प्रतियोगितामा १४ वर्ष मुनिका महिला तथा पुरुष, १४ वर्ष माथिका महिला तथा पुरुष खेलाडीले सिंगल र पियर विधामा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताले खेलको माध्यमबाट अनुशासनमा रहि आफनो देशको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कायम राख्न सहयोग गर्ने तेक्वान्दो प्रशिक्षक श्रेष्ठले बताउनुभयो । प्रतियोगिता आयोजनामा नेपालगन्ज उप–महानगरपालिकाले आर्थिक सहयोग गर्ने प्रशिक्षक श्रेष्ठले बताउनुभयो ।