नारायणगढ समाचारदाता
भरतपुर, साउन २१ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नं. २ का सांसद रवि लामिछानेले गत बिहीबार घोषणा गर्नुभएको मोबाइल क्लिनिकमार्फत ३६५ जना बिरामीलाई उपचार गरिएको छ ।
क्षेत्र नं. २ का टोल टोलमा पुगेर ६५ वर्षमाथिका वृद्धवृद्धाको स्वास्थ्य जाँच एवं उपचार गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी स्वास्थ्य तथा जनसङ्ख्या विभाग बागमती प्रदेशका संयोजक प्राडा मनोहर प्रधानले जानकारी दिनुभयो । “टोल टोलमा गएर बिरामीको उपचार गरिरहेका छौँ, अभियान सुरु भएको तीन दिनमै ३६५ जना बिरामीको उपचार गरिएको छ,” उहाँले भन्नुभयो ।
यसरी आएका बिरामीमध्ये १० प्रतिशत अर्थात् करिब ३७ जना बिरामीलाई थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा सिफारिस गरिएको छ । यसरी सिफारिस गर्दा आफूहरूले सकेसम्म सरकारी अस्पताल नै सिफारिस गरेको उहाँको दाबी छ । सङ्घीय सांसद बनेको सय दिन भएको अवसरमा सांसद लामिछानेले घोषणा गरेका कार्यक्रममध्ये मोबाइल क्लिनिक पनि एक थियो ।
एम्बुलेन्स परिवर्तन
क्लिनिक सञ्चालनका लागि प्रयोग गरिएको एम्बुलेन्स पुरानो-पत्रु अवस्थामा रहेको पाइएपछि शुक्रबारदेखि नै अर्काे सवारीसाधन प्रयोग गरिएको प्रधानले जानकारी दिनुभयो । “पुरानो एम्बुलेन्स प्रयोग गर्न पाइँदैन भन्ने थाहा भएपछि हामीले शुव्रmबारदेखि नै वैकल्पिक साधन प्रयोग गरेका छौँ,” प्राडा प्रधानले भन्नुभयो । मोबाइल क्लिनिक निरन्तर चलिरहेको उहाँले जनाउनुभयो ।
रास्वपा सभापति लामिछानेले उपचार सेवासँगै महिलाका लागि निःशुल्क यातायात सेवा, विदेश हुनेलाई नेपाल फर्काउन रोजगार कार्यक्रमलगायतका कार्यक्रम घोषणा गर्नुभएको थियो । कार्यक्रम घोषणा गरेसँगै विवादास्पद एम्बुलेन्स प्रयोग गरेर उहाँ आलोचित पनि हुनुभएको छ ।