विसं २०४० को दशकमा लेखन आरम्भ गरी विसं २०५० को दशकमा स्थापित कवि एवं निबन्धकार डा. टङ्क उप्रेती साहित्यमा विषयवस्तुको प्रभावकारी प्रस्तुति, शैलीको निजत्व र नवीनताको सन्धानका लागि परिचित हुनुहुन्छ । उहाँका चार वटा काव्यकृति र एउटा निबन्धसङ्ग्रह प्रकाशित छन् । सञ्चार अनुसन्धान र विश्लेषणात्मक लेखनमा पनि उहाँ संलग्न हुनुहुन्छ । यस क्षेत्रमा पनि उहाँका दुई वटा किताब प्रकाशित छन् ।
डा. उप्रेतीको पछिल्लो किताब नेपाल प्रज्ञा– प्रतिष्ठानले प्रकाशित गरेको छ । ‘सन्थाली लोकगीत’ नामक उक्त किताबमा झापाको बाह्रदशी क्षेत्रमा गाइने डेढ दर्जन लोकगीत, गरामनी क्षेत्रमा गाइने आधा दर्जन लोकगीत र अर्जुनधारा क्षेत्रमा गाइने एउटा सन्थाली लोकगीतहरू सङ्कलन गरिएको छ । यी सन्थाली लोकगीतहरू आधुनिकताका मारका कारण क्रमशः प्रचलनबाट हराउने क्रममा छन् । सन्थालको सांस्कृतिक धरोहर र पहिचानका रूपमा रहेका यी गीतहरूको सङ्कलन आफैँमा दुर्लभ र अति महत्वपूर्ण कार्य हो ।
यो पुस्तकमा मूलतः दुई वटा खण्ड रहेका छन् । पहिलो खण्डमा सङ्कलित सन्थाली लोकगीतका विभिन्न आधारमा वर्गीकरण र विश्लेषण गरिएको छ । विषयवस्तु, गायन समय र गायनमा सहभागिताका आधारमा १३ वटा वर्गमा वर्गीकरण गरिएको छ र उदाहरणसहित प्रस्तुत गरिएको छ । पहिलो खण्डको प्रारम्भमा लोकगीतको परिभाषा, सिद्धान्त, सन्थाली लोकगीतका सन्दर्भमा पूर्वकार्य समीक्षा, सन्थालको इतिहास र उत्पत्तिसम्बन्धी विश्लेषणात्मक प्रस्तुति रहेको छ । यसैका आधारमा लोकगीतका शब्द, लय, भाव, संवेग, विचार, संस्कृति, परम्परा, विश्वास पद्धति आदिको विश्लेषण र विवेचना गर्दै नेपाली सन्थालीको सोच, धारणा र जीवन पद्धतिलाई प्रस्ट्याइएको छ ।
संस्कृति, मानव र प्रकृतिको अन्तव्रिर्mयाबाट सिर्जित मूर्त–अमूर्त सम्पदा हो । लोकगीत यसैको एउटा पक्ष हो । सन्थाली लोकगीतको आँखीझ्यालबाट नेपाली सन्थालको संस्कृति र जीवन पद्धतिलाई डा. उप्रेतीले स्पष्ट रूपमा पुस्तकमा देखाउनु भएको छ ।
यो किताब अनुसन्धानमा आधारित छ । लेखकीयमा डा. उप्रेतीले अन्तर्वार्ता, अवलोकन, श्रव्यदृश्याङ्कन, अन्तर्वस्तु विश्लेषण जस्ता बहुविधिको प्रयोग गरिएको बताउनु भएको छ । यसबाट अनुसन्धानको आन्तरिक वैधता र शुद्धता कायम गर्न सघाएको छ ।
किताबको पहिलो खण्डमा सन्थालको परम्परागत बाजा, नाच्ने बेलाको भेषभूषा, सन्थाल नाच र धार्मिक विश्वास, सन्थाल नाच र संरक्षणका चुनौती आदिको विवेचना पनि गरिएको छ । पहिलो खण्डको अन्त्यमा अनुसन्धानको निष्कर्ष खिचिएको छ ।
किताबको दोस्रो खण्डमा सन्थाली लोकगीतहरू शीर्षकमा छरिएर अभ्यासमा रहेका लोकगीतहरूको सङ्कलन गरिएका छन् । यस खण्डमा झापा जिल्लाका तीन वटा स्थान (क्षेत्र) बाह्रदशी, गरामनी र अर्जुनधाराबाट सङ्कलन गरिएका लोकगीतलाई अलग अलग उपखण्डमा संयोजित गरिएका छन् । छरिएर रहेका सन्थाली लोकगीतलाई यसरी सङ्कलन गरिनु नै आफैँमा सङ्कटमा रहेको सम्पदाको संरक्षणमा महत्वपूर्ण कार्य हो । यी खण्डहरूमा लोकगीतलाई प्रथमतः सन्थाली भाषामा देवनागरी लिपिमा राखिएका छन् । त्यसपछि ती गीतहरूलाई नेपाली भाषामा अनुवाद गरिएका छन् । देवनागरी लिपिमा राखिएका यी गीतलाई सन्थाली भाषाको ओलचिकी लिपिमा प्रस्तुत गरिएका छन् । ओलचिकी लिपिमा नेपालबाट यस प्रकारको किताब प्रथम पटक प्रकाशन गरेर नेपाल प्रज्ञा प्रतिष्ठानले महत्वपूर्ण कार्य गरेको छ । अनुवादमा शिव मुर्मु, मेनुका मर्डी र मोहन हेमरमले सहयोग गर्नुभएको छ भने ओलचिकी लिपिमा लिप्यान्तरमा शिव मुर्मुले योगदान गर्नुभएको छ ।
झापा, मोरङ र सुनसरी जिल्लामा मात्र बसोबास भएको २०७८ को जनगणना प्रतिवेदनले आदिवासी/जनजाति सन्थालको जनसङ्ख्या ६० भन्दा कम रहेको देखाएको छ । सन्थालीहरूको लोकसंस्कृतिका विविध आयाममाथि थप अध्ययन, अनुसन्धान, अभिलेखन, विश्लेषण र अर्थहरूको खोजी गरिनु वर्तमानको आवश्यकता हो भन्नेमा दुई मत नहोला । पृष्ठ ११८+१४ रहेको यस कृतिको मूल्य भने दुई सय रुपियाँ रहेको छ ।