• ८ मंसिर २०८१, शनिबार

मुक्तिको यात्रा (कविता)

blog

दुवै आँखामा गजबार लगाएर

चुकुल बन्द गरेर बसेको छु

नक्कली जगत

सक्कली सम्झने भ्रममा

तैरिरहने आकाङ्क्षा

मोहको खम्बामा बाँधिएको

लिप्त मनलाई फुकाएर 

निर्विघ्न यात्रामा छोडिदिएँ

एउटा शून्य अन्तरिक्षको यात्रा

स्वतन्त्र पदचापमा उड्दै गयो

उड्दै गयो, उड्दै गयो

माया, प्रेम, मोह, तृष्णाका सिक्रीहरू चुँडालेर

सबैदेखि विरत मन

उड्दै गयो, उड्दै गयो

देख्नु,  सुन्नु,  सुँघ्नु, छुनु, स्वाद लिनु

सबै यही भूलोकमा छुट्दै जाँदा

पाँचै इन्द्रिय फ्याँकेर 

उड्दै, उड्दै

अन्तरिक्षमा लीन हुँदा

शून्यता हराउँदा

बन्द विलोचनले 

यो जगत्मा ताला लगाउँदा

आँखा खोल्दा देखिने

माया, मोह, धोका, बेइमानी

झुट, असत्य, स्वार्थ

आँखमा पर्खाल लगाउँदा

ओझेलमा परेका जीव र जगत

आँखा बन्द गर्दा 

केही पनि देख्नु नपर्ने शीतलता

दृश्यबाट हुने पीडा

आँखालाई खामबन्दी गरेर

पठाउँदैछु उपहार

मलाई अब आँखाविहीन भएर बाँच्न देऊ ।