भेदलाई निषेध गरिस्
राम्रै भयो
तर तेरो सद्भावमा भेद छ
तैपनि राम्रै छ !
तैँले पुनर्जन्म चाहन्छस् ?
चाहन्छस् भने –
साइत राम्रो गर
कुसाइतको जन्म राम्रो हुँदैन
तेरो अहिलेको जन्म पूर्वजन्मको कुसाइत हो
त्यसैले यस्तो फल भोगिरहेछस् !
तेरो चिन्तामा चित्त निदाएको छ
अतः तँलाई ब्युँझिन गाह्रो छ
आज बितेपछि भोलि
भोलि बितेपछि पर्सि
पर्सि बितेपछि निकोर्सि
यस्तो त निरन्तर भैरहन्छ
किन्तु समयको यो निरन्तरतामा तँ ब्युँझिनस् भने
तेरो चित्त ब्युँझेन भने
तँ कहिल्यै ब्युँझिन्नस्
जन्मौँजन्मतक निदाइरहन्छस्
यसर्थ चिन्ता गर्न छाडिदे !
ऊ त्यो रुखलाई हेर
त्यसको हाँगामा बसेको चरोलाई हेर
अनि तँलाई हेर
तीसँग तँलाई तुलना गर
तँ खिन्न भइस् भने
तिनीहरूभन्दा तँ भिन्न रहेछस् भने
त्यही भिन्नता तेरो दुःखको कारण हो !
तेरो अनिद्राको सैतान हो !
अतः मन शुद्ध राख
तेरो संसार निद्रामा पनि जागृत हुन्छ
सद्भाव विभेदमा रहन्छ
चिन्ता भेदका चितामा जल्नेछन् !